युनाइटेड गोल्डकप फुटबल प्रतियोगिताको ३७ औँ संस्करण हुँदै

0
13

त्रिवेणी (नवलपरासी),

नवलपरासी जिल्लाकै पुरानो खेलकुद प्रतियोगिता युनाइटेड गोल्ड कप फुटबल प्रतियोगिताको ३७औँ संस्करण हुने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा विगत ३७ वर्षअघिदेखि सञ्चालित उक्त प्रतियोगिता यस वर्ष भदौ २२ गतेदेखि सुरु हुने भएको खेल संयोजक प्रेमध्वज सारुले बताउनुभयो ।

युनाइटेड युवा क्लबले नियमित सञ्चालन गर्दै आएको सो प्रतियोगितालाई जिल्लाकै गौरवको प्रतियोगिताका रुपमा लिने गरिएको छ । यस वर्ष भदौ २२ देखि ३७औँ संस्करण हुप्सेकोट–३ स्थित सरस्वती माविको खेलमैदानमा सञ्चालन गर्न लागिएको क्लवका उहाँले जानकारी दिनुभयो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित ३७औँ संस्करणको तयारीमा जुटेका छौँ, करिब हाम्रो तयारी अन्तिम चरणमा पुगेको खेल संयोजक सारुले बताउनुभयो ।

प्रतियोगितामा विजेता हुने टोलीले रु दुई लाख २५ हजार पाँच सय ५५ र उपविजेताले रु एक लाख ३५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सेमिफाइनलमा पुगेर बाहिरिने दुई टोलीले जनही रु २५ हजार पाँच सय ५५ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र अनुशासित टोलीलाई समेत पुरस्कृत गरिने क्लबका अध्यक्ष हरि थापाले बताउनुभयो ।

प्रतियोगितामा नवलपरासी पूर्व र पश्चिम, रूपन्देही, चितवन, काठमाडौँलगायत जिल्लाका गरी करिब एक दर्जन क्लबको सहभागिता रहने र सहभागी क्लबले एउटा टोलीमा बढीमा तीनजना मात्रै विदेशी खेलाडी समावेश गर्न पाउने अध्यक्ष थापाको भनाइ थियो। यसअघि एउटै टोलीमा धेरै विदेशी खेलाडी समावेश गराउने गरिएकामा यस वर्ष तीनजना मात्रै एउटा क्लबले विदेशी खेलाडी सहभागी गराउन पाउने नियम बनाइएको उहाँले बताउनुभयो ।

राइनो गोल्डकप सञ्चालन गर्ने तयारी

आर्थिक व्यवस्थापनमा समस्या भएसँगै केही वर्षदेखि सञ्चालन हुन नसकेको राइनो गोल्ड कप फुटबल प्रतियोगिता यस वर्ष सञ्चालनका लागि तयारी गरिएको छ । गैँडालगायत वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले जिल्लाको मध्यविन्दु नगरपालिका–२ मा सञ्चालन हुने गरेको सो गोल्डकप विगत तीन वर्षदेखि सञ्चालन हुन सकेको छैन ।

वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिताका रूपमा विगतमा आयोजना हुने गरेको प्रतियोगिता सञ्चालनका लागि सरोकारवालासँग छलफल चलिरहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतबहादुर पुनले बताउनुभयो ।

गण्डकी प्रदेशले समेत वन्यजन्तु संरक्षण फुटबल गोल्ड कप शीर्षकमा रु १० लाख विनियोजन गरेको र स्थानीय सरोकारवालाले विगतमा सञ्चालित उक्त गोल्डकपलाई निरन्तरता दिने विषयमा छलफल भइरहेको उहाँको भनाइ थियो ।

प्रदेश खेलकुद परिषद्का सदस्यसचिव श्रीधर शर्माले नवलपुरमा हुँदै आएको राइनो गोल्डकप प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले समेत रकम विनियोजन गरेकाले परिषद्ले समेत समन्वय गरिरहेको बताउनुभयो ।

“यो हाम्रो क्षेत्रको मात्रै हैन, गैँडा र वन्यजन्तु संरक्षणको सन्देश दिने देशकै प्रतिष्ठित प्रतियोगिता हो, यसलाई पुनः सञ्चालन गर्ने गरी छलफल र समन्वय भइरहेको छ”, क्लवका अध्यक्ष दोमनबहादुर भण्डारीले भन्नुभयो । सो प्रतियोगिताका लागि विगतमा विभागीय क्लबसहित देशका ‘ए’ डिभिजनका क्लबहरू सहभागी हुने गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here