हस्तकलाको प्रवद्र्धन गर

0
11

 

नेपाल कला, संस्कृति र सभ्यताले समृद्ध देश हो । प्रचीनकालदेखि नै यो विशेषता आर्जन गराउन कलाकार अरनिको ठूलो भूमिका र योगदान रहेको छ । तर, जातीय, भाषिक, सांस्कृतिक एवम् भौगोलिक विविधता भएको देशले यस्तो परिचय पाउँदै गर्दा पनि समग्र अर्थतन्त्रमा भने अपेक्षित लाभ भएको छैन । आज विश्वका धेरै देशहरु अर्थव्यवस्था कै कारण विकसित भइसकेका छन्, तर हामीकहाँ भने त्यही परम्परागत शैली, सीमित स्रोत र साधन, राज्य पक्षको उदासीनताका कारण नेपाली कलाकृतिले समृद्ध हुने मौका पाएको छैन । विकसित राष्ट्रले हातका भरमा हुँदै आएको हस्तकलालाई आधुनिकता र प्रविधिपूर्ण बनाइसकेका छन् । जसका कारण थोरै जनशक्तिका भरमा व्यापक वस्तुको उत्पादन हुन थालेको छ । त्यही व्यापक उत्पादनले विश्व बजार आफ्नो नियन्त्रणमा लिन उनीहरु सफल भएका छन् ।

हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति लुकेको छ । त्यही कला प्राचीनकालदेखि नै विश्व बजारमा पुगेको थियो । जसले पहिचानको प्रवद्र्धन र विस्तार गर्दै निर्यात व्यापारमा उल्लेख्य योगदान दिँदै आएको पनि थियो । थोरै पुँजीले घरकै सदस्यले सञ्चालन गर्न सक्ने भएकाले यसले एकातिर व्यक्तिलाई श्रमसँग जोडेको छ भने अर्कोतिर सक्रिय र आत्मनिर्भर हुन सघाएको छ । काठ, धातु, कपडा र प्रस्तरमा कला पोख्ने नेपाली कालीगढको जादु विभिन्न औजारहरुको माध्यमबाट प्रकट भएका छन् । तर, यसलाई राज्यले उचित संरक्षण, प्रोत्साहन र बजारीकरणमा सहयोग नगर्दा यो क्षेत्र संकटापन्न बन्न पुगेको छ । देशभरका झण्डै एघार लाख युवालाई प्रत्यक्ष रोजगार दिइरहेको यो क्षेत्रले वार्षिक दश अर्बभन्दा बढीको वस्तु निर्यात गरिरहेको छ । छिमेकी देश भारत, चीन लगायत जापान, युरोप, अमेरिका जस्ता देशहरुमा नेपाली हस्तकलाका वस्तुको माग बढ्ने क्रममा छ ।

पछिल्लो समय यथोचित अवसर, सुविधा र सहयोग प्राप्त गर्न नसक्दा यस क्षेत्रका कालीगढहरुको विदेश पलायनको क्रममा पनि बढ्न थालेको छ । यो क्रमलाई जिम्मेवार पक्ष र सरकारले नरोक्ने हो भने नेपालको अर्थतन्त्रमा असर पर्ने निश्चित छ । आम उपभोक्ताले पनि नेपाली कला, सृजना र उत्पादनको प्रयोग गर्ने बानी बसाल्नुपर्छ । सञ्चालनमा रहेका कला, सिपयुक्त उत्पादनलाई अन्तर्राष्ट्रिय उत्पादनसँग प्रतिष्पर्धा गर्न सक्ने बनाउनुपर्छ । निकासी व्यापारमा महत्वपूर्ण हिस्सा ओगटेको हस्तकला उद्योगको विकास, संरक्षण र संवद्र्धन गर्ने छुट्टै निकायको व्यवस्था गरेर संकटमा पर्दै गएको उद्योगलाई पुनस्र्थापित गर्नुपर्छ । यसले वेरोजगारीको समस्या समाधान गर्छ र विशिष्टताको पनि रक्षा हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here