सडक नबन्दा स्थानीयलाई सास्ती

0
8

झापाको दमकबाट उत्तरी पहाडी जिल्ला जोड्ने दमक–चिसापानी सडक अलपत्र हुँदा स्थानीय आक्रोशित छन् । फाल्गुनन्द मार्ग प्रस्ताव गरिएको सो सडकको निर्माण आरम्भ भएको तीन दशक नाघिसकेको छ । यसबीचमा कैयौं प्रधानमन्त्री भए, मन्त्रीहरु आए–गए तर सडक निर्माण कार्य सम्पन्न हुन सकेन । पटक–पटक म्याद थप गर्दै आएको निर्माण कम्पनी लुम्बिनी गणपति जेभी काम अलपत्र छाडेर सम्पर्कविहीन भएपछि स्थानीय झनै आक्रोशित भएका छन् । दमक–चिसापानी–रवि सडकलाई तीन खण्डमा बाँडेर कालोपत्र गर्ने कार्य थालेको पनि चार बर्ष भइसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कालोपत्र विच्छ्याउने कार्यको शुभारम्भ वि.स. ०७६ फागुनमा गरेका थिए ।

तीन खण्डमा विभाजन गरिएको सो सडक अन्तर्गत पहिलो खण्ड ६.२९ किमी, दोस्रो १५.२६ किमी र तेस्रो खण्ड ११ः३० किलोमिटरको रहेको छ । वि.स. २०७७ पुस २८ गते निर्माण सम्पन्न गर्ने गरी निर्माण कार्यको ठेक्का लिएको लुम्बिनी–गणपति जेभी उपकरणहरु सडकमै छाडेर वेपत्ता भएपछि इलामको माङ्सेबुङ गाउँपालिकास्थित सडकसँग नजिक रहेकाहरुले बर्षाको समय भेलबाढी निकास नहुँदा थप सास्ती भोग्नु परेको बताएका छन् । ५९ करोड १५ लाख ३५ हजार आठ सय ३४ रुपैयाँ स्तरोन्नतिको ठेक्का लिएको लुम्बिनी गणपतिले ०७९ फागुन २ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । समयमा काम सम्पन्न नहुने भएपछि एक बर्ष म्याद थपिएको थियो ।

दमकबाट इलामको चिसापानीसम्मको सडकखण्डलाई महत्वाकांक्षी योजनाको रुपमा हेरिएको छ । यसबीचमा भएको स्थानीय, प्रदेश तथा संघको निर्वाचनमा उम्मेदवारहरुले सडक निर्माण यथासमय सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जनाए, निर्वाचित पनि भए तर स्थानीयको पीडा यथावत रह्यो । अनेक दुःख व्यहोरेका स्थानीयले सरोकार समिति बनाएर सरोकारवाला निकायलाई दबाब पनि दिए तर काम आधा पनि भएको छैन । स्थानीयवासीसँग लिखित प्रतिबद्धता जनाएको निर्माण कम्पनी अझै बेखबर छ । महत्वपूर्ण आयोजनाहरु यसरी एकपछि अर्को गर्दै लापर्वाही गर्दै अलपत्र छाड्ने र नियमनकारी निकायले वेवास्ता गर्ने प्रवृत्तिले नागरिकको सास्ती बिद्रोहमा परिणत हुनसक्छ । यसतर्फ स्थानीय सरकारदेखि सरोकारवाला निकाय गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here