स्वस्तिकलाई बेस्ट भ्यालुड कस्टमर अवार्ड

0
22

झापा ।

‘बजरंग’ ब्राण्डमा टीएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टील कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ ।

कोलकाताको ओबराय ग्रान्ड होटलमा आयोजित कार्यक्रममा टाटा आइरन एण्ड स्टीलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई बेस्ट भ्यालुड कस्टमर अवार्डले सम्मानित गरेका हुन् ।

सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङले १० महिनाअघि व्यवसायिक उत्पादन सुरु गरेको थियो । उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ ।

एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठूला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।

यसरी स्वस्तिक रोलिङ मिल्स व्यावसायिक उत्पादनको एक वर्ष पनि नपुग्दै टाटा आइरन एन्ड स्टीलबाट अवार्ड लिन सफल भएको छ । टाटा स्टील भारतको सबैभन्दा ठुलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ ।

यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टीलबाटै आयात गरिरहेको छ । टाटा स्टीलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ ।

टाटा स्टीलका आफ्नै फलाम खानी र प्रशोधनका कारखानाहरू भारतका विभिन्न स्थानहरूमा १ सयभन्दा बढीको संख्यामा छन् । स्वस्तिक रोलिङले टाटा स्टीलबाट आयात गरेको कच्चा पदार्थ स्पन्ज आइरनबाट बिलेट उत्पादन गर्दछ ।

उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टीलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुशी र गौरवको विषय भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।

उनले उद्योगका ‘बजरंग’ ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे । राठीको भनाइ थियो, ‘हामी गुणस्तरप्रति सधैँ सचेत छौँ । छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here