राजाप्रतिको आकर्षण बढेकै हो त !

0
9

गणतन्त्र स्थापना भएको पन्ध्र वर्ष हुँदा राजसंस्थाप्रतिको आकर्षण बढेको अनुभूत गरिँदैछ । पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार झापा बिर्तामोड आउँदा देखिएको अपूर्व स्वागतले यस्तो अनुभूत हुन थालेको हो । स्थानीय एक कलेजमा निर्माण गरिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको शालीक अनावरणका लागि आएका पूर्व राजाको स्वागतमा उपस्थित समर्थकहरुको भीडले मूल प्रवाहका राजनीतिक दलप्रतिको बिकर्षणको संकेत गरेको अनुमान गरिँदैछ । यद्यपि कुनै घटना विशेषका आधारमा परिवर्तित राजनीतिक प्रणालीप्रति अविश्वास गर्न उपयुक्त हुँदैन ।

मुलुक गणतान्त्रिक शासन प्रणालीमा गएको पन्ध्र वर्ष भइसकेको छ । यसबीचमा सबै दलहरु कुनै न कुनै रुपले सत्तामा पुगेका छन्, तर जनताले भने परिवर्तित प्रणालीबाट लाभान्वित भएको महशुस गरेका छैनन् । देश आर्थिक रुपले जर्जर हुँदै गएको छ, वैदेशिक ऋणको भार प्रत्येक वर्ष बढ्दैछ । आर्थिक मन्दीले देशको सम्पूर्ण अवयवहरु रोगग्रस्त छन् र तिनको सुधारको संकेत पनि नदेखिएको जानकारहरु टिप्पणी गर्दैछन् । यस्तो समय राष्ट्र, धर्म, संस्कृति, राष्ट्रियता र नागरिक बचाउ महाअभियानका नाममा राजधानी केन्द्रित आन्दोलन जारी रहेको छ ।

गणतन्त्रका नाममा राजनीतिक दलमा देखिएको स्वच्छन्दता र स्वार्थको लडाइँ गर्ने प्रवृत्तिका कारण पछिल्लो समय राजसंस्थाप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको विश्लेषण हुन थालेको छ । त्यसको उदाहरण राजसंस्था र हिन्दूत्वको पक्षमा राजधानी लगायतका शहरहरुमा भइरहेको प्रदर्शन नै हो । गणतन्त्रका उपलब्धीबाट आमजनता खुशी हुन सकेका छैनन् । गणतन्त्रात्मक व्यवस्थाको प्रतिनिधित्व गर्ने दल तथा नेताहरुले पनि कुनै प्रतिफल दिन सकिरहेका छैनन् । त्यही कारण हुनसक्छ उनीहरु नै राजसंस्था ठीक भन्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कांग्रेसका शीर्षस्थ नेताहरुले समय–समयमा राजसंस्थाकै पक्षमा अभिव्यक्ति दिएका पनि छन् । यही अवस्थामा राजाप्रति सर्वसाधारणको बढ्दो आकर्षणले गणतन्त्रका नेताहरुको कार्यशैलीबाट आजित भएको संकेत गर्छ । गणतन्त्रमा जनताको शासन चल्नुपर्नेमा दल, नेता र विचौलियाको मात्रै शासन चल्दैछ । बढ्दो गरिबी, बेरोजगारी, युवावर्गको पलायन, भ्रष्टाचार र कुशासनले राजाप्रति आकर्षण बढेको तथ्यलाई मूलप्रवाह र सत्तामा रहेका दलहरुले आत्मसात गर्न सकेनन् भने सम्भावित परिवर्तनलाई कसैले रोक्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here