पूर्वाञ्चल : २९औं वर्षमा

0
44

पूर्वाञ्चल दैनिकले आजबाट २८ वर्षको यात्रा पूरा गरी २९औं वर्ष प्रवेश गरेको छ । नेपाली पत्रकारिताको इतिहासलाई हेर्दा मोफसलमा पहिलो अफसेट प्रविधि भित्र्याएको श्रीअन्तु प्रकाशन प्रालिद्वारा प्रकाशित पूर्वाञ्चल दैनिक ‘क’ श्रेणीको समाचारपत्र हो । प्रविधिको विकाससँगै अनलाइन पोर्टल (purwanchaldaily.com) मार्फत विश्वभरका पाठकहरु माझ आफ्नो स्थान कायम गर्न सफल भएको छ । अनलाइन पोर्टल मार्फत ताजा अपडेट र रंगीन इ–पेपर मोबाइलबाटै पढ्न सकिने भएकाले पाठक, विज्ञापन दाता तथा शुभचिन्तकहरुको रोजाइमा रहेको हामीले अनुभूत गरेका छौं । कोरोना विपद्मा बेला वितरण क्षेत्र साँघुरिए पनि आज पर्यन्त अविरल गतिमा अघि बढेको छ– पूर्वाञ्चल ।

अहिले आम सञ्चार जगतले अनुभूत गरेको र भोगेको अवरोध तथा संकट विद्यमान छन् । नेपालका सञ्चारमाध्यम विगतका वर्षहरुमा महामारीका रुपमा विस्तार भएको कोभिड विपद्पछि राम्ररी चल्न सकेका छैनन् । सञ्चारमाध्यमको मुख्य आयस्रोत विज्ञापन हो । कोभिडपछि विज्ञापन बजार खुम्चिएको छ । भएका विज्ञापन पनि इन्टरनेटका माध्यमतर्फ केन्द्रित छन् । नेपाली छापा माध्यम संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । नेपाली छापा माध्यमको विकास र प्रवद्र्धनमा तीनै तहका सरकारको विशेष ध्यान जान जरुरी छ । कोभिड–१९ जन्य व्यवधान र त्यसपछि उत्पन्न परिस्थितिले हाम्रा प्रतिबद्धताहरु पनि अवरुद्ध हुन पुगे । अहिलेको परिस्थितिमा प्रकाशन निरन्तर रहनु नै उपलब्धिको रुपमा हेर्नुपर्ने अवस्था छ ।

कठीन परिस्थितिमा पनि प्रकाशन निरन्तरता, निष्पक्षता, स्वतन्त्रता र निर्भयताको धर्म निर्वाह गर्दै आजबाट २९औं वर्षमा प्रवेश गरेको सुखद् क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तकहरुप्रति साथ सहयोगका लागि आभार व्यक्त गर्दछौं । संविधानको मूल मर्म र भावना एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही नागरिकको सूचना प्राप्त गर्ने अधिकार सुरक्षित राख्ने अठोट अनुसार हामी यात्रारत् छौं । योसँगै आमनागरिकलाई सु–सूचित गर्दै सही सूचना, ज्ञान, मनोरञ्जन तथा समाजभित्रका सकारात्मक विषयवस्तु सम्प्रेषण गर्ने धर्ममा तपाईहरुको साथ र समर्थनबाट हामीले ऊर्जा प्राप्त गरेका छौं । पत्रकारिताको आदर्श, निष्ठा, आधारभूत सिद्धान्त एवम् पत्रकार आचारसंहिताको मूल मर्म र भावना अनुसार वस्तुनिष्ठ, सत्य–तथ्य, सन्तुलित, खोजमूलक समाचार सामग्री सम्प्रेषण गरी राष्ट्र र समाजलाई सचेत र गतिशिल बनाउँदै लैजाने कार्यमा प्रतिबद्ध छौं । हाम्रो यात्रा पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबद्र्धनमा समेत लक्षित छ । पूर्वाञ्चलको यात्रालाई अझ प्रभावकारी र समय सापेक्ष बनाउन आधुनिक प्रविधिको अधिकतम् प्रयोग गरी नयाँ सोच, योजना र लक्ष्य अनुसार प्रकाशन र प्रसारणको काम सँगसँगै नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अन्त्यमा, २९औं वर्ष प्रवेशको सुखद् क्षणमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, सञ्चारकर्मी, कर्मचारी मित्रहरु, शुभिचन्तक लगायत सबैमा हार्दिक आभार प्रकट गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here