दलभित्र रुपान्तरण आवश्यक छ

0
23

देश भ्रष्टाचारको दलदलमा भासिँदै गएका बेला अस्थिर राजनीतिक अवस्थाले असफलताको गोरेटो खन्न थालेको अनुभूति गरिँदैछ । देश र जनताको अवस्था र स्तरमा रुपान्तरकारी परिवर्तन ल्याउँछौं भन्ने राजनीतिक दलका शीर्ष नेताहरुको आश्वासनको पछि लागेका जनता झण्डै चालीस वर्ष प्रतिक्षापछि पनि जहाँको त्यहीं छन् । देश हाँक्ने भनिने प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निर्वाचनताका परेको प्रतिबद्धता उनीहरुकै अक्षमताकै कारण एउटा पनि पूरा भएन । क्रान्तिको संवाहक र सामाजिक तथा आर्थिक रुपान्तरणको माध्यम ठानेका ती दलहरु बहुमतसहित सरकारमा पुगे तर रुपान्तरणको वाचा र अपेक्षाले आकार लिन सकेन । यसो हुनुका पछि दलका शीर्ष नेताहरुले संगठन व्यवस्थापन र आफ्नै कार्यविधिलाई पालना गर्न नसक्नु मुख्यकारण रह्यो । राजनीतिक दलहरु यथार्थमा सत्ताको लुछाचुँडी गर्नेहरुको झुण्डमा रुपान्तरित हुन थालेको दृष्टान्त खोज्न धेरै पछि जानु पर्दैन ।

यसबेला श्रृंखलाबद्ध रुपमा प्रकट भएका भ्रष्टाचारका काण्डहरुले देशको परिचय नै फेरिएको छ । एकातिर आन्तरिक व्यवस्थापनको समस्या दलहरुका लागि टाउको दुखाई भएको छ भने अर्कातिर भ्रष्टाचारमा मुद्धिएका, पक्राउ परेका र अनुसन्धानमा तानिएका आफ्नै नेताहरुलाई कसरी चोख्याउने भन्ने चिन्ता दलहरुमा छ । दलहरु सैद्धान्तिक रुपमा विचलित छन्, सांगठनिक रुपले क्षयीकरण हुँदैछन् । जनमतबाट टाढिँदै छन् । दलका नेतृत्व तहमा बसेका नेताहरुमा दूरदृष्टि छैन, कार्यान्वयन क्षमता छैन, इमान्दारिता, विषय विज्ञता र अध्ययनशील क्षमता पनि छैन । जसका कारण राजनीतिक दलहरु जनमतबाट टाढिन थालेका छन् । केवल सस्तो भाषणले जनमत आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने भ्रमले ग्रस्त मानसिकतालाई बदलेर नयाँ, ऊर्जाशील, अध्ययनशील, इमान्दार र क्षमतावान नेतृत्व चयन नगरेसम्म देश र जनताको आशा, अपेक्षा र दलहरुका प्रतिबद्धता वा घोषणा पूरा हुन सक्ने छैनन् ।

देशको ठूलो दल नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले काँकरभिट्टामा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीलाई रुपान्तरण गर्न आवश्यक रहेको बताए । उनले विद्यमान परिवेश र परिस्थितिको मूल्यांकन र समीक्षा गर्दै भनेका हुन सक्छन्, किनकि वर्तमानको यथार्थ नै त्यही हो । उनले पार्टीलाई बदल्न केन्द्रीय नेतृत्व नै सुधार गर्नुपर्नेमा जोड दिए । नेतृत्वमा कार्यकर्ताको भनाइ सुन्न सक्ने क्षमता हुनुपर्ने भन्दै पार्टीप्रतिको जनविश्वास कमजोर हुनुमा केन्द्रीय नेतृत्वकै दोष रहेको पनि औंल्याए । एक अर्को सामयिक विषयमा आफ्नो विचार प्रकट गर्दै उनले भ्रष्टाचारीको जात, गोत्र, थर र लिङ्ग नहुने भन्दै भ्रष्टाचारी जोसुकै भए पनि कारवाही गर्नुपर्ने बताए । नेताहरुको भ्रष्ट आचरणमा परिवर्तन नभई देश र जनताको जीवनमा परिवर्तन नहुने र दलहरु पनि भ्रष्टाचारको दलदलबाट ननिस्कने भएकाले सत्ता र त्यसको नजिक भएकाहरुलाई नयाँ, अध्ययनशील र ऊर्जावान युवा नेतृत्वले विस्थापित गर्नुपर्छ । सबै मुख्य दलमा अभियानका रुपमा सञ्चालन गरिने शुद्धीकरण र सशक्तिकरणले मात्र नयाँ नेपालको खाका तयार गर्न सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here