लैंगिक हिंसामध्ये ८० % घरेलु हिंसा, चिनजानका मानिसबाटै महिला तथा बालबालिका हिंसामा

१५ मंसिर २०८०, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेको छ । यसैक्रममा कोशीका १४ जिल्लामा जवरजस्ती करणीका घटनामा कमी आउन नसकेको प्रहरीले जनाएको छ ।

चालू आर्थिक बर्षको चार महिनामा झापासहित कोशी प्रदेशका १४ जिल्लामा एक सय ८३ वटा उजुरी दर्ता भएका छन् भने घटनामा संलग्न एक सय ५२ जना पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गत आर्थिक बर्ष ०७९/०८०मा पाँच सय ६७ उजुरी दर्ता भएका थिए भने चार सय ४२ जना पक्राउ परेका थिए ।

त्यस्तै आर्थिक बर्ष ०७८/०७९ मा पाँच सय ९ वटा उजुरी दर्ता भएकामा चार सय १९ जना पक्राउ परेका थिए । बर्षेनि जवरजस्तीका घटनामा बृद्धि भएको प्रहरीको तथ्यांकले पुष्टि गरेको छ । त्यस्तै जवरजस्ती करणी उद्योगमा चालू आर्थिक बर्षको चार महिनामा ३७ जना पक्राउ परिसकेका छन् भने ४४ वटा घटना भएको प्रहरीले जनाएको छ । गत बर्ष ९८ जना जवरजस्ती करणी उद्योगमा पक्राउ परेको प्रहरीले जनाएको छ । गत बर्ष एक सय १४ वटा उजुरी दर्ता भएका थिए ।

त्यस्तै अप्राकृतिक मैथुनको मुद्दा दुई वटा दर्ता भए पनि हालसम्म कसैलाई पक्राउ नगरिएको जनाइएको छ । गतबर्ष अप्राकृतिक मैथुन मुद्दामा पाँच जना पक्राउ परेका थिए । त्यस्तै आर्थिक बर्ष ०७८÷०७९मा ६ जना पक्राउ परेका थिए ।

प्रहरीले विभिन्न अभियान अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि लैंगिक हिंसाका घटनामा कमी नआएको तथ्यांकहरुले पुष्टि गरेका छन् । चालू आर्थिक बर्षको चार महिनामा बाल यौन दुराचार तथा दुरुपयोग मुद्दामा २३ जना पक्राउ परिसकेका छन् भने २६ वटा घटना दर्ता भएको प्रहरीले जनाएको छ । त्यस्तै गतआर्थिक बर्ष ०७९÷०८०मा ७६ जना पक्राउ परेका थिए भने ९३ वटा उजुरी दर्ता भएका थिए ।

त्यस्तै मानव बेचबिखन तथा ओसारपसारका घटनामा भने कमी आएको जनाइएको छ । चार महिनामा तीन वटा मात्र उजुरी दर्ता भएकोमा ८ जना पक्राउ परेका थिए । गतआर्थिक बर्षमा १७ वटा उजुरी दर्ता भएका थिए भने २२ जना पक्राउ परेका थिए । प्रहरीले चालू आर्थिक बर्षको चार महिनामा अपहरणमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने चार वटा अपहरणका उजुरी दर्ता भएका छन् ।

त्यस्तै गत आर्थिक बर्षमा कोशीका १४ जिल्लामा ११ वटा अपहरणका उजुरी दर्ता भएका थिए जसमा ९ जना पक्राउ परेका थिए । त्यस्तै जातीय छुवाछुत मुद्दाका दुई वटा उजुरी दर्ता भएका छन् । हालसम्म उक्त मुद्दामा कसैलाई पक्राउ नगरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गतबर्ष सोही मुद्दामा एक जना पक्राउ परेका थिए । प्रहरीले बहुविवाह तथा बाल विवाहबिरुद्ध सचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । चालू आर्थिक बर्षको चार महिनामा बहुविवाहका ४७ वटा उजुरी दर्ता भएका छन् भने ५९ जना पक्राउ परेका छन् । गतआर्थिक बर्ष १ सय २१ वटा उजुरी दर्ता भएकामा एक सय ४९ जनालाई पक्राउ गरिएको थियो ।

त्यस्तै आर्थिक बर्ष ०७८/०७९मा एक सय ४४ वटा उजुरी दर्ता हुँदा दुई सय १४ जनालाई पक्राउ गरिएको प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै चालू आर्थिक बर्षको चार महिनामा दुई वटा बाल विवाहका उजुरी दर्ता भएका छन् भने एक जनालाई पक्राउ गरिएको जनाइएको छ । गतआर्थिक बर्षमा नौ वटा बाल विवाहका उजुरी दर्ता भएका थिए भने १६ जना पक्राउ परेका थिए । कोशी प्रदेशमा बोक्सीको आरोपमा हालसम्म कोही पनि पीडित बन्नु नपरेको जनाइएको छ । चालू आर्थिक बर्षमा यो घटना नभए पनि गत आर्थिक बर्षमा बोक्सी आरोपका तीन वटा उजुरी दर्ता भएका थिए भने तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै अवैध रुपमा गर्भपतन गराएका दुई वटा उजुरी दर्ता भएका छन् भने एक जनालाई पक्राउ गरिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गतआर्थिक बर्षमा ५ वटा उजुरी दर्ता भएका थिए भने दुई जना पक्राउ परेका थिए । प्रहरीले कर्तव्य ज्यान मुद्दामा १३ जनालाई पक्राउ गरेको छ । चार महिनाको अवधिमा १३ वटा उजुरी दर्ता भएको जनाइएको छ । गतआर्थिक बर्षमा ५४ वटा उजुरी दर्ता हुँदा ६८ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै आर्थिक बर्ष २०७८÷०७९मा ५५ वटा कर्तव्य ज्यानका घटना हुँदा ६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अपराधको प्रकृति हेरेर कानूनी प्रक्रियालाई अगाडि बढाउने गरेको छ । घरेलु हिंसाका घटना धेरै रहेको प्रहरीले जनाएको छ । आर्थिक बर्ष ०७७÷०७८मा ९ सय १६ वटा उजुरी दर्ता भएकामा ६ सय ९० वटा मिलापत्र गराइएको थियो भने १ सय ३९ वटा अदालत पठाइएको थियो । ६१ वटा कार्यान्वयन हुन बाँकी रहेको छ भने २६ जना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । त्यस्तै चालू आर्थिक बर्षको चार महिनामा छ सय ३५ वटा निवेदन दर्ता भएकामा चार सय ३४ जनालाई मिलापत्र गराएर पठाइएको छ भने पाँच जनालाई अदालत पठाइएको छ ।

त्यस्तै एक सय ७२ जनालाई कार्यान्वयन हुन बाँकी रहेको र २४ जना सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । लैंगिक हिंसामध्ये ८० प्रतिशत घरेलु हिंसा भएको प्रहरीले जनाएको छ । अपराधका तथ्यांक विश्लेषण गर्दा घरेलु हिंसाका उजुरी दिनहुँ जसो आउने गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । लैंगिक हिंसाबिरुद्धको १६ दिने अभियान सञ्चालन भइरहेका बेला प्रहरीले सार्वजनिक गरेको तथ्यांकमा ८९ प्रतिशत चिनजानका मानिसबाटै महिला तथा बालबालिका हिंसामा पर्ने गरेको जनाइएको छ । घरेलु हिंसाभित्र श्रीमान श्रीमतीबीच हुने घरेलु हिंसाका घटना मात्रै ६७ प्रतिशत रहेको छ भने अघिल्लो बर्षमा १६ हजार पाँच सय १९ घरेलु हिंसा र अन्य लैंगिक हिंसा चार हजार तीन सय ९४ वटा दर्ता भएको प्रहरीले जनाएको छ ।

हरेक बर्ष नोभेम्बर २५देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसाबिरुद्धको अभियान सञ्चालन हुने गरेको छ । यस बर्ष लैंगिक हिंसा मानव अधिकारको हनन भन्ने नाराका साथ विभिन्न कार्यक्रम सञ्चालन गरेर मनाइँदैछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here