अटोरिक्सा सञ्चालनका लागि रुट

0
22

बेनी (म्याग्दी),

म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो ।

नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो ।

बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा–९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिनुभयो ।

अटोरिक्सा कच्ची सडकमा सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले रुट निर्धारण गरिएको भन्दै रुटबाहेक सञ्चालन गरेमा जरिवाना गरिने नगरपालिकाले जनाएको छ । अटोरिक्साका लागि कायम गरिएका रुटमा नगरपालिकाबाट इजाजत लिएर मात्रै सञ्चालन गरिने बताइएको छ । अटोरिक्सामा सवार गर्दा प्रतिकिलोमिटर रु साढे सात भाडासमेत निर्धारण गरिएको छ ।

कच्ची सडकमा यात्रु बोक्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी नियमित अनुगमन गरी रिक्साका चालकलाई सचेत बनाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र पौडेलले बताउनुभयो ।

नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि बनाएकाले नियमसम्मत तरिकाले सञ्चालन गर्न चालकलाई अनुरोध गरिएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँले तोकिएको रुटबाहेक अटो सञ्चालन गरिएमा कारबाही गर्नेसमेत बताउनुभयो ।

बेनी नगरपालिकाभित्र १० अटोरिक्सा सञ्चालनको अनुमति भए पनि हालसम्म छवटाको नम्बर कायम गरिएको छ । चारवटाको रुट कामय गरिने नगरपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here