भद्रपुर र कचनकवल बराबरी, अर्जुनधारा विजयी

१४ मंसिर २०८०, बिहीबार मा प्रकाशित

भद्रपुर।

झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा भद्रपुर र कचनकवलले बराबरी खेलेसँगै नतिजा रोमाञ्चक बनेको छ ।

आजको बराबरी नतिजाले कचनकवल समूह ग को दोस्रो स्थानमा उक्लिएको छ भने भद्रपुर तेस्रो स्थानमा पुगेको छ । समान दुई खेल खेलेका यी दुवै टिमले अब एकएक खेल खेल्न बाँकी छ । कचनकवलले अन्तिम खेल ६ अंक रहेको शीर्ष स्थानको मेचीनगरसँग खेल्नेछ भने १ अंक मात्र रहेको भद्रपुरले १ अंक रहेको अन्तिम स्थानको बाह्रदशीको सामना गर्नेछ । बाह्रदशी गोलअन्तरले भद्रपुरभन्दा एक स्थान तल रहेको छ ।

आजको पहिलो खेलको सुरुवाती अग्रता भद्रपुरले लिए पनि थामिन नसक्दा कचनकवलले गोल फर्कायो । खेलको १७ औँ मिनेटमा भद्रपुरका निवाङ लिम्बूले गरे पनि ६९ औँ मिनेटमा कचनकवलका सुगम राईले गोल गर्दै बराबरी बनाए ।

खेलको प्लेयर अफ दि म्याच कचनकवलका कप्तान रामबाबु शाह भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, महासचिव जीवनकुमार श्रेष्ठ, भद्रपुर जेसीजका पूर्वअध्यक्ष प्रकाश भण्डारीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

यसैबीच, आज भएको दोस्रो अर्जुनधारा विजयी बन्यो । अर्जुनधाराले कमल गाउँपालिकालाई हराएसँगै समूह घ को नतिजा पनि रोमाञ्चक बनेको छ । खेलको अन्तिम पाँच मिनेटअघि कमलका खेलाडीले मुख्य रेफ्री डिकबहादुर श्रेष्ठलाई हातपात तथा कुटपिट गरेका थिए । कुटपिटबाट श्रेष्ठ घाइते बनेका छन् ।

कमलका कप्तान लक्ष्मण बेघा, गोलकिप्पर उत्तम कार्की र प्रशिक्षक चित्रमान राईले रेफ्री श्रेष्ठलाई हातपात गरेपछि रातो कार्ड खाएका थिए । कार्ड पाएपछि कमलले खेल नखेल्ने भन्दै मैदान छोडेपछि अर्जुनधारालाई विजयी घोषणा गरिएको थियो । आयोजक र अफिसियलहरुले मैदान नछोड्न आग्रह गरे पनि कमलले मानेन ।

आजको जितसँगै अर्जुनधारा आफ्नो समूहको पहिलो स्थानमा चढेको छ । उसको ४ अंक पुगेको छ । यसअघि खेलको २८ औँ मिनेटमा अर्जुनधारका निखिल तामाङले गोल गरेका थिए । तर, ३८ औँ मिनेटमा कमलका नरबहादुर मगरले गोल फर्काएका थिए ।

अर्जुनधाराले अन्तिम खेल अंकविहीन रहेको दमकसँग प्रतिस्पर्धा गर्नेछ भने एक खेल खेल्न बाँकी रहेको कमललाई प्रगियोगिताबाटै निलम्बन गरिएको छ । खेल नियमविरुद्ध रेफ्रीमाथि कुटपिट गरेको कारण कमललाई बाँकी खेलमा प्रतिबन्ध लगाइएको हो ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितमा झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टिमले प्रतिस्पर्धा गर्दै छन् ।

१८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए । खेल तालिकाअनुसार समूह ‘क’ मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ‘ख’ मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ‘ग’ मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह ‘घ’ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टिम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here