स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको छ । औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भइरहेको र औषधिको ठीक ढंगले उपयोग पनि नभइरहेको गुनासो आएपछि मन्त्रालयले देशभरका औषधि पसलहरुको अनुगमन शुरु गरेको हो । राजधानी लगायत देशभर गरिएको अनुगमनका क्रममा कतिपय पसलहरुमा सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रका लागि पठाइएका औषधिहरु निजी मेडिकल तथा क्लिनिकहरुमा बिक्रीका लागि राखिएको पाइएपछि अनुगमन टोलीले कारवाही नै शुरु गरेको छ । राजधानीमा स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत आफैं अनुगमनमा हिँडेको र त्यसक्रममा मापदण्ड विपरीत सञ्चालित पसलहरु कारवाहीमा परेका छन् भने केही बन्द गराइएका छन् ।

औषधि पसल सञ्चालन गर्न अनुमति नलिएका, विभागमा दर्ता नै नभएका औषधि बेच्न राखिएको, कतिले सौन्दर्य प्रशाधनका वस्तु समेत बेच्न राखेको त कतिपय पसलमा कानूनद्वारा निर्दिष्ट फर्मासिस्ट नभएको जस्ता कमजोरी पाइएपछि ती सबै कारवाहीमा परेका हुन् । त्यसो त औषधि पसलहरुले लागूऔषधहरु गलत ढंगले वितरण गर्ने गरेको, केही औषधि डाक्टरको प्रेक्सिक्ृपसन बिना बिक्री भइरहेको गुनासो आएपछि अनुगमनलाई देशव्यापी बनाइएको मन्त्रालयले जनाएको छ । त्यसो त कतिपय जिल्लाहरुमा यस्ता विवादका कारण समस्या आइरहेकै छन् । म्याद गुज्रिएका तथा औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएका औषधि पनि बिक्री वितरण भइरहेका छन् ।
स्वास्थ्यलाई सर्वोत्तम धन भनिन्छ । मानिस स्वस्थ रहेमात्र दैनिक कार्यमा संलग्न हुनसक्छ । त्यही कार्यले उसका आवश्यकताहरु पूर्ति हुन्छन् । त्यसैले मानव स्वास्थ्यमा प्रतिकूलता ल्याउने औषधि आयात तथा बिक्री वितरण गर्नु अपराध हो । त्यस्तो कार्य नहोस् भन्नका लागि सम्बद्ध निकायले बजार अनुगमनलाई नियमित र निरन्तर सञ्चालन गर्नुपर्छ । क्षणिक स्वार्थका लागि गरिने अनुचित कार्य कसैको जीवन हरण गर्ने माध्यम नबनियोस् त्यसतर्फ व्यवसायी पनि संवेदनशील हुनुपर्छ । नैतिक कर्तव्यप्रति सजग भइयो भने कस्तै अनुगमन पनि व्यवसायको बिरुद्ध हुन पाउँदैन । उपभोक्ता ठगिनबाट पनि जोगिन्छन् र सम्भावित स्वास्थ्य जोखिमबाट पनि सुरक्षित हुन्छन् । त्यसका लागि औषधिको प्रयोगप्रति उपभोक्ता समेत सचेत हुनुपर्छ ।





























