डेंगुको जोखिम

0
21

डेंगु संक्रमणले महामारीको रुप लिन थालेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका झण्डै चार करोड मानिस डेंगु रोगको जोखिममा छन् । डेंगु रोगकै कारण वार्षिक बाइस हजार बालबालिका र चौबीस हजार ठूला मानिसको मृत्यु हुने गरेको उसको तथ्यांक छ । बितेको एक दशकमा यस रोगको प्रभाव एसियाली मुलुकमा बढेको छ । त्यसैमध्येको एक देश नेपालमा अहिले डेंगुले महामारीकै रुप लिन थालेको छ । देशभर व्यापक भइरहेको डेंगु रोगबाट कोशी प्रदेशमा मात्रै तीस हजार तीन सय तीस जना संक्रमित छन् । यसै आर्थिक वर्षको साउनदेखि असोज पहिलो हप्तासम्ममा सत्र जनाको मृत्यु भइसकेको प्रदेश स्वास्थ्य निर्देशनालयको जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईले जानकारी दिएका छन् ।

डेंगीको संक्रमण अहिले चौहत्तर जिल्लामा फैलिसकेको छ । त्यसमा पनि कोशी प्रदेश सबैभन्दा डेंगु संक्रमणको जोखिममा छ । डेंगुका बिरामी गएको दुई महिनाभित्र व्यापक फेला परेको बताइएको छ । कोशी प्रदेशमा मृत्यु हुनेको संख्या पनि सर्वाधिक रहेको जनस्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसमा पनि सुनसरी जिल्लामा संक्रमितको संख्या अधिक रहेको छ । भदौ र असोज महिनामा डेंगु संक्रमणको जोखिम बढी हुने भएकाले संक्रमितको संख्या अझै बढ्ने अनुमान गरिँदैछ । त्यहीकारण स्वास्थ्य निर्देशनालयले जिल्ला र स्थानीय तहमा रहेका स्वास्थ्य कार्यालयहरुसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान सञ्चालन गर्न निर्देशन नै दिएको थियो ।

एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने डेंगी रोग नियन्त्रणका लागि पानी जम्न नदिने, लार्भा खोज्ने र नष्ट गर्ने, सूर्यास्त हुनुअघि र पछि सुरक्षित रहनुपर्ने विज्ञहरुको सुझाव छ । लामखुट्टेको टोकाइबाट सर्ने सबै प्रकारको रोगको संक्रमणबाट जोगिन स्वयम्को सचेतना र सजगता आवश्यक छ । यसका लागि स्थानीय तथा प्रदेश सरकारहरुले सचेतना शिक्षासँगै लार्भा नष्ट गर्ने अभियानलाई निरन्तरता दिनु पर्दछ । अन्यथा डेंगु संक्रमणले महामारीको रुप लिने निश्चित छ, जसको परिणामबाट जो कोहीले पीडित हुनुपर्नेछ । त्यसैले राज्यको ध्यान डेंगु रोगको नियन्त्रणमै केन्द्रीत हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here