पूर्णानन्द शर्मा अस्पताल भर्ना

0
9

झापा ।

प्र्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्मा अस्पताल भर्ना भएका छन् । उनी बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पताल भर्ना भएका हुन् ।

कमल–५ निवासी शर्माको स्वास्थमा समस्या देखिएपछि बिर्तामोडस्थित अस्पताल भर्ना गरिएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि आइतवार दिउँसो १ बजे शर्मालाई अस्पताल भर्ना गरिएको थियो ।

इमर्जेन्सीमा भर्ना भएका शर्माको मुटुमा समस्या देखिएको छ भने रगत कम भएको प्रशासन प्रमुख बिनोद बस्नेतले जानकारी दिए ।

उनको पित्तथैलीमा समेत पत्थर देखिएकोले केही दिन आइसीयूमै राखेर उपचार गर्नुपर्ने भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको बस्नेतले बताए ।

वीपी कोइरालाका अनुयायीका रुपमा रहेका शर्मा पञ्चायतकालदेखि बहुदल प्राप्तिका लागि भएका आन्दोलका क्रममा पटक–पटक एरिया बन्दीदेखि जेलसम्म परेका थिए । २०४२ सालमा भएको सत्याग्रह आन्दोलनमा समेत उनी जेल परेका थिए ।

त्यागी र नेपाली कांग्रेसका निष्ठावान नेताका रुपमा परिचित ८८ वर्षीय शर्माले शिक्षकको समेत काम गरेका थिए । तर, प्रजातान्त्रिक आन्दोलन होस् या बहुदलीय आन्दोलन पार्टीमा उनको विशेष भूमिका रहेको थियो । २०४२ सालमा नै नेपाली कांग्रेस झापाको सभापति बनेका शर्मा झापा क्षेत्र नम्बर ५ बाट संसदीय निर्वाचनमा समेत उम्मेदवार भएका थिए ।

नेपाली कांग्रेसका त्यागी र निष्ठावान नेताका रुपमा छवि बनाएका नेता शर्माको बिर्ता सिटी अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । अस्पतालले शर्माको निःशुल्क उपचार गर्ने पूर्वघोषणा अनुसार अस्पताल भर्ना गरिएको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए ।

प्रजातान्त्रिक आन्दोलनदेखि अहिलेसम्म नेपाली कांग्रेसका हरेक गतिविधिमा सक्रिय सहभागी हुँदै पार्टीलाई चलायमान बनाउन अहम् भूमिका निर्वाह गरेका शर्मासहित अस्पतालले कम्युनिष्ट आन्दोलनका योद्धा सानो दुर्गा अधिकारीको समेत निःशुल्क उपचार गर्ने यसअघि नै घोषणा गरेको थियो । यस अघि पनि शर्माको पित्तथैलीमा समस्या देखिएपछि बिर्तासिटीमा निःशुल्क उपचार गरिएको थियो ।

अस्पताल भर्ना भएका शर्मालाई डा. अनिल बस्नेत, डा. शरद भट्टराई, डा. शम्भु नवल, डा. चन्द्र लिम्बू, डा. दिग्गज श्रेष्ठ, डा. पुष्पक रेग्मी र डा. पृथ्वी राईको संयुक्त टोलीले हेरिरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here