यात्राको लागि शुभ साइत

0
97

कुनै पनि कार्य, यात्रा, नयाँ कामको थालनी, गृह निर्माण, गृह प्रवेश लगायत जस्ता महत्वपूर्ण कार्यहरु जुनसुकै कामका लागि पनि शुभ र अशुभ समयबारे विचार गरिएको पाइन्छ । यो विचार प्रायः विश्वका सबैजसो समुदाय र मानव बसोबास भएका क्षेत्रमा हुने गरेको पाइन्छ । तर, हरेक ठाउँको शुभ–अशुभबारे त्यहाँको रहनसहन, जीवनशैली, परम्परा, धर्मको प्रभाव, विश्वास आदिले निर्धारण गरेको हुन्छ ।
हुन त शुभ र अशुभका निर्धारकहरु आध्यात्मिक र वैज्ञानिक कारणहरु नै हुन् । तर, पनि कतिपय सगुन र अपसगुनका बारेमा अन्धविश्वास व्याप्त छ । अनि कति पौराणिक र धार्मिक दृष्टिकोणले निर्धारित कारणहरु पनि वैज्ञानिक छन् । त्यसको वैज्ञानिकताबारे थाह नपाए पनि धार्मिक बलले वर्जित र स्वीकृत मान्यताहरु व्यवहारमा प्रयोग भइरहेका हुन्छन् । जस्तैः घर, चुल्हो, चौको, अँगेनो लिपपोत गर्ने वैज्ञानिक कारणहरु छन् । गोबरमा एसिड हुन्छ अनि गोबरले लिपेको आँगन, घर, चुलो, मझेरीमा गोबरमा हुने एसिडका कारण हाम्रा आँखाले देख्न नसक्ने हानिकारक किटाणुहरु मर्दछन् र हाम्रो घरलाई स्वच्छ बनाउँछन् । स्वच्छलाई धार्मिक शब्दमा पवित्र भनियो । अनि गाईलाई लक्ष्मीको रुप मानिने भएकोले गाईको नै गोबर प्रयोग गरियो र यसबाट गाइको गोबरले लिपेको ठाउँमा लक्ष्मीको बास हुन्छ भन्ने विश्वास गरिँदै आइएको छ ।

धार्मिक र शास्त्रीय कारणहरु वैज्ञानिक भए पनि यसको वैज्ञानिकताभन्दा धार्मिक विश्वासले कर्महरु गरिँदै आइएको छ । त्यसैले यस्ता कार्यहरु धार्मिक मान्यताका आधारमा प्रयोग भइरहेका छन् । लक्ष्मी पूजाको सन्ध्यामा धानबारी खेतका बीचमा ठूलो राँको बाल्ने चलनको पनि आप्mनै वैज्ञानिक कारण छ । शरदको यो समय पृथ्वीमा धान झुल्न थाल्दछ । तर, विभिन्न किटपतङ्गहरुले पूmल खेल्दै गरेको धानबालीलाई सखाप पार्ने हुँदा त्यो राँको बालिदिएमा पतेरा र अन्य कीराहरु त्यसलाई पूmल सम्झेर होमिन्छन् र मर्दछन् । जसले पृथ्वीमा मानवलाई हुनसक्ने अन्न अभाव र त्यसबाट सृजना हुने अनिकाल जस्तो अनिष्ट समय आउनबाट बचाउँछ । तर, दिपावलीको सन्ध्यामा ती कार्यहरु धार्मिक विश्वास काकारण प्रयोग गरिएको पाइन्छ ।

अन्य यस्ता धेरै प्रयोगहरु छन् जसका वैज्ञानिक कारणहरु हुँदाहुँदै पनि धार्मिक आड र विश्वासमा कृत्यहरु गरिएका हुन्छन् । त्यस्तै यात्रा सम्बन्धी शुभ र अशुभ विचार पनि हामी आप्mनै सोच, परिवेश, धार्मिक विश्वास, सम्प्रदाय, जातीय मान्यता आदिका आधारमा गर्दछौं । हुन त यात्रामा पनि शुभ र अशुभ सम्बन्धी विचार सबै देश, धर्म, जाति, सम्प्रदाय आदिमा फरक मान्यता पाइन्छ । तर, शास्त्र यसको सारगर्भिता र यसको वैज्ञानिकताको धरातलमा टेकेर आज पूर्वीय मात्र होइन, पाश्चात्यजगतले पनि यसबारे खोज र अनुसन्धान र विश्वास गरेको पाइन्छ ।

यात्राका शुभ र अशुभ दिन, अवस्था, साइत जस्ता विषयमा हामीले विश्वास गरे पनि नगरे पनि मनले चाहिँ स्वीकारिएकै हुन्छ । कुनै काममा या यात्रामा निस्कँदा बिरालोले बाटो काट्यो भने पनि अशुभ भयो, साइत बिग्रियो सोचेको काम नबन्ने पो हो कि या कुनै अनिष्ट पो हुने हो कि भन्ने शंका सबैको मनमा उब्जिएको पाइन्छ । शुभ दिनमा यात्रा गरेमा कामहरु पूरा हुन्छन् भन्ने विश्वास रहेको छ । हरेक शुभ कर्मका लागि हामी उचित दिन, तिथि, बार, नक्षत्र, महिना विचार गरेर साइत जुराए झैं यात्रामा पनि शास्त्रद्वारा स्वीकृत र वर्जित मान्यताहरु पालना गर्नु उत्तम हुन्छ ।

यात्रामा निस्कदा के देखेमा शुभ र अशुभ हुन्छ ?

शास्त्रले निर्दिष्ट गरेका शुभ र अशुभ बारे विचार गरौं । यात्रामा निस्कँदा र ब्रम्हाण, घोडा, हात्ती, फल, अन्न, दही, गाई, छाता, कन्या, रत्न, मदिरा, बलेको आगो, माछा, छोरोसहितकी स्त्री आदि देखेमा साइत पर्दछ अथवा यात्रा शुभ हुन्छ । जब हामी यात्रामा निस्कँदा छाला, हाड, सर्प, नून, अंगार, बिरामी, रुँदै गरेको मानिस, घर जलेको, बिरालोको झगडा, बिरालोले बाटो काटेको, गधा कराएको, हाछ्युँआएको, भिजेको कपडा, खाली घडा, उल्टो जुत्ताचप्पल आदि देख्छौं भने यात्रा अशुभ मानिन्छ । यात्रामा अशुभ हुने कतिपय कारणहरुबाट चाहेर पनि बच्न या जोगिन नसकिने हुन सक्छ । जस्तै यात्राको दौरानमा कतै बिरालो, भिजेका कपडा जस्ता नदेखिने भन्ने हुँदैन । तर, शास्त्रमा हरेक समस्याका उपायहरु पनि छन् । शुभ, अशुभ बाहेक यात्रामा अन्य स्वीकृत र वर्जित अवस्थाबारे विचार गरौं ।
उषःप्रशंसते गर्गः शकुनञ्च वृहस्पतीः।
अङ्गिरा मनउत्साहो विप्रवाक्यजनादर्न ।।

यात्रामा गर्ग ऋषिले उषाकालको, बृहस्पतीले शकुनको, अङ्गिरा ऋषिले मनको उत्साह र भगवान (जनार्दन)ले ब्रम्हाणको बचनलाई प्रशंसा गरेका छन् । अर्थात् उल्लेखित देवता र ऋषिहरुले यात्राका यी उल्लेखित कार्य र समयलाई शुभ मान्नुपर्छ भनेका छन् । यी सँगसँगै शास्त्रले यात्रा सम्बन्धी अन्य पक्षहरुलाई पनि निर्दिष्ट गरेको छ ।

पितापुत्रौ न गच्छेतां न गच्छेत्सहजद्धयम् ।
नवस्त्रीभिर्नगन्तव्यं न गच्छेब्राम्हणत्रयम् ।।

बाबुछोरा, दाजुभाइ, नौ जना स्त्री र तीन जना ब्राम्हण एकै साथ यात्रा गर्नुहुँदैन भनिएको छ । यसरी यात्रा सम्बन्धी शुभ, अशुभ शास्त्रीय मान्यताहरु थुप्रै छन् । सकेसम्म यी मान्यताहरुलाई आत्ससात् गर्नसके राम्रो हुन्छ, तर कतिपय अवस्थामा यी सबै मान्यताहरुलाई पालना गर्न नसकिने पनि हुनसक्छ । त्यसैले शास्त्रले हामीलाई यस्ता अप्ठ्याराहरुमा के गर्ने भन्ने सहज उपायहरु पनि दिएको छ । यात्रामा यदि पहिलो पटक अशुभ देखिएमा उभिएर ११ पटक प्राणायाम गर्ने र यात्रा जारी गर्ने । दोस्रो पटक देखिएमा फेरि उभिएर १६ पटक प्राणायाम गर्ने र यात्रा निरन्तर गर्ने । यदि तेस्रो पटक पनि देखिएमा यात्रा नगर्ने, फर्किने भन्ने शास्त्रको निर्देशन छ । तर, एक कोस दूरी पार भइसकेपछि अशुभ विचार गर्नुपर्दैन ।

यात्रामा लग्न, मुहूर्त, तिथी, नक्षत्र नमिलेमा र यात्रा गर्ने पर्ने भएमा अत्यावश्यक यात्राका लागि उषाकाल, गोधूली र अभिजित नक्षत्र विचार गरी यात्रा गर्दा हुन्छ भनिएको छ । तर, उषाकालमा पूर्वको, गोधूलीमा पश्चिमको र अभिजित नक्षत्रमा दक्षिणको यात्रा नगर्नु भनिएको छ । छिट्टै गर्नुपर्ने यात्राका लागि पराधिनतामा, परतन्त्रमा, असाधारण अवस्थामा तिथी, बार, नक्षत्र आदि विचार गर्न सकिँदैन र सम्भव पनि छैन । यस्तो अवस्थामा मनमा उत्साह लिएर भगवानको यो मन्त्र उच्चारण गरेमा यात्रा शुभ हुन्छ ।

मङ्गलम् भगवान विष्णुमङ्गलम् गरुडध्वजः।
मङ्गलम् पुण्डरीकाक्ष मङ्गलायतनंहरिः ।।
तदेव लग्न सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव ।
विद्यावलं दैवबलं तदेव तक्ष्मीपतेस्तेङ्घ्रियुगं स्मरामी ।।

यसका साथै भद्रा तिथीमा, यात्राबाट आइ पुनः यात्रा गरेर प्रवेश गर्नुपर्ने अवस्थामा नवौं तिथी, नवौं नक्षत्रमा कहिल्यै पनि यात्रा गर्नुहुँदैन । राहुकाललाई बायाँ पारी यात्रा गर्दा सर्वकार्य सिद्ध हुन्छ । यसका साथै यात्रा गर्नुपर्ने दिशा, दिन, बार, चन्द्रमाको अवस्था, योगिनी आदि विचार गरेमा यात्रा शुभ हुन्छ । त्यसैगरी सूर्यक्रान्ति अंशको ६÷१५ र २४ मा पनि यात्रा गर्नुहुँदैन । तर, हामीलाई दिन, गते, बार, नक्षत्र, तिथि सबै हेर्न र साइत मिलाउन सम्भव छैन भने यात्रामा निस्कनुअघि मूल ढोकाबाट बाहिर निस्कँदा दाहिने गोडा पहिला बाहिर निकालेर पूर्व फर्केर हात जोडी प्रणाम गर्दै ‘हे विघ्नहर्ता गणपति मेरा सबै अनिष्टहरु दूर गरी दिनुहोस्’ भनी यात्रामा निस्कँदा राम्रो हुन्छ ।

(कुइँकेल शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तित्व, लेखक, सञ्चारकर्मी, साहित्यकार र ज्योतिष हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here