इन्टरनेटको दुरुपयोग रोक

0
29

सूचना प्रविधिको विकाससँगै इन्टरनेटको प्रयोग नेपालमा पनि दिनहुँ बढिरहेको छ । यसले दिने धेरै फाइदासँगै बेफाइदाहरु त्यत्तिकै देखिन थालेको छ । सुविधाको सदुपयोग गर्न नजान्दा र जानेर पनि सदुपयोग नगर्दा यसको नकारात्मक असर झन भयावह बन्दै गएको छ । पछिल्लो समय इन्टरनेटको माध्यमबाट हाम्रो र देशको भविष्य भनिएका बालबालिकाहरु दुव्र्यवहार र शोषणको शिकार हुन थालेका छन् । भर्खरै सार्वजनिक एक अध्ययनले नेपालमा अठाह्र वर्षभन्दा कम उमेरका बालबालिका इन्टरनेटका कारण यौन दुव्र्यवहारमा पर्ने गरेको देखाएको छ । अनलाइन बाल यौन दुव्र्यवहारको अवस्था तथा नीतिगत विश्लेषण सम्बन्धी अध्ययनमा सूचना प्रविधिको दुरुपयोग गर्दै अश्लील फोटो माग्ने, असंवेदनशील सन्देश पठाउने जस्ता क्रियाकलाप भइरहेको उल्लेख छ ।

सूचना प्रविधिको विस्तारसँगै विकास भएको सामाजिक सञ्जाल यस्ता दुव्र्यवहार बढाउने बाहक बनिएको छ । सञ्जालभित्रको फेसबुकले झन धेरै अपराध बढाएको अध्ययनले देखाएको छ । इन्टरनेटको पहुँच हुनासाथ विभिन्न नामका एप्सहरु मार्फत खासगरी बालबालिकाहरु अपरिचित मानिससँग जोडिन पुग्छन् । उनीहरु अबोध हुन्छन्, उनीहरुमै जान्न खोज्ने चाहना बढी हुन्छ, यही कमजोरी र जिज्ञासु स्वभावको दुरुपयोग गर्दै आपराधिक मानसिकता भएकाहरुले उनीहरु माथि शोषण गर्छन् । इन्टरनेटको प्रयोगबाट हुने फाइदाहरुका बीच हुने यस्ता क्रियाकलापले बालबालिकाको सुरक्षामा चुनौती थपिएको छ । कोशी र बाग्मती प्रदेशका बालबालिकालाई लक्षित गर्दै पाँच सय चौध जनामा गरिएको अध्ययनले सञ्जालमा सम्बन्ध स्थापित गर्ने अपरिचित व्यक्तिबाट उनीहरु माथि अश्लील क्रियाकलाप भइरहेको देखाएको छ ।

समय र परिस्थितिले मान्छेलाई सुविधाभोगी बनाएको छ । त्यसकै उदाहरण हो कि प्रायः सबैको हातमा स्मार्ट फोन छ र फोनसँग इन्टरनेट पनि जोडिएको छ । विश्वको सम्पूर्ण ज्ञान र विषयवस्तु बोकेको इन्टरनेटका बारेमा आमाबुवाभन्दा बालबालिका नै बढी जानकार छन् । बालकलाई खाना खुवाउन पनि मोबाइल नै थमाउनुपर्ने चेतनाले बालबालिका इन्टरनेटको दास बन्दैछन् । त्यसले उनीहरुकै सुरक्षामा चुनौती थपिएको छ । यस्तोमा आमाबुवा नै बढी सचेत र जिम्मेवार हुनुपर्छ । बालबालिकाको गतिविधि, व्यवहार र संगतको निगरानी आमाबुवाले नै गर्नु पर्दछ । इन्टरनेटको दुरुपयोगले हुनसक्ने जोखिमप्रति सजग भइएन भने त्यसको दुष्परिणाम अभिभावकले नै भोग्नुपर्छ । कतिपयले यसकै दुरुपयोगका कारण मृत्युवरण गरेका दृष्टान्तहरु पनि छन् । त्यसैले राज्यले यसको दुरुपयोग रोक्न प्रभावकारी ऐन–कानूनको व्यवस्था गर्नुपर्छ । त्यही कानूनको प्रभावकारी कार्यान्वयन गर्दै दोषीलाई कठोर दण्ड सजाय दिलाएर सामाजिक अपराध नियन्त्रण र निस्तेज पार्न जिम्मेवार पक्षले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here