पूर्वी पहाडी जिल्लाका किसानहरुको आम्दानीको मुख्य स्रोत बनेको अलैंची खेतीमा अनेकन समस्या रहेका छन् । कालो सुन भनिने अलैंची उत्पादनमा रहेका समस्या, बजारको अस्थिर मूल्य र बजारीकरणमा विद्यमान समस्याका कारण यसको खेतीलाई व्यावसायिक बनाउन नसकिएको सम्बद्ध क्षेत्रको गुनासो छ । पहाडी जिल्लाको मुख्य निर्यातजन्य वस्तु अलैंची खेती, बजार मूल्य र निर्यात सम्बन्धी समस्याको समाधानका लागि अलैंची नीति बन्नुपर्ने उनीहरुको भनाइ छ । भिरालो र अन्य खेती नहुने भू–भागमा गरिने अलैंची खेतीमा सिञ्चाइदेखि लाग्ने रोगसम्मका समस्या छन् । जसोतसो उत्पादन गरिएको अलैंचीको मूल्य अस्थिर हुँदा र भारत निर्यात गर्दा अनेक समस्या रहेका कारण बजारको समस्या पनि त्यत्तिकै छ ।
नेपाली अलैंचीको मुख्य बजार भारत नै हो । वार्षिक लगभग पाँच हजार मेट्रिक टन उत्पादन हुने अलैंची नेपालमा पाँच प्रतिशत मात्र खपत हुन्छ । बाँकी सबै अलैंची भारत निर्यात हुन्छ, जसको मूल्य निर्धारण भारतीय बजारले गर्ने गर्दछ । हाम्रो उत्पादनको मूल्य भारतले निर्धारण गर्ने गरेका कारण त्यसको मूल्य निरन्तर आरोलो लागेको व्यवसायीको भनाइ छ । उता अलैंची किसान भने त्यसको घट्दो मूल्य, अलैंचीमा लाग्ने रोग जस्ता कारणले खेतीप्रति नै निराश भएका थिए । तर, पछिल्लो समय केही सहकारी संस्था लगायतका अन्य गैरसरकारी संस्थाले विभिन्न परियोजना मार्फत अलैंचीको नयाँ प्रजातिका बिरुवा, प्राविधिक सहयोग, सिप र ज्ञान प्रदान गर्न थालेपछि केही उत्साहित हुन थालेका छन् ।
निर्यातका दृष्टिले पहिलो स्थानमा रहेको अलैंची बजारीकरणकै समस्याका कारण संकटग्रस्त छ । यस्तोमा नेपालमै पहिलो उद्योगका रुपमा स्थापित झापा अर्जुनधाराको एभरेष्ट लार्जकार्डमाम इण्डष्ट्रिजले अलैंचीको प्रशोधन गरेर स्थापनाको छोटो समयमै पहिचान बनाएको छ । गत वर्ष पचास करोड रुपैयाँको प्रशोधित अलैंची निर्यात गरेको सो उद्योगले अहिलेसम्म भारतमा मात्रै निर्यात गरिरहेको छ । उद्योगका अध्यक्ष निर्मल भट्टराईले आफ्नो उत्पादन तेस्रो मुलुक निर्यात गर्ने प्रयास गरिरहेको भन्दै त्यसका लागि नीति निर्माण गर्नुपर्ने बताए । नीति निर्माण गर्ने दायित्व सरकारको भएकाले उसले नगदेबालीका रुपमा स्थापित अलैंची खेतीमा रहेको समस्या समाधान गर्दै किसानलाई आवश्यक सहयोग गर्नु पर्दछ । यसो गरिए देशको अर्थतन्त्रमा समेत सकारात्मक योगदान दिन सकिने थियो ।