श्रीकृष्ण जन्माष्टमीमा धार्मिक मेला

0
15

भद्रपुर ।

परापूर्वकालदेखि श्रीकृष्ण जन्माष्टमी दिन भद्रपुरमा स्वतःस्फूर्त लाग्दै आएको धार्मिक मेलाको तयारी पूरा भएको छ ।

भद्रपुर–५स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा लाग्दै आएको धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भऐको श्रीकृष्ण रथयात्रा उत्सव समारोह समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । विगतका वर्षहरूको तुलनामा यस वर्ष धुमधामका साथ श्रीकृष्ण जन्माष्टमी मनाउन लागेको समितिका अध्यक्ष किरण भारतीले जानकारी दिए ।

लक्ष्मीनारायण मन्दिरलाई बेहुलीझैँ सिँगारिएको बताउँदै समितिका अध्यक्ष भारतीले भने– मन्दिरभित्र विभिन्न देवीदेवताको भेषभुषामा बालबालिकालाई राखेर प्रदर्शन गरिनेछ । मन्दिर अगाडि विभिन्न जातजातिको झाँकी प्रदर्शन गर्नुका साथै ठाउँ–ठाउँमा सेल्फी जोन समेत राखिने उनले बताए ।

यस वर्ष भीडभाड नियन्त्रणका लागि मन्दिरमा एकद्वार प्रणाली लागू गरिएको छ । त्यही अनुसार व्यवस्थापन मिलाएको उनले बताए । मन्दिर अगाडिको सडक बिजुली बत्तीले झिलिमिली बनाइएको समितिका सचिव सञ्जय घोषले जानकारी दिए । मन्दिरको प्रवेशद्वारमा भक्तजनहरूको माथि गुलाफ जल झर्ने झरना समेत लगाइएको उनले बताए ।

त्यस्तै भक्तजनहरूको सुरक्षा र भीडभाड नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीसँग समन्वय गरी स्वयम्सेवक परिचालन गरिने समितिका सहसचिव राजेश पकुवालले जानकारी दिए । साथै बुधबार बेलुका ५ बजेदेखि भद्रपुर–५ नम्बर वडा कार्यालय अगाडिदेखि भन्सारसम्म जोडने मुख्य बजारको सडकमा सबै प्रकारका सवारीसाधन प्रवेशमा रोक लगाउन प्रहरीलाई आग्रह गरिसकेको उनको भनाइ छ ।

त्यसैगरी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट बिहीबार निकालिने २१औं श्रीकृष्ण रथयात्राको तयारी पनि पूरा भएको अध्यक्ष भारतीले जानकारी दिए । लक्ष्मीनारायण मन्दिर अगाडिबाट बिहान ११ बजे पूजाअर्चना गरी रथ निकालिने उनको भनाइ छ ।

विभिन्न झाँकीसहित निकालिने रथ ज्ञानेचोक, झापाचोक, संगमचोक, सगरमाथा चोक, लेखनाथ चोक, चन्द्रगढी बजार हुँदै एसपी मोड, क्याम्पस मोड, अस्पताल चोक, जनता चोक, भद्रपुर बजारबाट पुनः लक्ष्मीनारायण मन्दिरमा आएर समापन हुने समितिका सदस्य मानष घोषले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here