फेरि नेपालमा वाम सरकार बन्ला ?

0
9

जब नेपालमा वामपन्थीको सरकार बन्न खोज्छ अथवा बन्छ, तर आफ्नै कारणले वा बाह्य कारणले कम्युनिस्ट सत्ताच्युत गरिन्छन् । निकट छिमेकी मुलुक भारतमा कम्युनिस्टको शक्तिको यति क्षय भएको छ कि वाम नेतृत्वका राज्य सरकार ढलेका छन् र हाल लोकसभामा वामपन्थीको कुनै प्रतिनिधित्व छैन । आफूभित्रका समस्या, अनेकता, महत्वाकांक्षा र फुटले भारतीय वाम आन्दोलन रक्षात्मक बनेको हो । धार्मिक अतिवाद, जातीय विध्वंश र तथाकथित राष्ट्रवादी नाराजस्ता प्रियतावादी राजनीतिको जगजगी भएको बेलामा कम्युनिस्टको अस्तित्व खस्किँदै गएको हो ।

नेपालमा २०५४ सालमा नेकपा एमाले र नेकपा मालेको रुपमा विभाजन भएका कारण २०५६ सालको आम निर्वाचनबाट बन्ने निश्चित भएको कम्युनिस्टको सरकार बनेन । २०७४ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रको पनि सहयोगमा वाम सरकार बन्यो, तर फेरि त्यसकै निरन्तरता फरक परिवेश, फरक शैली, फरक पात्र र फरक अवस्थामा एमाले विभाजनको नाटकको पूर्वाभ्यास भयो र अन्ततः एमाले विभाजन भयो । यो निश्चित हो– यस पटकको विभाजन २०५४ सालजत्तिको भयावह भएन, ध्वंशकारी भएन, तर विभाजन भनेको त विभाजन नै हो । परिवारबाट एउटा कनिष्ठ सदस्य विमति राखेर घर छोडेर हिँडेमा परिवारमा निश्चय नै अपूर्णता हुन्छ र मुटुमा किलो गाडिए झैं त्यो घाउले सताउँछ । केही कार्यकर्ता लिएर वामदेव गौतम विभाजनको ढोलक बजाउँदै कराइरहेका छन् भने नेकपा एकीकृत समाजवादी गठन गरेर माधवकुमार नेपालले कम्युनिस्ट शक्ति विभाजनको नेतृत्व गरेर गर्व महशुस गरिरहेका छन् ।

राणा शासनको अन्त्यकालमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणबिलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठले २००६ साल बैशाख १० अर्थात् सन् १९४९, अप्रिल २२ तारिख लेनिन जयन्तीका दिन भारतको कोलकाताको श्यामबजारमा नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पार्टीमा वि. सं. २००८ सालदेखि नै विजातीय, अस्वस्थ र असैद्धान्तिक अन्तरसंघर्ष शुरु भएर २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनपछि टुक्रा–टुक्रामा विभक्त हुन पुगेको दुःखद् इतिहास रचना भयो । आफू पानी माथिको ओभानो हुने नेपालका कम्युनिस्टहरूको दीर्घरोग हो । पार्टीभित्र अन्तरविरोध सदैव रहन्छ र अन्तरविरोधलाई मित्रतापूर्ण रुपमा हल गर्दै कम्युनिस्ट पार्टी अघि बढ्छ । तर, नेपाली कम्युनिस्टहरूमा कथनी र करनीमा आकाश– धर्तीको फरक छ ।

नेपालका कम्युनिस्टहरू कार्ल माक्र्स, फ्रेडरिक एङ्गेल्स, भ्लादिमिर इल्यिच लेनिन, जोजेफ स्टालिन, माओत्सेतुङ, चे ग्वेभारा, फिडेल क्यास्टूो, होचि मिन्ह आदिका अनुयायी भएकोमा गर्व गर्छन् । तर, आफूले अनुकरण गरिएका व्यक्तित्वका राम्रा कुरालाई छायाँमा पारेर नराम्रा कुराहरूलाई नै सर्वश्व ठान्छन् । तर, यथार्थमा नेपालका कम्युनिस्टहरू आफ्ना स्वार्थ, महत्वाकांक्षा, लालसा, कुण्ठा र मपाईवादलाई ढाकछोप गर्न माक्र्सवादको माला जप्छन् भन्ने कुरा घामझै छर्लङ्ग छ । २०२५ सालसम्ममा नेपाल कम्युनिस्ट पार्टी दुई दर्जनभन्दा बढी स–साना भँगालामा बाँडियो । बीसको दशकको उत्तराद्र्ध र तीसको दशकको पूर्वार्धमा कम्युनिस्टहरू दुई ध्रुवमा धु्रवीकृत हुन शुरु गरे । एकातिर झापा विद्रोहको पृष्ठभूमिमा को–अर्डिनेशन केन्द्र (कोके) हुँदै २०३५ साल पुस ११ (डिसेम्बर २६) मा माओ जन्मजयन्तीको अवसरमा नेकपा (माले)को स्थापना भयो । यो धारले माओत्सेतुङ विचारधारा वा माओवादलाई परित्याग गर्दै माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै अन्ततः नेकपा एमाले बन्यो ।

पछिल्लो समयमा नेकपा एमालेभित्रको अन्तरविरोध असैद्धान्तिक, व्यक्तिवादी, अमाक्र्सवादी बन्दै बुझ्नै नसकिने पहेली झैं भयो र पार्टी विभाजनको तहसम्म पुग्यो । एमाले नेपालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी हो र सबै पार्टीहरूमा पनि नेपालकै एक ठूलो पार्टी हो । पटक–पटक फुटको सँघारमा पुगेर वैतरणी दानपछि पनि बौरिँदै गरेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) कानूनी रुपमा फुटेको घोषणा हुन नसके पनि राजनीतिक र व्यावहारिक रुपमा विभाजन भइसकेको छ । संसदको लगभग दुई तिहाइ र मुलुकका मतदाताको लगभग आधा जनमतको साथ, सहयोग र समर्थन प्राप्त थियो नेपालका कम्युनिस्टहरुलाई । तर, अन्य कम्युनिस्ट घटकहरुसँगको सहकार्य र एकताको कुरै छोडौं, स्वयम् नेकपा एमाले विभाजन र विग्रहको बाटोबाट अघि बढ्दा गत वर्षको निर्वाचनमा नराम्रो हार बेहोर्नुप¥यो ।

विगतका त्याग र तपष्या मूल्यहीन बने, दशकौं सुख–दुःखमा बिताएका साथीहरु बिराना जस्ता भए । दोस्रो तहका नेताहरूले समुद्र मन्थन गरेर एकता र मेलमिलापको अमृत निकाल्न कोशिस गरे, तर सहमति र सहकार्यका लागि प्रयत्न असफल भए र पार्टी विभाजन भयो । आफ्नै घर जलाएर आगो ताप्ने र खरानी घसेर आत्मसन्तुष्टी लिनेको सघन बोलबाला बढ्यो । पार्टी विभाजन भए आफ्नो स्थान अग्लो हुने आशामा कतिपयका लागि विभाजनमै गहिरो दिलचस्पी बढेको थियो । एकतालाई जोगाउन गरिएको सतर्कतापूर्वक सङ्घर्ष कमजोर भयो । यतिबेला एमाले एकीकृत नेकपा एमालेको रूपमा फेरि पुनर्गठित हुँदै गएको छ । आफ्नै आँगन खनेर भण्डार भर्ने, अरुको खुट्टा काटेर अग्लिने र रुखको हाँगामा बसेर बसेकै हाँगा काट्ने कालिदासीय मनोदशाबाट एमाले मुक्त हुँदै गएको छ ।

एमालेका नेता–कार्यकर्ता ध्वंशात्मक प्रवृत्तितर्फ आमुख भएका थिए, तर अहिले बौरिएको छ पार्टी । सात दशक बढीको नेपाली जनताको सपना नेपालमा वामपन्थीको सरकार बनाउने हो, तर नेपालमा कम्युनिष्ट पार्टी विभाजन भई जनताको सपनामा तुषारापात हुने गरेको छ । कम्युनिस्ट पार्टी प्राकृतिक र अप्राकृतिक दुबै प्रकारका कारणबाट फुट्ने गरेका छन् । कहिले कुनै विदेशी शक्तिकेन्द्रप्रति लक्षित गर्दै पार्टी विभाजनको दोष अर्काको थाप्लोमा हालिदिने गरिएको छ भने कहिले आफ्नै कमरेडलाई लाञ्छना लगाएर सिध्याउने पटक–पटक दुःखद् इतिहास दोहोरिएको छ । गुट हेरेर बोल्ने र नेता हेरेर सही वा गलत बुझ्ने कार्यकर्ता बन्ने नेपाली कम्युनिस्टहरूको धर्म भएको छ । २०६२÷०६३ सालको जनसंघर्षको जगमा बनेको नेपालको संविधान २०७२ को मूल जिम्मेवारी नेपाली कांग्रेस जत्तिकै नेपालका कम्युनिस्टको पनि हो, तर उनीहरू संविधान कार्यान्वयनको उत्तरदायित्व कस्को हो भन्नेमा उदासीन लाग्छन् यतिबेला ।

जनतामा कम्युनिस्टहरुप्रति ठूलो आडभरोसा थियो र जनताले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिका लागि मतादेश पनि दिएका थिए । दुःखको कुरा जनपक्षीय राजनीति तुच्छ वाकयुद्ध, अस्वस्थ गतिविधि र झाँगिदै गएका अस्वस्थ, असैद्धान्तिक र व्यक्तिवादी सोच र सो अनुरुपका आत्मघाती र विध्वंसात्मक क्रियाकलापको शिकार भएको छ । नेपाली कम्युनिस्टमा फुट र विभाजनको पुरानो रोग दबिएको र मौका पाउना साथ उजागर भएको मात्र हो । नेताहरु शक्तिको केन्द्रीकरण चाहन्छन्, शीर्ष नेतृत्वमा आफू टिकिरहन चाहन्छन्, त्यसैले यो अस्वस्थ होडबाजी चलेको हो । नेपालमा वामपन्थीहरूको सरकार बन्ने सम्भावना मरेको छैन । यथार्थ के हो भने जनतालाई राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरण चाहिएको छ । जनता क्रान्ति, शान्ति र लोकतन्त्र चाहन्छन् । राजनीतिक अस्थिरताको अन्त्य चाहन्छन् नेपाली जनता । व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा हैन, आर्थिक उन्नति जनताको चाहना हो ।

२००७ सालदेखि नै सरकार बनाउने र गिराउने खेलको दुश्चक्रमा परेको नेपाल फेरि संयुक्त र मिलिजुली सरकारको बाटोमा हिँड्न अभिषप्त छ । कम्युनिस्ट पार्टीमा नीतिभन्दा नेता प्राथमिकतामा पर्न थाल्नु र पार्टी गुटबन्दीले थलिनु नेपाली लोकतन्त्रको लागि अति दुःखद् पक्ष हो । पार्टीको नेतृत्व व्यक्तिकेन्द्रित हुनु र राज्यका स्रोतसाधन दलभित्रका गुटका लेनदेनको विषय बन्नु विधि र पद्धतिभन्दा बाहिर जानु हो । खुला छलफल र चिन्तन नगर्ने परिपाटीले कार्यकर्तालाई समेत नेताहरुको गतिविधिबारे प्रश्न गर्न दिँदैन । कार्यकर्ताले भेला, बैठक, सम्मेलन वा महाधिवेशन मार्फत प्रश्न गर्ने हो । तर, जब प्रश्नहरू निषेध हुन्छन्, तब निरंकुशता हावी हुन्छ र दासता मौलाउँछ । अहिलेका अभ्यासहरूले पार्टी कमजोर भएको छ, कार्यकर्ता निरीह पछुवा भएका छन् र नेता बलिया भएका छन् । जनता विधि र पद्धति चाहन्छन् । विचारले खारिएको नेतृत्वले निस्वार्थ रूपमा मुलुकको नेतृत्व गरून् भन्ने जनचाहना छ ।

माक्र्सवादको आत्मा भनेको समाजलाई बुझ्ने र दलनमा परेका वर्गको हितलाई सर्वोपरि राखेर समाजलाई बदल्ने हो । कम्युनिस्ट पार्टी निर्माण समाजको विकासक्रम र विद्यमान उत्पादन प्रणाली अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरक्रियात्मक अभिव्यक्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन आदिको विश्लेषणसहित समाजमा रहेका अन्तरविरोध हल गर्दै क्रान्तिका कार्यभार पूरा गर्न सकिने मार्गचित्रसहित निर्माण गरिन्छ । यही सत्यलाई आत्मसात गरेर अघि बढ्न सपथ खाएका वामपन्थी दल अन्धानुकरण, व्यक्तिवादी महत्वाकांक्षा, भट्काव, उक्साहट र सारसङ्ग्रहको दलदलमा फँसेर दिग्भ्रमित भएर विभाजनमा पुग्नुभन्दा धुलो टकटकाउँदै एका आपसी छलफल, बहस र विवादबाट समस्या हल गर्दै अघि बढ्न चाहन्छन् ।

सत्तास्वार्थ, शक्ति आर्जन र पदलोलुपताको गोलचक्करमा फँसेर विवेकशून्य भई आफ्नो खुट्टोमा आफै बन्चरो हानेर खरानी घसेर हिँड्नुभन्दा जनअभिमतको सम्मान गर्न आवश्यक छ । पार्टीले लिने नीति, योजना र कार्यक्रम तथा कार्यदिशाका आधारमा होइन स्वार्थान्धताले हुने हो फुट । आग्रह, पूर्वाग्रह तथा गुट–उपगुटका स्वार्थले पागल बनेर आत्मघाती कदम चालेर मात्र पार्टी विभाजन भएको हो । यी सबै गतिविधिको कुलयोग भनेको जनताका सपना माथिको तुषारापात हो । जनताको भावनालाई बुझेर, कार्यकर्ताको मनोभावनालाई आत्मसात गर्दै अघि बढ्दा फुटवादी दृष्टिकोण त्याग्न आवश्यक छ । आफ्नै पार्टीभित्रको एकतालाई बलियो बनाउँर्दै कम्युनिस्ट एकता भए वा मोर्चा बनाएर अघि बढ्दा नेपालमा फेरि पनि वामपन्थीको सरकार बन्न सम्भव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here