डाक्टरहरुले देशभर बन्द गरे ओपीडी, सरकारद्वारा चिकित्सकसँग वार्ता गर्न समिति गठन

0
9

झापा ।

नेपाल चिकित्सक संघले झापासहित देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् ।

गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डाक्टर प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा ओपीडी सेवा बन्द गरिएको हो ।

उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गरेको छ ।

संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो । त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।

यसैबीच सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिनुभयो ।

समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ । उक्त समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आवहनसमेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here