लगानीको वातावरण बनाऊ

0
74

अन्तर्राष्ट्रिय झापाली समाजको आइतबार सम्पन्न चौथो अधिवेशनका वक्ताहरुले झापामा लगानी भित्र्याउन आफूहरु तयार रहेको बताएका छन् । विश्वका चालीसभन्दा बढी देशमा रहेका झापालीलाई जोड्दै गठन भएको अन्तर्राष्ट्रिय झापाली समाजले झापाको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । समाजले झापालाई सबल र सक्षम बनाउन उद्योगधन्दामा लगानी गर्ने सहज वातावरण निर्माण गर्न सरकारसँग माग पनि गरेको छ । विदेशमा सिकेको सिप, प्रविधि र धनलाई स्वदेशमा ल्याउने वातावरण र आवश्यक नीति तथा कानून निर्माण गर्ने दायित्व राज्यको हो । राज्यका सञ्चालकहरुको अग्रसरता र दृढताबाट मात्र वातावरण तयार हुन सक्छ । तर, हाम्रो सरकारको ध्यान त्यसतर्फ गएकै छैन ।

समाजको अधिवेशनमा सरकारका प्रतिनिधिहरुले देशलाई माया गर्न अनुरोध गर्छन्, विदेशी लगानी भित्र्याउन सल्लाह पनि दिन्छन् । तर, विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्ने, नेपालमै आउने र संगठित गर्नेतर्फ गम्भीर देखिँदैनन् । गैरआवासीय नेपालीलाई एउटै छातामुनि ल्याइ एक ढिक्का बनाउन र उनीहरुको सिप, ज्ञान र धनलाई नेपालको आर्थिक उन्नतिमा लगाउन सरकारले नीतिगत व्यवस्था गर्नैपर्छ । अहिले विदेशमा रहेका नेपालीहरु नेपालमै जस्तो भिन्न–भिन्न विचार, दर्शन, जाति र दलीय आबद्धताबाट विभाजित छन् । जसका कारण एउटा ठूलो र सबल शक्ति, कमजोर बनिएको छ र उनीहरुका प्रतिबद्धता केबल बोलीमा सीमित हुने गरेको छ ।

सरकारकै अक्षमताका कारण नेपाल युवाशक्तिविहीन बन्दैछ । शहर बजार मात्र होइन ग्रामीण क्षेत्र पनि युवाविहीन भएका छन् । जीवीकोपार्जन कै लागि वेरोजगार र अवसरविहीन युवा वर्ग विदेश पलायन भइरहेको छ । त्यसकै परिणाममा भित्रिएको विप्रेषण नेपालको अर्थतन्त्रको मूलधार बनिएको छ । यस्तो अवस्थामा नेपाली नागरिकता त्यागेका नेपाली हुन् वा निश्चित अवधिका लागि अध्ययन वा रोजगारीका लागि गएका हुन् सबैलाई नेपालमै अड्याउने, फिर्ता ल्याउने र आर्जित धनलाई नेपालको समृद्धिमा खर्च गर्ने वातावरण तयार गर्न राज्यको प्रमुख भूमिका रहनुपर्छ । अनि मात्र नेपालीको एकतालाई बलियो बनाउन सकिन्छ र राष्ट्रको समृद्धिमा पनि योगदान दिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here