मुस्लिम समुदायका बालबालिका खोप लगाउँदै

0
18

नेपालगञ्ज,

बाँकेको नेपालगन्जमा मुस्लिम समुदायका बालबालिकाले पनि खोप लगाउन थालेका छन् । समुदायमा आएको स्वास्थ्यसम्बन्धी सचेतता र जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका धर्मगुरुलगायतले उनीहरुका अभिभावकलाई खोप लगाउनुको फाइदाका बारेमा जानकारी दिएपछि बालबालिकाले खोप लगाउन थालेका जिल्ला स्वास्थ्य कार्यालय बाँकले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ३, ४, ५, ६, ७ र १४ मा रहेका अधिकांश मुस्लिम समुदायका बालबालिकाले खोप लगाउन थालेका कार्यालयका खोप फोकलपर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिनुभयो । “करिब १० प्रतिशत मुस्लिम समुदायका बालबालिका खोपको अवसरबाट वञ्चित भएका थिए”, उहाँले भन्नुभयो, “अहिले खोप लगाउन सुरु भएको छ ।”

फेकलपर्सन श्रेष्ठका अनुसार नेपालगन्जमा दादुराको महामारी देखिएपछि पनि बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने मानसिकताको विकास भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले खोप लगाउनुका फाइदाका बारेमा जानकारी गराएपछि मुस्लिम समुदायको सक्रियतामा बालबालिकाले खोल लगाएकोमा खुसी व्यक्त गर्नुभयो । नेपालगञ्जकी तरोन्नम बानोले खोपको महत्व र आवश्यक्ता बुझेपछि बालबालिकालाई खोप लगाउन थालिएको जानकारी दिँदै अहिले अधिकांश बालबालिकाले खोप लगाएको बताउनुभयो ।

बालरोग विशेषज्ञ डा सकिल अहमद विगत भन्दा अहिले फरक भएकाले खोप नलाएका कारण आउने बिरामी घटेको जानकारी दिनुभयो । उहाँले अभिभावकको खोपप्रति धारणा परिवर्तन भएको बताउनुभयो ।

उपमहानगरपालिका–३ का फैजुनब्बी जामा मस्जिदका इमाम मुफ्ती मोहम्मद जाफर रजाले मुस्लिम समुदायको आचारसंहिता (शरियत) का अनुसार खोप लगाउनु अवैध मानिए पनि पछिल्लो समय विभिन्न रोगको सङ्क्रमण बढ्दै गएकाले स्वास्थ्यका दृष्टिकोणले खोप लगाउन थालिएको बताउनुभयो ।

खोप लगाउनुको उद्देश्य भनेको निश्चित रोग लाग्नबाट बचाउने वा लागे पनि त्यसलाई गम्भीर हुन नदिने भएकाले सबैले अनिवार्य खोप लगाउनुपर्ने खोप फोकलपर्सन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बिसिजी, डिपिटी, पिसिभि, दादुरा, रुबेला, जापनीज इन्सेफ्लाइटिस, पोलियोलगायतका खोप बालबालिकालाई लगाउने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here