पर्यटक लोभ्याउँदै विराटपोखरी

0
13

रत्नबहादुर बस्नेत,
बिर्तामोड ।

 

लामो समय ओझेलमा परेको धार्मिक,ऐतिहासिक पर्यटकीय स्थल विराटपोखरीको स्वरुप फेरिएपछि यतिखेर धेरैको आकर्षण बन्दै गएको छ ।

विगत केही वर्ष यता पोखरी क्षेत्रमा भएका विकासका काम र पोखरीको प्राकृतिक स्वरुपको संरक्षण तथा थप भौतिक संरचनाको निर्माणकार्य सम्पन्न भएसँगै विराटपोखरीको स्वरुप फेरिएको हो।

महाभारतकालिन इतिहािसँग जोडिएको विराटपोखरीलाई वि.सं.२०४२ सालदेखि नै व्यवस्थित गर्ने कार्य शुरु गरिएको भएता पनि यसमा कसैको ध्यान नजाँदा पोखरीको संरक्षण प्रबर्द्धनका काम यसअघि अघि बढ्न नसकेको स्थानीय बताउँछन्। लामो समय उपेक्षित बनेको यसलाई स्थानियको सक्रियातामा पोखरीको संरक्षण र विकासका लागि विराटपोखरी विकास समिति गठन भए यता केही काम भए पनि सरकारको ध्यान पुग्न सकेको थिएन।

विगत केही वर्ष यता विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सक्रियतामा उल्लेखनीय र उत्साहजनक दिगो विकास योजनाका कामहरु अघि बढेको र यस क्षेत्र महत्वपूर्ण पर्यटकीय गन्तव्यरुपमा विकास हुँदै गएपछि स्थानीय तथा नगरबासी खुशी भएका छन्।

बिर्तामोडको मुक्तिचोकबाट बिर्ताबजार-सैनिकमोड हुँदै तीन किलोमीटर दक्षिण बिर्तामोड -३ मा अवस्थित विराटपोखरीमा दशैंको अवसरमा तीन वटा झुला पिङको उदघाटन गरिएको छ। बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पिङ खेलेर उदघाटन गरेका थिए। बालबालिका र वयस्क दुबैका लागि नि:शुल्क रुपमा खुल्ला गरिएको नव निर्मित पिङको लागत करीब दुई लाख रुपैयाँ रहेको समितिका सचिव जगन्नाथ भट्टराईले जानकारी दिए।

यसैबीच विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सातौं वार्षिक साधरणसभा सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्य तथा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद प्रसाईंको अध्यक्षतामा भएको कार्यक्रममा सह-सचिव अर्जुन उप्रेतीले स्वागत गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष प्रसाईले आयव्ययसहित आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। उनले पोखरी अवलोकनकर्ता पर्यटकको सुरक्षाका लागि १ हजार ६ सय फिट सुरक्षा घेरा लगाउने कार्य र १हजार २ सय फिट पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, पर्यटक आकर्षण गर्न बिर्तामोड नपा वडा नं.३ को सहयोगमा पिङ तथा झुलाको निर्माणकार्य सम्पन्न गरिएको,विभिन्न संघसंस्थाको सहयोगमा सौन्दर्य बढाउन ३०० विभिन्न बोटविरुवा रोपिएको र आगमी दिनमा पोखरीमा डुंगा सञ्चालनको व्यवस्था,मनोरञ्जनात्मक खेल सामाग्री व्यवस्थापन गरिने,शिवरात्रीलगायत धार्मिक पर्वोत्सवका कार्यक्रम प्रभावकारी बनाइने लगायतको योजना रहेको बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि संग्रौला, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी,धार्मिक अभियन्ता ध्रुवप्रसाद शिवाकोटी,शिक्षा सेवी तथा विशाल सहकारी संस्थाका अध्यक्ष देवेन्द्र गौतम, बिर्तामोड -३ का वडा सदस्य हरि बासकोटा, मनप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए। उनीहरुले समितिले गरेको कामको प्रशंसा गर्दै आगमी दिनमा वाह्य तथा आन्तरिक पर्यटक भित्र्याउने ठोस योजनाअनुसार काम गर्नु पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा २०७५ मा गठित समितिका पूर्व पदाधिकारीहरुलाई सम्मान-पत्रले सम्मान गरिएको थियो। विश्वहिन्दू महासंघ झापाको सभाहलमा आयोजित कार्यक्रमको सञ्चालन सचिव जगन्नाथ भट्टराईले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here