नेपालमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढ्दै गएका छन् । कुनै दिन थियो जहाँ विवाहसँगै सात जुनीसम्म सँगै मर्ने–सँगै बाँच्ने वाचालाई ब्रह्म वाक्य मानेर दाम्पत्य जीवनमा प्रवेश गरिन्थ्यो । तर, आज कुनै सामान्य असमझदारीमा, आवेग वा उत्तेजनामा, रीस वा क्षणिक सुखको लोभमा सबै वाचा, सामाजिक, सांस्कृतिक मान्यता तथा नैतिक बन्धन र सीमा तोडेर सम्बन्धविच्छेद गर्नेहरु बढ्दै गएका छन् । सबैखाले विवादहरुको निरुपण गर्ने सर्वोच्च संस्था सर्वोच्च अदालतले बितेको दश वर्षमा सम्बन्धविच्छेद गर्नेको संख्या त्यसअघिको भन्दा पाँच गुणाले वृद्धि भएको जनाएको छ । आर्थिक वर्ष ०६८–०६९ सम्ममा तीन तहका अदालतमा सम्बन्धविच्छेदका मुद्दा सात हजार सात सय चार वटा रहेकोमा ०७८–०७९ मा पुग्दा ३७ हजार चार सय ३४ पुगेको सर्वोच्चको प्रतिवेदनमा उल्लेख छ ।

विश्व समुदायका लागि पति–पत्नीबीच सम्बन्धविच्छेद हुनु सामान्य प्रक्रिया हो । तर, पूर्वीय सभ्यता र संस्कृतिमा विवाह र पति–पत्नीका बीच सम्बन्धलाई ‘दुई शरीर र एक प्राण’ मानिएको छ । तसर्थ, पति–पत्नीबीच समबन्धविच्छेद हुनु हाम्रो सामाजिक मूल्य–मान्यता र परम्पराबिरुद्ध मानिएको हो । वास्तवमा दम्पत्ती एकअर्काको पूरक हो, दुई शरीरको मिलन हो, आडभरोसा हो । त्यो भरोसा दुई जनाका बीचको प्रेम र विश्वासले बलियो हुन्छ । त्यही प्रेम र विश्वासले पति–पत्नीबीचको सम्बन्ध बलियो हुन्छ । जब सम्बन्ध बलियो हुन्छ तब मात्रै उनीहरुको गृहस्थी जीवन सुखद् हुन्छ र त्यो सुखले सन्तान, परिवार र समाजसँगको सम्बन्ध पनि सुमधुर बनाउँछ ।
पछिल्लो समय नेपालमा सम्बन्धविच्छेदका घटना ग्रामीण जीवनसम्मै पुगेको छ । कहिले दाइजोको निहुँमा, कहिले अन्तरजातीय वा बहुविवाह गरेका कारण हुने गरेको सम्बन्धविच्छेदको क्रम अहिले वैदेशिक रोजगारीले झनै बढाएको तथ्यांकले देखाएको छ । पति वा पत्नी वैदेशिक रोजगारीमा गएपछि अनेक कारणले सम्बन्धमा आशंका उत्पन्न हुने र त्यही निहुँ सम्बन्धविच्छेदमा टुंगिने गरेको छ । आपसी असझदारी, मनोमालिन्य, विवादको समाधानका रुपमा हेर्न थालिएको सम्बन्धविच्छेद पश्चिमा समाजको अनुकरण हो । आवेगमा गरिएको निर्णयले परिवार, सन्तान र सुदूर भविष्य अनिश्चित हुन थालेको छ । सम्बन्धविच्छेद महिला र पुरुष दुबैका लागि प्रत्युत्पादक हुन्छ, परिवार, समाज र अन्ततः राष्ट्रकै लागि घातक पनि । त्यसैले यसको बढ्दो क्रमलाई रोक्न सरकारले ध्यान दिनु पर्दछ । असमझदारी, हिंसा, मद्यपान जस्ता कारकतत्वलाई निस्तेज गर्नेतर्फ गम्भीर हुनुपर्छ । अन्यथा सामाजिक विखण्डनतर्फको हाम्रो यात्रालाई रोक्न सकिने छैन ।





























