विपद्मा हातेमालो

0
10

गण्डकी,

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर यही कात्तिक १७ गते राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा जनधनको क्षति भएपछि गण्डकी प्रदेश सरकारसहित यहाँका स्थानीय तह, सङ्घसंस्था र नागरिक तहबाटसमेत राहत सहयोगमा हातेमालो भइरहेको हो ।

भूकम्प गएको भोलिपल्टै गण्डकी प्रदेश सरकारले आपत्कालीन मानवीय सहायताका लागि चिकित्सकसहितको उद्धार टोली भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो । लगत्तै मन्त्रिपरिषद्को बैठक बसेर भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड सहयोग गर्ने निर्णय गर्यो । पोखरा महानगरपालिकाले पनि घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको थियो ।

दुई वडाध्यक्षको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मी, नगरप्रहरीसहितको उद्धार टोली रुकुम पश्चिम र जाजरकोटमा खटिएको थियो । महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगसमेत घोषणा गरेको छ । महानगरका जनप्रतिनिधिले एक महिना बराबरको पारिश्रमिक भूकम्पपीडितको राहत कोषमा प्रदान गर्ने निर्णय भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सदस्यले पनि भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यको १५ दिन बराबरको तलब भूकम्पपीडितको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यले एक हप्ताको तलब उक्त कोषमा जम्मा गर्ने भएका छन् ।

बागलुङको बडिगाड र ताराखोला गाउँपालिकालगायतका स्थानीय तहले पनि भूकम्प प्रभावितको राहत तथा उद्धारमा सक्रियता देखाए । जिल्लाबाट सबैभन्दा पहिला बडिगाड गाउँपालिकाले चिकित्सकसहित स्वास्थ्य सहायताका सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाएको गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनुभयो । “विपद्का बेला सहयोग गर्नु मानवीय धर्म र कर्तव्य हो, हामीले त्यसैलाई सक्दो रुपमा निभाएका हौँ, भूकम्पपीडितको राहतमा सबैले हातेमालो गरौँ”, उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here