हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाबिरुद्धको १६ दिने अभियान शुरु भएको छ । हामी एक्काइसौं शताब्दीको उत्तर आधुनिक युगमा बाँचिरहेका छौं । यति बेला पनि पितृसत्तात्मक प्रणालीले महिलालाई दोस्रो नागरिकको व्यवहार गरिरहेको छ । संसारका अविकसित, विकासशील, विकसित र अति विकसित भनेर चिनिएका सबै मुलुकमा धेरथोर जे भए पनि महिला हिंसाका घटना घटिरहेका छन् । महिलाबिरुद्धका घरेलु लगायत सबै प्रकारका हिंसाबिरुद्धमा जनचेतनाको अभिवृद्धि भएको छ, तर हिंसामा कमी आएको छैन । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, पुरातन संस्कार एवम् परम्परा, विभेदपूर्ण कानून, लैङ्गिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति–निर्माणको तहमा महिला प्रतिनिधित्वको न्यूनता जस्ता विषय नै महिला माथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् ।
पितृसत्तात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा गरिने व्यवहार अहिले पनि जारी छ । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भइरहेको छ । महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवम् परम्पराका नाममा अधिकारबाट वञ्चित गर्ने÷गराउने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन् । त्यस्ता सबै कार्यलाई महिलाबिरुद्धको हिंसा मानिएको छ ।
संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाबिरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले सन् २००५ देखि प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाबिरुद्ध हुने हिंसा निर्मूल सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउने गरेको छ । २०७५ साल कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभम्बर २५ तारिखलाई महिला हिंसाबिरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
अर्थात यस वर्ष मंसीर ९–२४ सम्म यो अभियान सञ्चालन हुँदैछ । महिला हिंसामा सबभन्दा भयानक, राक्षसी र दुर्दान्त हिंसा भनेको बलात्कार हो । महिला हिंसाबिरुद्ध अभियान जारी छ, तर बलात्कारका घटना चैतमासमा वनमा डढेलो लागे झैं ठूलो संख्यामा बढिरहेका छन् । पितृसत्ता र वर्गीय सत्ताको दुबैको जुवामुनि पिल्सिएका महिला माथिका अपराध दिनहुँ बढ्दो क्रममा रहेका छन् । उक्त अवसरमा नेपालमा पनि १६ दिनसम्म लैङ्गिक हिंसा अन्त्यका लागि विभिन्न संघ–संस्थाहरूले चेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छन् ।
महिलामाथि हुने हिंसाबिरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानूनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसाबिरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबीच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् । अभियान अन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना तथा शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफल लगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।
यस वर्ष ‘महिला तथा बालबालिका बिरुद्धको हिंसा रोक्न लगानीमा एकजुट’ अन्तर्राष्ट्रिय नाराका साथ अभियान मनाउने सन्दर्भमा नेपालमा पनि ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ देशव्यापीरूपमा मनाइँदैछ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले यस वर्ष १६ दिने अभियान अवधिभर सरोकारवाला निकायको समन्वयमा व्यापक कार्यक्रम गरी सातै प्रदेशमा प्रदेशस्तरीय विभिन्न जनचेतनामूलक र सन्देशमूलक तथा विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । २१औं शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन । महिलाबिरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसा जस्ता जघन्य अपराधलाई राज्यले कानूनद्वारा दण्डनीय बनाएको छ । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ ।
विश्वव्यापी रूपमा अहिले पनि महिला हिंसा जारी छ, त्यसैले महिला हिंसाबिरुद्धको अभियान पनि जारी छ । पुरातनपन्थी सोच र अन्धविश्वासको प्राधान्य रहेको नेपाली समाज अहिले पनि सामन्ती पितृसत्ताको शोषणको जुवामुनि पिल्सिरहेको छ । चाहे प्रौढ हुन् वा बालिका वा नौजवान वा अधबैंसे, नेपाली महिला हिंसाको चपेटामा पर्ने क्रम रोकिएको छैन । महिला साक्षरता दर बढेको छ, तर दाइजो प्रथा, देउकी प्रथा, झुमा प्रथा, कुमारी प्रथा, कमलरी प्रथा लगायतका प्रथाहरू कुनै न कुनै रुपमा वृद्धि भइरहेका छन् भने एसिड आक्रमण, चेलीबेटी बेचबिखन, बलात्कार जस्ता अपराधका घटना दिनहुँ ठूलो संख्यामा घटित भइरहेका छन् । महिला तथा घरेलु हिंसाबिरुद्धका अभियानहरु निकै बलशाली छन्, तर पनि हिंसाको अन्त्य भएको छैन । दश वर्षे जनयुद्ध, जनान्दोलन, जनसंघर्षका परिणाम स्वरूप मुलुकमा राजनीतिक रुपमा परिवर्तन आएको छ ।
राजनीतिक रूपमा मुलुक सामन्ती एकतन्त्रात्मक केन्द्रीकृत व्यवस्थाबाट मुक्त भएको भनिए पनि लैङ्गिक हिंसा राज्यव्यवस्थामा आएको परिवर्तनले पनि रोकिएको छैन । एकातिर सामन्तवादी सोच र व्यवहारले महिलाहरू थलिएका छन् भने अर्कोतिर भूमण्डलीकरणका नाममा, आधुनिकताका नाममा, स्वतन्त्रताका नाममा दलाल नोकरशाही पुँजीवादका विषालु नङ्ग्राबाट महिलाहरू झन बढी क्षतविक्षत हुन पुगेका छन् । एकातर्फ सामन्तवादबाट र अर्कातर्फ पुँजीवादका शोषण र भेदभावबाट महिलाले आफूलाई स्वतन्त्र गर्नुछ ।
यौन व्यवसाय, सर्कस लगायत विभिन्न प्रयोजनका लागि भारत तथा खाडी मुलुकहरूमा बर्सेनि लगभग पाँच हजार महिला तथा बालबालिका बेचिने तथ्यांक सार्वजनिक हुँदै आएको छ । त्यस्तै रोजगारीका लागि खाडी लगायत विभिन्न देश पुगेर घरेलु श्रमिकका रूपमा काम गर्ने महिलाहरूको शोषण एवम् अत्याचारका कहालीलाग्दा यथार्थ वेदना पनि बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । भारतका मुम्बई, कोलकाता लगायतका महानगरका रेडलाइट एरियाका वेश्यालयमा बेचिएका नेपाली चेलीका क्रन्दनले दक्षिण एसिया नै उद्वेलित हुने गरेको छ र नेपालीका हृदय चिराचिरा हुने गरेको छ । सामाजिक संरचना, आर्थिक अवस्था र पुँजीवादले सृजना गरेका सारा मानकहरुका कारण महिला विरोधी गतिविधिहरुले प्रश्रय पाएका छन् ।
महिला भएकै आधारबाट समान ज्याला, समान सुविधा लगायतका मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, प्रतिबन्ध लगायत जुनसुकै तरिकाबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमको आघातलाई महिला हिंसाका रूपमा बुझ्नुपर्छ । समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न तत्त्वले भूमिका निर्वाह गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्नखालका हिंसाको शिकार भइरहेका छन् ।
विज्ञान प्रविधिको उच्चतम विकास भइरहेको सभ्य भनिएको आजको आधुनिक युगमा मानिस नृशंस राक्षस जस्तो बनिरहेको छ । यो राज्यव्यवस्था र मानवीय प्रवृत्ति दुबैको दोष हो । साक्षरता दर बढेर माथि पुगिसकेको छ । विश्वविद्यालयका डिग्रीधारीहरूको संख्या पनि वृद्धि भइरहेको छ । चेतनशील र शिक्षित मानिसको संख्याको आधारमा आनुपातिक रुपमा बलात्कार जस्तो अपराधमा कमी आउनुपर्ने हो, तर स्थिति निराशाजनक छ । विभिन्न अध्ययनहरु अनुसार संसारभरिका प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनीहरूका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ ।
सामन्ती र पुँजीवादी संरचना भत्काएर महिला र पुरुषका बीच समभावसहितको सहकार्यको संस्कृति निर्माण गर्न जरुरी छ । महिला हिंसाबिरुद्धको अभियानले महिलालाई हिंसाबिरुद्ध प्रतिरोधात्मक भाव जगाउन र पुरुषलाई आमा, दिदी, बहिनी र हजुरआमालाई सम्मान गर्न सिकाउने शिक्षा पनि दिन जरुरी छ । लैङ्गिक हिंसाका घटनालाई न्यूनीकरण गर्न कानूनी, प्रशासनिक र सामाजिक संरचनामा परिवर्तन आवश्यक छ । पितृसत्ताले सृजेका शोषण र वर्गीय सत्ताले बनाएका अन्याय र अत्याचारका कहालीलाग्दा उत्पीडनका बिरुद्ध सचेतनताका साथ आवाज उठाउनु, कानूनी, व्यावहारिक लगायतका लडाइँहरु लडेर मात्र यस्तो मुक्ति सम्भव छ । सामाजिक संरचनामा अत्यन्तै गहिरोसँग जरा गाडेर बसेको पितृसत्तात्मक राक्षसी उत्पीडन र तथाकथित आधुनिक पुँजीवादी प्रत्यक्ष÷परोक्ष शोषणलाई अन्त्य गर्न जरुरी छ ।