वीपी र समाजवाद

0
14

नेपालका अग्रपंक्तिका नेता, नेपालमा प्रजातान्त्रिक समाजवाद स्थापनार्थ गरिएका आन्दोलनका अग्रज स्वर्गीय विश्वेश्वरप्रसाद कोइराला, जसले आफ्नो सम्पूर्ण जीवन राष्ट्रियता, प्रजातन्त्र र समाजवादका निम्ति अर्पित गरेको थियो । विश्वेश्वरप्रसाद कोइरालाले आफ्नो जीवनपर्यन्त संघर्षमा बिताउनु प¥यो । उनले आफ्ना योजनाहरु, विचारहरु व्यवहारिक रुपले राष्ट्रका लागि प्रयोग गरेर राष्ट्र र जनताको हितमा काम गर्ने मौका नै थोरै समयमात्र प्राप्त गरे जसले गर्दा उनका योजना तथा विचारहरू प्रयोगको कसीमा उत्रन नै सकेन । त्यसैले, विश्वेश्वरप्रसाद कोइराला सफल हुन् वा असफल भन्ने आमनागरिकले तुलना नै गर्न पाएनन् । उनका गहन तर सरल र योजनाहरु हेर्दा आज पनि उनको आर्थिक, सामाजिक, राजनीतिक आदि विचारहरू अत्यन्त व्यवहारिक लाग्छन् र आज उनको अवसानको लामो समय पछाडि यो परिवर्तित परिवेशमा पनि अत्यन्तै सान्दर्भिक लाग्छन् ।

वीपी कोइराला सरकारमा पुग्दा विश्वको साथै नेपालको परिवेश धेरै फरक थियो । नेपाल लामो राजनीतिक अस्थिरताबाट गुज्रिरहेको रहेको थियो । यहीबेला अत्यन्तै महत्वकांक्षी राजा राजनीतिक उच्च महत्वकांक्षा लिएर बसिराखेका थिए र विश्व परिवेश पनि नेपालको अनुकूल थिएन । विश्वका देशहरु दुईवटा ध्रुवमा बाँडिएका थिए र शितयुद्ध चरमोत्कर्षमा पुगेको थियो । नेपालको समाज राजनीतिक, आर्थिक, सांस्कृतिक आदि सबै क्षेत्रमा धेरै पछाडि परेको थियो ।

देशको गरिबीको सूचाङ्क उच्च थियो भने अन्य आर्थिक–सामाजिक सूचाङ्कहरु अत्यन्त तल थिए । देशमा गरिबी ब्याप्त थियो । यसरी देशमा गरिबी व्याप्त हुँदा पनि विश्वेश्वरप्रसाद कोइरालाले देशमा गरिबी हटाउनको निमित्त विश्वभरि आकर्षक नाराका साथ व्याप्त साम्यवादी सिद्धान्त अपनाउने प्रयास गरेनन् । माक्र्सले अगाडि सारेको वर्ग संघर्ष तथा माक्र्सको सिद्धान्तमा आधारित सर्वहाराको अधिनायकत्व त्यसबेलामा विश्वभरी लोकप्रिय भइराखेको थियो ।

विश्व दोस्रो विश्वयुद्धको कारणले आर्थिक, सामाजिक रुपले जर्जर अवस्थामा थियो । यही बेलामा पश्चिमा युरोपियन देशहरुमा साम्यवादी राज्यसत्ता व्यापक रुपमा फैलिरहेको थियो । साम्यवादी सिद्धान्तले ब्याप्त गरिबी हटाएर समाज वर्गविहीन हुन्छ भन्ने मान्यता व्यापक थियो । तर, विश्वेश्वरप्रसाद कोइरालाले ‘मानिस ब्रेडले मात्र होइन, ब्रेनले चल्छ’ भन्ने उद्घोषका साथ आफ्नो समाजवादी सिद्धान्तमा अडिक रहेर प्रजातन्त्र भएन भने समाज, राष्ट्रको विकास सम्भव छैन भनेर लडिरहे ।

साम्यवादी सिद्धान्तमा धनी र गरीबबीचको खाडल रहँदैन भन्ने नाममा लोकप्रिय नाराहरु छन् । तर, साम्यवादी देशहरुमा पनि न समाज वर्गविहीन भयो न शासक र शासित वर्गबीचको विभेद कम भयो, साच्चै भन्ने हो भने त साम्यवादी राष्ट्रहरुमा झन् शासक र नागरिकबीचको खाडल ठूलो भयो । यो अवस्था विश्वेश्वरप्रसाद कोइरालाले स्पष्ट बुझेका थिए । उनका विचारहरुमा कहिले पनि लोकप्रिय सैद्धान्तिक नाराहरु थिएनन्, उनका विचारहरु र योजनाहरु नितान्त नेपाल र नेपाली माटो सुहाउँदो व्यवहारिक थिए, यो नै विश्वेश्वरप्रसाद कोइरालाको महानता हो ।

कुनै पनि राज्यमा रहेका नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व राज्यको हो र त्यसभन्दा पछाडि व्यक्तिगत आर्थिक स्वतन्त्रताका कारणले आफूले कमाउन सक्ने अवस्थामा व्यक्तिले राज्यले निर्दिष्ट गरेका कानूनभित्र रहेर कमाएर आफ्नो जीवनलाई उच्च स्तरको बनाउन सक्छ । तर, आधारभूत कुराहरु जस्तै बाँच्नका लागि खाना, शिक्षा, स्वास्थ्य जस्ता कुराहरु राज्यले नागरिकलाई दिनैपर्छ भन्ने उनको सिद्धान्तमा व्यवहारिकता झल्कन्छ । समाजमा हुन सक्ने आर्थिक असमानतालाई अन्त्य गर्न हत्या, हिंसा गरेर उच्च वर्गको हत्या गर्नुपर्छ भन्ने मान्यताबाट उनी टाढा थिए । त्यसैले विश्वेश्वरप्रसाद कोइराला भन्छन्– ‘हाम्रा सुकुम्बासी, भूतपूर्व सैनिक, तल्ला स्तरका कर्मचारी तथा किसानहरुले दुईछाक राम्ररी खान पाउन् । तिनीहरुले एउटा छाहारी मुनि बस्न पाउन् ।केटाकेटीले पढ्न पाउन् । औषधि उपचारको व्यवस्था होस् । हामीहरुलाई अहिले ठूला–ठूला महल र हवाईजहाज चाहिएको छैन । यति चाइएको छ– सबैले पेटभरि खान पाउन्, लाउन पाउन्, पढ्न पाउन्, औषधि पाउन् । त्यही हो – प्रजातन्त्र ।’ यसरी वीपीको प्रजातन्त्रप्रतिको बुझाइ पनि फराकिलो थियो । प्रजातन्त्रले आमनागरिकलाई महशुस दिन सक्नुपर्छ भन्ने वीपीको विचार थियो, जुन आजको समयमा ज्यादै सान्दर्भिक छ ।

कुनै समय वीपी प्रधानमन्त्री भएको बेला योजना आयोगको एउटा कार्यक्रममा सम्बोधन गर्न जानुपर्ने थियो र योजना आयोगको कार्यालयमा राजाको तस्वीर देखेर उनले भनेका थिए । यहाँ राजाको तस्वीर राख्नु राम्रो भएको छ, तर राजाको तस्वीरको छेउमै अर्को हलो जोतिरहेको किसानको फोटो पनि रहनुपर्छ । त्यस्तै त्यहाँ स्वदेश तथा विदेशका प्रख्यात विश्वविद्यालयहरु अध्ययन गरेर आएका योजनाविद्हरुलाई कोइरालाले सम्बोधन गर्दा भनेका थिए– ‘तपाईहरुले योजना निर्माण गर्दा एउटा झुपडीमा बसेको किसानलाई सम्झनुहोस् र तपाईहरुले यहाँ बसेर बनाएको योजनाले राजालाई होइन कि त्यो गरीब किसानलाई के फाइदा दिन सक्छ भनेर आफैंलाई प्रश्न गर्नुहोस् ।’

यस्ता थुप्रै योजनाहरु विश्वेश्वरप्रसाद कोइरालाको बारेमा थाहा पाउन सकिन्छ । जुन कुराहरु पछि जोडिएका मात्र होइनन्, यथार्थमा उनले भन्ने गरेकै थिए । तर, प्रजातन्त्रको पुनःस्थापनापछि होस् या गणतन्त्रको स्थापनापछि नेतृत्वमा आउने हाम्रा जनप्रतिनिधिहरुले कहिल्यै यस्ता विचारहरु राखेको पाइएन । भित्तामा राष्ट्रपति र प्रधानमन्त्रीका फोटाहरु टांगिएको त देखिन्छ । तर, गरीब किसान मजदुरहरुको फोटाहरु झुण्डिएका पाइँदैनन् । यसो गर्नलाई केले रोकेको छ ? बुझ्नै सकिएन । सर्वहारा अधिनायकत्ववादमा विश्वास गर्ने पार्टीहरु सरकारमा पटक–पटक पुगे पनि यथार्थमा यस्ता विचारहरुका अभाव रहिरहेको भान हुन्छ ।

राष्ट्र विकासको बारेमा पनि वीपीको स्पष्ट धारणा थियो । उनी भन्ने गर्थे– ‘विकास भनेको यसको फल भोग्नेहरूको ओठमा सन्तुष्टिको उन्मुक्त हाँसो आउनु हो ।’ त्यस्तै उनी अर्को एकठाउँमा भन्छन्– ‘आर्थिक विकासको अर्थ कतै एउटा बाटो र कतै एउटा कारखाना खोल्नु होइन, त्यो हो– सम्पूर्ण जातिको विकासप्रति चाख र जाँगर ।’ यसरी तत्कालीन अवस्थामा विभिन्न कार्यक्रमहरुमा उनले व्यक्त गरेका विचारहरु, समयले धेरै छलाङ मारे पनि अहिले पनि उत्तिकै सान्दर्भिक देखिन्छन् । अहिलेका राजनीतिक नेतृत्वहरुले उनले व्यक्त गरेका विचारहरु मात्र पनि कार्यान्वयन गरिदिए राष्ट्रको लागि ठूलो हित हुने थियो ।

यतिमात्र होइन, राज्य सत्तालाई केन्द्र बनाएर राष्ट्रहित गर्न तम्सिएका आजका हाम्रा राजनीतिक नेतृत्वहरुले वीपीबाट राजनीतिक सुझबुझ पनि धेरै सिक्न जरुरी देखिन्छ । चाहे उनले २०३६ सालमा सम्पन्न जनमतसंग्रहको अनपेक्षित परिणामलाई स्वीकार्दा होस या २०३३ सालमा राजासँग राष्ट्रिय मेलमिलापको नीति लिएर आउँदा होस् अथवा राजाले जति दुःख दिए पनि राजतन्त्र प्रति उनको धारणाले पनि राष्ट्रिय अखण्डता अक्षुण्ण राख्न उनले गरेका निर्णयहरु धेरै प्रेरणादायी छन् । यसरी विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीतिक क्षेत्रमा एक अद्वितीय युग पुरूषका रूपमा सधैँ नेपालीहरुले सम्झिरहने नाम हो ।

(निरौला समकालीन राजनीति तथा विपद् व्यवस्थापनमा कलम चलाउँछन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here