‘श्री ५’ लेखेको शिलालेख हटाइयो

0
45

झापा ।

पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको बिर्तामोडस्थित इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट (इकम)को प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको शालिकको शिलालेख हटाइएको छ ।

शिलालेखमा पूर्र्वराजा ज्ञानेन्द्र शाहलाई वहालवाला राजा सरह नै शिलालेखमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव लेखेर अनावरण गराएपछि सो कार्यक्रम विवादित बनेको थियो । सो शिलालेख उद्घाटन गरिएको ४८ घण्टा नबित्दै हटाइएको हो । शिलालेखसंगै पृथ्वीनारायण शाहको शालिकको उद्घाटन पूर्व राजा ज्ञानेन्द्रले गरेका थिए ।

बिर्तामोड–१ स्थित पञ्चकन्यामा रहेको इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढाउने भन्दै बिर्तामोड नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले सामाजिक सञ्जालमा स्टाट्स लेखेपछि कलेजले शिलालेख हटाएको हो । यसअघि विभिन्न सञ्चारमाध्यममा सो विषयको समाचार सार्वजनिक भएको थियो ।

वडाध्यक्ष पाण्डेले कलेजको दर्ता खारेजीका लागि प्रक्रिया अगाडि बढेको भन्दै स्टाट्स लेखेका थिए । इकम कलेजले संविधानको ठाडो उल्लंघन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१का वडाध्यक्ष पाण्डेले बताए । पाण्डेले इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताएका छन् । चौतर्फी बिरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको हो ।

कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरेका छन् । शालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महशुस भएपछि त्यसलाई हटाइएको कलेजका प्रवन्ध निर्देशक निर्मल निरौलाले बताए । शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोधेका थिए । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको हो उनले भने – पूर्वराजाको सचिवालयबाट जे आयो त्यही राख्दा यस्तो हुन गएको हो, यसलाई हामीले सच्याइसकेका छौं ।

२०७२ सालमा स्थापित कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ । कलेज सञ्चालनका लागि ७ जनाको लगानी रहेको छ । जसमा आलोक कार्की संस्थापक अध्यक्ष रहेका छन् भने निरौला प्रवन्ध निर्देशक हुन् ।

त्यस्तै विवेक नेपाल, पिताम्वर कोइराला, रोशन मैनाली, सुमन श्रेष्ठ र सुमन उप्रेती कलेजका सञ्चालक हुन् । दीपक दाहालको ५ कठ्ठा जमिन १५ वर्षका लागि लिजमा लिएर कलेज सञ्चालन गरिएको बताइएको छ । जहाँ ४ सय १० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here