उद्योगको संरक्षण गर

0
16

औद्योगिकीकरणतर्फ जानु पर्ने बेला हाम्रो यात्रा उल्टो गतितर्फ गएको देखिन थालेको छ । प्रजातन्त्र प्राप्तिपछि खुलेका ठूला–ठूला उद्योगहरु मात्र होइनन्, घरेलु उद्योगहरु प्रायः बन्द भइसकेका छन् । त्यसपछि खुलेको निजीस्तरका उद्योगधन्दाहरु पनि बन्द हुने क्रम बढेर गएपछि सरकारको आत्मनिर्भरताको नारा नारामै सीमित हुने निश्चित जस्तै भएको छ । प्रत्येक वर्ष उद्योगको संख्या थपिनुपर्ने हो । विदेशी लगानी बढेर जानुपर्ने हो, रोजगारको अवसर व्यापक हुँदै युवा र सक्षम जनशक्तिको विदेश पलायनको दर घट्दै जानुपर्ने हो । तर, हामीकहाँ सञ्चालनमा रहेका उत्पादनमुखी, कृषि तथा वनजन्य, सेवामूलक र पर्यटन उद्योगहरु क्रमशः बन्द हुँदैछन् ।

झापामा सञ्चालित उद्योगहरु पनि बन्द हुन थालेको समाचार सार्वजनिक भएको छ । कोरोनाकालदेखि प्रभावित ती उद्योगहरु मध्ये निर्माण सामग्री उत्पादन गर्ने झापाका सिमेन्ट उद्योगहरु निरन्तर ओरालो यात्रामा हिँडेको समाचार कसैका लागि पनि सुखद् होइन । विगतमा लोडसेडिङ, बढ्दो आर्थिक मन्दी, बैंकको चर्को ब्याज, खपत कम, बजारमा मूल्यको प्रतिष्पर्धाले प्रभावित उद्योगहरु कोरोनाका कारण झन् बढी प्रभावित भए । कुनै समय भारत लगायतका देशमा निर्भर झापाको बजार स्वदेशी अझ स्थानीय उत्पादनले धानेको थियो । उल्लेखित व्यवधानका बीच जसोतसो सञ्चालित ती सिमेन्ट उद्योग क्रमशः बन्द हुँदै जानुमा सरकारको नीतिगत कारणलाई समेत मुख्य ठानिएको छ ।

व्यापारघाटा बढ्दै गएको छ भने उत्पादनमूलक उद्योग बन्द हुँदै जान थालेका छन् । भएका रोजगारी घट्दै जाँदा प्रतिव्यक्ति आय मात्र होइन सामान्य जीवन नै कष्टकर हुने संकेत देखिएको छ । यो अवस्था देशभरकै हो र सबै जिल्लामा जसोतसो स्थापित र सञ्चालित उद्योग बन्द हुँदै जाने हो भने देशको अर्थतन्त्र पूर्णरुपले थला पर्नेछ । अहिले नै झापाको पहिलो सिमेन्ट उद्योग मित्तल, गोरखकाली, हिमालयाज, मनसा, सनराइज सिमेन्ट उद्योग बन्द भइसकेका छन् । अन्य उद्योग पनि सरकारको संरक्षण नभएकै कारण बन्द हुने अवस्थामा पुगेका छन् । झापाको यो चित्रले देशकै यथार्थको बयान गरेको हुनसक्छ । त्यसैले देशकै प्रतिनिधिका रुपमा रहेको सरकारले कमी–कमजोरीलाई हटाइ उद्योगको दिगो व्यवस्थापनका बारेमा नीतिगत सुधार गर्न जरुरी छ । अन्यथा देशको समृद्धिका सपनाले कहिल्यै आकार लिन सक्ने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here