बसाइँसराइ व्यवस्थापनको चुनौती

0
19

आन्तरिक तथा बाह्य बसाइँसराइका कारण समस्या बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधानमा सामुहिक प्रयास गर्नुपर्नेमा जानकारहरुले जोड दिएका छन् । राजधानीमा आयोजित जनसंख्या र बसाइँसराइ व्यवस्थापन सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमका वक्ताहरुले आन्तरिक बसाइँसराइका कारण ग्रामीण क्षेत्रमा जनसंख्या न्यून भएको, आवश्यक जनशक्तिको अभाव भएको, आर्थिक उत्पादन र वितरणमा असर परेको बताएका छन् । मानिस चेतनशील र सजीव प्राणी भएका कारण आवश्यक र प्रयोजन अनुसार बसोबास फेरदबल गरिरहन्छ । मानिसको यो स्वभाव उत्पत्तिकै अवस्थामा पनि थियो र आज भौतिक विकासका कारण अनन्त आवश्यकताको परिपूर्तिका निमित्त मानिस सेवासुविधाको खोजीमा झन बढेको छ ।

समग्रमा बसाइँसराइको क्रम हिजो थियो र आज पनि छ । कुनै एउटा क्षेत्र वा भूगोलमा बसोबास गरेको मानिस अर्को क्षेत्र वा भूगोलमा सर्नु बसाइँसराइ हो । हामीकहाँ पछिल्लो समय हिमाल, पहाडबाट तराईमा बसाइँ सर्नेक्रम उच्च रहेको छ । बसाइँसराइको यो प्रवृत्ति सेवा, सुविधाद्वारा प्रभावित छ । अर्थात् भौतिक पूर्वाधारको निर्माण, उपयोग, अवसर र आर्थिक उपार्जनको आकर्षणले मानिसहरु हिमाल र पहाडबाट तराईमा, तराईबाट शहरमा र कतिपय विदेशसम्म पुग्ने गरेका छन् । यस आधारमा हाम्रो बसाइँसराइ आन्तरिक तथा बाह्य हुने गरेको छ, जसको सम्बन्ध रोजगार, व्यापार–व्यवसाय तथा आयआर्जनसँग छ ।

शहर बजारमा आयमूलक कार्यहरुको सम्भावना बढी हुन्छ । अर्थात् सबै प्रकारका जनशक्तिले आ–आफ्नो क्षमता, सिप र सामथ्र्यका आधारमा रोजगारी पाउन सक्छन् । जसका कारण आफ्ना सन्ततिको लालनपालन, शिक्षादीक्षादेखि आवश्यक अन्य सेवा प्रदान गर्न सहज हुन्छ । यसले व्यक्तिको आर्थिक जीवन सबल बनाउँछ र जीवनस्तरमा समेत परिवर्तन ल्याउँछ । तर, बसाइँसराइले पार्ने सामाजिक, सांस्कृतिक र वातावरणीय प्रभाव र असरलाई भने बेवास्ता गर्नुहुँदैन । प्रत्येक राम्राभित्र नराम्रा पक्ष पनि हुन्छन् भन्ने तथ्यलाई आत्मसात गर्दैै बसाइँसराइले पार्ने नकारात्मक असर न्यूनीकरण गर्न सम्बद्ध पक्षले ध्यान दिनु पर्दछ । यसले तराई र शहरी क्षेत्रमा प्रदूषण बढाएको छ, प्राकृतिक स्रोत र साधनको असन्तुलित र चरम प्रयोग भएको छ र जातीय, भाषिक, सांस्कृतिक पहिचान क्षय गराएको छ । यसले एकातिर वातावरणीय सन्तुलनमा क्षति पु¥याएको छ भने अर्कातिर गाउँका उर्वरभूमि जनशक्तिको अभावमा खेर गइरहेको छ । त्यस्तै देशलाई आवश्यक दक्ष जनशक्तिको पलायनले देशलाई नै पछि पार्दै लगेको छ । त्यसैले बसाइँसराइको प्रभाव मूल्याङ्कन गर्दै यसको व्यवस्थापनमा लाग्नु बुद्धिमानी हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here