गोरखा,

मनकामना मन्दिर आसपासका क्षेत्रमा रहेका होटलमा बालमजदुरको प्रयोग भएको पाइएको छ । धार्मिक पर्यटकको अत्यधिक चाप रहने मनकामना क्षेत्रका केही होटलमा गरिएको अनुगमनका क्रममा सो कार्य भेटिइएको हो ।
केही होटलमा बालमजदुरको प्रयोग गरेको पाइएकाले सञ्चालकलाई होटलमा कामदारका रूपमा बालबालिका नराख्न सचेत गराइएको छ ।
त्यस्तै किराना पसल तथा होटलको अनुगमनका क्रममा व्यवसायीले म्याद गुज्रेको खाद्य सामग्री बिक्री वितरण गरेको समेत भेटिएको अनुगमन समितिका संयोजकसमेत रहनुभएकी शहीद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो ।
“चाडबाड नजिकिँदै गर्दा बजार क्षेत्रमा म्याद गुज्रेका तथा अखाद्यवस्तु बिक्री–वितरण हुनसक्ने भएकाले गाउँपालिकाले बजार अनुगमनलाई तीव्र पारेको हो”, उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै पालिकाभित्र रहेका बजारमा रहेका होटल तथा पसलको अनुगमन गरिएको हो ।”
गाउँपालिकाको वडा नं २ र ३ को मनकामना बजारको अनुगमनका क्रममा अधिकांश होटलले मूल्यसूची नराखेको, व्यवसाय वडामा दर्ता नगरी सञ्चालन गरेको भेटिएको उपाध्यक्ष तिवारीले जानकारी दिनुभयो । त्यस्तै होटल तथा किराना पसलमा म्याद गुज्रिएको पेयपदार्थ कोक, फ्रुटी, फेन्टा, बियरलगायत भेटिएको उहाँले बताउनुभयो ।
मूल्यसूची नराखेका व्यवसायीलाई मूल्यसूची राख्न अनुगमनका क्रममा निर्देशन दिइएको छ । उहाँले अटेर गरे कारबाही गरिने बताउनुभयो । उपाध्यक्ष तिवारीको नेतृत्वमा गरिएको अनुगमनका पालिका कर्मचारी, पत्रकार, स्थानीयवासीसमेतको सहभागिता रहेको थियो । गाउँपालिकाले शुक्रबारदेखि पालिकाभित्रका बजार अनुगमनलाई तीव्र पारेको छ ।































