कोशीमा मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार छ – मन्त्री कार्की

0
14

झापा । कोशी प्रदेशका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री एकराज कार्कीले मिलीजुली सरकार बनाउन नेकपा एमाले तयार रहेको बताएका छन् ।
भद्रपुरमा आयोजित राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको २४ औ वार्षिक साधारण सभालाई बोल्दै मन्त्री कार्कीले ठुलो दलको हैसियतले एमाले नेतृत्वको सरकार कोशीमा बनेको हो । जनताको मताधिकारको रक्षा र स्थायी सरकारका गठनका लागि हामी तयार छौँ, मन्त्री कार्कीले भने, विपक्षी दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँग हातेमालो गरेर मिलीजुली सरकार बनाउनु नै अहिलेको आवश्यकता हो ।

बहुमत कसैको पुग्दैन । त्यसैले मध्यावधि निर्वाचनमा जानुभन्दा पनि जनताको मताधिकार रक्षा गर्नु नै हामी सबैको दायित्व हो,उनले भने । प्रदेश नामाकंनको विषयमा आन्दोलित पहिचानवादीहरूको बारेमा बोल्दै मन्त्री कार्कीले भने, राजनीतिक दलहरूको समर्थनमा संविधान सम्मत दुई तिहाइ बहुमतले कोशी प्रदेशको नामकरण गरिएको सर्वविदितै छ ।

९४ जातजाति भएको यस प्रदेशमा जातीय आधारमा प्रदेशको नामकरण गर्दा थप जटिलता आउन सक्ने बताउँदै उनले भने, पहिचानवादीहरूलाई वार्तामा आएर समस्याको समाधान गर्न आग्रह गर्न चाहन्छु ।देशका अन्य ६ प्रदेशमा भौगोलिक बनावटको आधारमा प्रदेशको नामकरण गरिएको छ । त्यहाँ कुनै विवाद र समस्या आएन । कोशीमा भौगोलिक बनावटको आधारमा नामकरण गर्दा किन विवाद ल्याइयो, यो पनि सबैले बुझ्न जरुरी छ, उनले थपे ।

संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९र८० मा संस्थाको कुल पुँजी तथा दायित्व १० करोड ३४ लाख २३ हजार ६ सय २२ रुपैयाँ र नाफा २० लाख १ हजार ५४४ रुपैयाँ रहेको बताएका छन् । संस्थाले २९ जना शेयर सदस्यलाई उपचार खर्च बापत २ लाख ६ हजार ६४० रुपैयाँ र राहत लिने २० जना सदस्यलाई १ लाख ५४ हजार रुपैयाँ वितरण गरिएको उनले बताए ।

कार्यक्रममा राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था र नेपाल निजामती कर्मचारी संगठन झापाले भर्खरै नियुक्त भएका मन्त्री कार्कीलाई जन सेवामा उल्लेखनीय कार्य गरेको भन्दै सम्मान गरेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशी प्रदेश इन्चार्ज लक्ष्मीप्रसाद गुरागाईँ, बचत तथा ऋण सहकारी संघका बिपी भट्टराई, कर्मचारी संगठन झापा अध्यक्ष केदार पोखरेललगायतले मन्तव्य राखेका थिए । अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष डिल्ली ढकालले राखेका थिए, भने सञ्चालन सचिव नवराज पोखरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here