आफ्नै सेरोफेरो भित्र रुमलिँदै जाँदा

३० भाद्र २०८०, शनिबार मा प्रकाशित

नेपाली साहित्यको क्षेत्रमा मैले केही यस्ता व्यक्तिहरू पनि भेट्टाएको छु । यस्तो पनि लाग्छ । यी सबै व्यक्तित्वहरू नेपाली साहित्यको क्षेत्रमा जीवनभर लागि परिदिएको भए कस्तो हुन्थ्यो ? रहिदिएको भए कस्तो हुन्थ्यो ? नेपाली साहित्यको जगमा जसले एक/दुई इँटा मात्र थप्ने थिएन । एकापट्टीको पर्खाल नै थामी दिने थियो । भनाइको तात्पर्य जसको नेपाली साहित्यमा आवश्यकता रहोस् ।
हरेक दृष्टिले त्यस्ता व्यक्तिको सहयात्रा महत्वपूर्ण रहोस् । त्यस्तै व्यक्ति केही रचना सिर्जना गर्छन् । एक÷दुई कृति दिन्छन् अनि आफ्नो शुरू भइसकेको जीवनको साहित्यिक यात्रालाई फनक्कै अर्कातिर मोड्छन् । कतिले लेखेका लेख÷रचनाहरू पनि हराए । संग्रहित रहेनन् । सुरक्षा भएन । मेरो रचनाले यतिको चर्चा बटुल्छन् भन्ने पनि भएन । धेरै थिए नि लेखेका त भन्छन् । त्यसरी त्यत्तिकै निस्कृय हुन्छन् । इमान्दारिता लेखकको धर्म पनि हो ।

गोपालकुमार बस्नेतलाई पनि यस्तै लाग्दोरहेछ । उनले एक ठाउँमा भनेका पनि छन् मैले जे–जे लेखेँ । आफू इमान्दार भएर लेखेको छु । पूर्वाग्रहबाट टाढा बसेर लेखेको छु । जब म लेख्न बस्छु इमान्दार भएर लेख्छु । इमान्दारिता मेरो सुरक्षा कवज बनेर मेरो रक्षा गर्छ । विवेक सूर्य बनेर साक्षी बस्छ । हातहरू लिपीबद्ध गर्न उद्यत हुन्छन् । मलाई डर पनि छ कहीँ मेरो इमान्दारी कसैको चान हान्ने टुँडिखेल नबनिदेओस् । उनी अगाडि भन्छन्– लेखिरहेको भए अझ केही हुन्थ्यो होला । लेख्न छोडिहालियो । अब त बुढेसकाल पनि भयो । लेख्ने क्रममा तयार भएको किताब हो यो भनेर स्वयम् लेखकले आफ्नो भनाइमा पनि भनेका छन् । कृति भनेको एक किसिमले लेख्ने क्रममा लेख्दै जाँदा नै तयार हुने कुरा पनि हो । यस्तै कृति लेख्छु भनेर लेख्न बसेर मात्र तयार हुने पनि होइन ।

२००२ साल असोज ९ गते टुङ्गबहादुर बस्नेत र पूर्णकुमारी बस्नेतको कोखबाट जन्मिएका चारपाने– १ बिर्तामोड निवासी गोपालकुमार बस्नेत एक सशक्त लेखन खुबी भएका सर्जक हुन् । हरेक लेखकको आफ्नो छुट्टै पन र पहिचान हुन्छ । त्यो आफैंले बनाउने हो । बस्नेत पनि आफ्नो छुट्टैपन, पहिचान र अस्तित्व लिएर नेपाली साहित्याकासमा उदाएका एक नक्षत्र हुन् । यस्ता कमै लेखक हुन्छन् जसले आफ्नो लेखनलाई निरन्तरता दिन नसके पनि एक्कै झोक्कामा आफ्नो सिर्जना मार्फत पाठकलाई आफ्नो लेखकीय प्रभावमा पार्न सकोस् । त्यो खुबी गोपालकुमार बस्नेतमा रहेको पाइन्छ ।

विषयवस्तु सबै लेखक तथा सर्जकले त्यहीँबाट टिपेको हुन्छ जुन आफ्नै अगाडिको आफ्नै समाज होस् । त्यसलाई प्रस्तुत गर्ने शैली मात्र फरक हो । प्रस्तुत गर्ने भाषाशैली बस्नेतको दमदार छ । यो सामान्य कुरा होइन । लेखकले पनि खारिनुपर्छ । माझिनु पर्छ । यसका लागि निरन्तर लेखन, अध्ययन, अनुसन्धान पनि हुनुपर्छ । प्रस्तुति र भाषाशैलीको पनि कम महत्वपूर्ण भूमिका हुँदैन । थोरै लेखेर पनि धेरैलाई चकित पार्ने क्षमता कमै लेखकमा मात्र हुन्छ । ती त्यस्तै मध्येका बस्नेत पनि एक हुन् ।

अन्य लेखकका अन्य पुस्तकभन्दा बस्नेतको यो संस्मरणात्मक कृति आफ्नै सेरोफेरोभित्र २०६१ को कृतिगत ढाँचा पनि केही फरक छ । सायद त्यही भएर पनि होला यस कृतिका बारेमा लेखक स्वयम्ले भनेका पनि छन्– यस कृतिलाई चाहे कथा भन्नुहोस् या निबन्ध या संस्मरण जे भने पनि हुन्छ । प्रस्तुत आफ्नै सोरोफेरोभित्र २०६१ स्रष्टा गोपालकुमार बस्नेतको एक संस्मरणात्मक कृति हो । यसलाई तीन भागमा आफ्नै सेरोफेरोभित्र १ पेज १–१५०/५८ । आफ्नै सेरोफेरोभित्र २ पेज ५९–११३÷१५ र आफ्नै सेरोफेरोभित्र–३ पेज ११७–१५५÷५८ भनेर बाँडिएको छ । जसमा जम्माजम्मी ३० वटा लेखहरू रहेका छन् ।

पहिलो भागमा क्रमश ः

१. साक्षी हराउँदै गएको झापा – १
२. सधैँ–सधैँको आतङ्क – ६
३. झापाली जीवनमा अन्योलपूर्ण शुरुवात – १०
४. झापाबासीले भोगेका थरि–थरिका आतङ्क – १४
५. आतङ्कको श्रृंखला जारी छ – १८
६. झापामा जो आए फगत लिन आए – २७
७. घुम्दै आए रम्दे आए – ३१
८. किर्ते, काइतेहरूको कथा – ३६
९. रहर बाँकी छ – ४५
१०. कसैको सनकमा शहीद भएकाहरू – ५०
दोस्रो भागमा
११. अपाङ्गरूको माझमा – ५९
१२. बुझ्नेले कुरा नबुझेपछि – ६३
१३. फेरि एउटा बुद्ध जन्माइदेउ – ६७
१४. फेरि अर्को दिनको प्रतिक्षामा– ७१
१५. आफैं हराएको बेला – ७५
१६. शुभकामना नयाँ वर्षको – ७८
१७. हत्या र हिंसा होइन, प्रेम र सद्भाव बाँडौं – ८१
१८. कथा बिर्तामोडको – ८६
१९. अचम्मका जातिहरू – ९३
२०. सिलसिला बियोगको – ९८
२१. विद्रोह – १०२
२२. मेरो शहर – १०५
२३. मनै दुखाउने समाचार कति पढ्ने – १०९
२४. आफ्नै देशको खोजीमा – ११३
तेस्रो भागमा
२५. मनको राजा चौतारीमा फेरि भेटियो – ११७
२६. भरत बाबुलाई सम्झँदा – १२०
२७. राम बाबु प्रसाइँको कथा – १२९
२८. देवकोटा नजिक पुग्न खोज्दा – १४१
२९. तुर्सा हेमरमको कथा – १४५
३०. झापाली मुटुको माझमा – १५५

त्यसैगरी अन्त्यतिर पुस्तक पढिसकेपछि शीर्षकमा गोपालकुमार बस्नेतका लेख पेज १६१–१६७ दान खालिङ । क्रेटरमा उभिएर छोइरहेँ लाभा पेज १६८–१७५ कृष्ण धराबासी । पुस्तक पढिसकेपछि पेज १७६–१७७ केशव आचार्य र आफ्नै सेरोफेरोभित्र रुमलिँदा पेज १७८–१७९ चन्द्र भण्डारी । यी चार जना लेखकका चार वटा लेखहरू राखिएका छन् । यी कृतिका टिप्पणीमूलक÷समालोचनात्मक लेखहरू हुन् । यसमा आफ्नै सेरोफेरोभित्र नामक संस्मरणात्मक निबन्धभित्र रहेका कतिपय लेखहरू यस्ता छन् जुन अहिलेको परिप्रेक्ष्यमा अझ विषय–वस्तुसँग मेल खाने समय सान्दर्भिक र यथार्थ परक रहेका छन् ।

यसकारण पनि लेखकले दूरदृष्टि राख्छ भन्ने कुराको प्रमाणित हुन्छ । यस दृष्टिकोणबाट निबन्धकार गोपालकुमार बस्नेत पनि टाढा रहेका छैनन् । उनलाई यस कृतिले झापाली साहित्यको इतिहासमा मात्र नभएर सिङ्गो नेपाली साहित्यकै इतिहासमा एउटा नबीन दृष्टिको कुशल साहित्यकारका रूपमा चिनाइरहनेछ । यही कुरालाई अझ बढी प्रमाणित गर्न यी चार जना अग्रज लेखक केशव आचार्य, दान खालिङ, कृष्ण धराबासी र चन्द्र भण्डारीको भनाइलाई पनि उदृत गरेर हेर्न हेर्न सकिन्छ ।

मलाई थाहा छ । पढ्ने मान्छे जविनभरि पढोस्, विचार गरोस् र लेखोस् तर त्यो रित्तिदैन । यो यस्तै हो । यो पनि यस्तै रहोस् । म अझ रित्तिएको छैन । म रित्तिएँ भने मेरो उपयोगिता रहँदैन । उपयोगिता नरहे मेरो बाँच्ने खाँचो नै रहँदैन –दान खालिङ ।

गोपालकुमार बस्नेत कहीँ कतै लुक्नु भए जस्तो पनि लाग्छ कहीँ कतै झुक्नु र कहीँ कतै चुक्नु भए जस्तो पनि लाग्छ – केशव आचार्य । पढ्दापढ्दै भावुक बनाउँछन् । यिनले कति ठाउँमा त मन भरिएर आउँछ । आँखा रसाएर आउँछ । गला अबरुद्ध हुन्छ । सामाजिक दुःख र पीडाको यो कथा तर अब केवल किम्वदन्ती जस्तो मात्र भएर रहेको छ । तर, यहाँका केही विशिष्ट अनुहारका अघि आफूलाई नजर शर्मी गराउनुभन्दा हज्जारौं पीडितहरूको सामुहिक कथा लेख्नु उत्तम अनुभव गर्नुभएछ । गर्व लाग्छ यो खण्ड पढ्दा आरिस पनि लाग्छ आहा ! कति मार्मिक सामाजिक पृष्ठ पल्टाउन सक्नुभयो उहाँले । मलाई लाग्छ यो कृति पढ्ने जुनसुकै पाठकले पनि एकपटक लामो सास तानेर आफ्नो वरिपरि हेर्नेछ । एक प्रकारले यो सिङ्गो समाजको आख्यान हो । यसमा वैयक्तिक पीडा र समस्या छैनन् । सिङ्गो झापा जिल्ला नै यस खण्डको नायक हो, जसभित्र देखिन्छन् अनेकौं डर लाग्दा खलनायक अनुहारहरू – कृष्ण धराबासी ।

निस्पक्ष र निडरतापूर्वक लेखिएको एउटा यस्तो इतिहास जसको धेरै पात्र–पात्राहरू सदाका लागि ढलेर अस्ताएर विलिन भइसके । यस्ता पात्र जो आजसम्म जिवित छन् । सक्रिय र सचेत छन् । जो झापामा जन्मियो उसले आफ्नै विजय र पराजयका गाथा खोज्न कुनै पुस्तकालय÷पुराना पत्र–पत्रिका र बाबु–बाजेका मुख ताक्नु पथ्र्यो भने यो कृति हात पारेपछि त्यो दुःख र हैरान उसले व्यहोर्नु नपर्ने भएको छ –चन्द्र भण्डारी ।

यसरी हेर्दा पनि यस कृतिको महत्व, गहनता र ओजन पत्ता लाग्छ । हरेक कृतिका पनि मानिसका जस्तै केही न केही कमी–कमजोरी, गुणदोष हुन्छन् । सचेत मानिसले गुणलाई लिने हो । अवगुण वा कमी–कमजोरीलाई छोडदीने हो । राम्रा कुरा सिक्ने हो । नराम्रा कुरा त्याग्ने हो । भाषा शैलीका दृष्टिले उच्च कोटीको यो कृति विषय वस्तुका दृष्टिले गहन, व्यापक र नवीन छ । विषय–वस्तुका दृष्टिले नविनता नै यस कृतिको मुख्य विशेषता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here