आत्महत्या विकल्प कि संकल्प ?

१८ मंसिर २०८०, सोमबार मा प्रकाशित

‘सुसाइड इज नट् अ सलुसन’ यो कुनै नौलो कुरा भने होइन । सामाजिक सञ्जालहरु फेसबुक, इन्स्टाग्राम लगायतका कुना, काप्चा र भित्तामा जताततै टासिएको एउटा जालो हो । साच्चै भन्ने हो भने बिना भावना प्रकट गरिएको सहानुभूति । विगतलाई पल्टाएर हेर्ने हो भने ‘आत्महत्या’ उर्लिँदै गरेको फेशन सरह बन्दै गएको छ । अझ हेर्ने हो भने ‘म मर्दैछु है’ भनेर अवगत गराउँदै चिट्ठी अर्थात् सुसाइड नोट लेख्ने चलन दिन प्रतिदिन बढिरहेको छ । जति–जति समाज तीव्रगतिमा अघि बढिरहेको छ त्यति–त्यति सामाजिक समस्याको वाछिटाले समाजलाई हिलो छ्याप्दैछ ।

सन् २०१९–२०२० सम्म छ हजार दुई सय ५२ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्कमा पाइन्छ । यसको मतलब कि प्रत्येक दिनमा १९ जनाभन्दा बढिले आत्महत्या गर्ने गर्छन् । वि.स. २०६८÷०६९ मा ११ जनाबाट बढेर २०७८÷०७९ मा १९ जनामा पुगेको छ जुन ७२% उकालो लागेको छ । विश्व स्वाथ्य संगठनको अनुसार एक वर्षमा सात लाखले आत्महत्या गर्दछन् भने प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरेको पाइन्छ । विगत केही महिनाअघि फेसबुक मार्फत आफ्नो समस्यालाई सार्वजनिक गरेर आफ्नो शरीरमा पेट्रोल खनाई प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरमा आत्मदाह गरेका थिए । यो त एउटा ज्वलन्त उदाहरण मात्रै हो । लाखौं आचार्यहरू छन् जो सास फेर्नभन्दा डोरी, विष, आगो, हतियार जस्ता औजारहरु प्रयोग गरी कुण्ठमै सास रोक्न सहज मान्दछन् ।

यस्तो अवस्थासम्म पुगुञ्जेल हामी कहाँ हराएको हुन्छौं र मरिसकेपछि ‘रेष्ट इन पिस’ भन्न हतारिँदै लस्करिन्छौं ? अझ ७ वर्षदेखि १४ बर्षका बालबालिका आफ्नै कोठामा झुण्डिएको खबर दिनानुदिन रुपमा समाचारमा आइरहेको हुन्छ । जसले एकदमै स्तब्ध बनाउँछ । तर, वास्तवमा मानिसको मानसपाटलमा उब्जिएको विभिन्न शंकाहरुले उनीहरुको मनोविज्ञानमा असर पारिरहेको हुन्छ । जसरी एउटा चुरोट सेवन गर्ने व्यक्तिलाई चुरोटको लत र धँुवाले उसको फोक्सो सिध्याएको हुन्छ त्यसरी नै हरेक सोच, विचार र व्यवहारले मानिसको सचेत, अचेत र अवचेत मस्तिष्कमा बिस्तारै असर गर्दै लाने र पछि पर्खाल बनेर मानिसलाई खोक्रो तुल्याउँछ । जब व्यक्तिमा खोक्रोपन आउँछ तब उसले नचाहिँदा सोच, विचारले त्यसलाई भर्न खोज्छ र अन्त्यमा उसको अन्तिम विकल्प आत्महत्या हुन्छ ।

मनोरोग एउटा मन र मस्तिष्कको ठूलो पर्खाल हो । तर, जबसम्म उसले घाट रोज्दैन तबसम्म उसको भावना र मानसिक तनावको माझ अड्कल समेत पनि गर्न सक्दैनौं । मानौं कि मनोरोग रुघा सरह पनि छैन । सामान्य ज्वरो, रुघा लाग्दा औषधी खाने, अस्पताल धाउने गर्छौं । तर, जब मस्तिष्कलाई ग्रस्त बनाएको हुन्छ तब हामी किन मौन रहन्छौं ? समाजमा पनि त मनोरोग भनेको पागल अनि साइकोलिस्ट, साइक्याट्रिसलाई पागलको डाक्टर भनेर बुझिन्छ । जुन सरासर गलत हो । त्यसरी बुझ्ने हो भने त यस संसारमा तनाव नभएका व्यक्ति को नै होला र ? के त्यसो भए हामी सबै पागल हौं त ? के यो पागलको बस्ती हो र ?

मनोविज्ञानको अनुसार प्रयासपछिको असफलता, समाजले कोट्याइरहने विफल्ता, कमजोरीहरु, दाज्ने प्रवृति, अनिश्चित भविष्य, कम आत्मबल, निराशापन, कमजोर मनोबल, अरु सामु आफूलाई प्रस्तुत गर्न नसक्नु, आर्थिक अवस्था, सामाजिक तुलना, भेदभाव, जिम्मेवारीबहन गर्न नसक्नु, पारिवारिक प्रेसर, राजनीतिक अस्थिरताको प्रभाव इत्यादीले मानिसको मनशायमा गहिरो प्रभाव पारिरहेको हुने र यसबाट पन्छिन उसले मृत्यु रोज्दछ भनिएको छ । डिप्रेसन, एन्जाइटी, हालुसिनेसन, आघात, अत्यधिक सोचहरु मानसिक रोग अन्तर्गत पर्दछन् ।

समाजको चर्को टिका–टिप्पणीले मानिसको मस्तिष्कलाई विस्तारै घोत्लिरहेको हुन्छ । जसको नतिजा स्वरुप व्यक्तिको दिनचर्या, हाउभाउ र व्यवहारमा फरक आउन थाल्छ । कोही व्यक्ति पातलो भए ‘खान दिँदैनन् ?, डाइट किन गरेको ?, असुहाउदिलो’ भनिन्छ भने मोटोलाई ‘धेरै खान हुँदैन, डाइट गर, घिनलाग्दो’, पढ्नेलाई पढन्दास, नपढ्नेलाई उठिवास, छोराछोरीले कमाउन सके संस्कारी, नसके बेकामे–लफङ्गा, कम बोले घमण्डी, धेरै बोले मनपरी इत्यादि जस्ता तुलानात्मक अवस्थाले मानिसको मष्तिष्कलाई अस्तव्यस्त पारिरहेको हुन्छ । विद्यालयमा हेर्ने हो भने जो विद्यार्थी टप १० सम्म पर्दछ उसलाई प्राथमिकता दिइन्छ । नाच, गान र खेलकुद आउनेलाई विशेष ध्यान दिइन्छ, तर जो विद्यार्थी यी बाहिर पर्दछ, कमजोर छ उसलाई प्रोत्साहन दिनुको सट्टा ‘तँ गर्न सक्दैनस्, कमजोर होस्’ भन्ने अभिलाषा दिलाइन्छ । र, ऊ यसलाई सत्य ठानेर स्वीकार्छ र उसको लागि भविष्य छैन भन्ने मानसिकता बनाउँछ ।

अझ एसईई जस्तो सामान्य नतिजामा पनि छोराछोरीको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्ने प्रवृत्तिको जमात बढ्दो छ । यसले ती १६–१७ बर्षका कलिलो विद्यार्थीहरुको मस्तिष्कमा कस्तो प्रभाव पार्छ भनेर कहिल्यै सोच्ने गर्दछौं ? विद्यार्थीको मनोभाव नबुझि ए+, ए ल्याए साइन्स, बी सम्म कमर्श र अरुले आर्टस्, शिक्षा पढ्नु पर्छ भन्ने स्टिरोटाइप सुझाव दिइएको आफैंले अनुभव गरेकी छु । आजकल त विदेश जानेको लर्को कन्सलटेन्सीदेखि त्रिभुवन विमानस्थलसम्म हुन्छ र कारणबस अस्वीकृत भएका, विशेष विद्यार्थीको मनसायमा गहिरो खाडल पारेको हुन्छ । जसले उनीहरुको भविष्य र सपनामा प्रश्न खडा गरिदिएको महशुस गर्दछन् । वाकसभरि सपना र इच्छा भरेर हाँसीखुशी विदा भएका छोरा–छोरी सपना फिजारिन नपाउँदै आफै वाकसमा भरिएर निर्जिव भएर आउँछन् ।

सामान्य ब्लेडले काटेको चोटमा हतारिँदै हेन्डिप्लस लगाउनेले आफूलाई नै मार्न ऊ मष्तिस्कको कुन सामुद्रिक सतहमा पुग्छ होला ? जब व्यक्तिको दिनचर्या, हाउभाउ र व्यवहारमा फरक आउँछ तब उसलाई विशेष सुझाव, साथ र परामर्शको आवश्यकता पर्दछ । धेरै बोल्ने मान्छे कम बोल्ने, कम बोल्ने धेरै हाँस्ने, रमाउने, मन परिरहेको कुरा मन नपर्ने, आलश्यता, रुखोपन, एकोहोरोपन, सामाजिक दुरी, एकान्त मन पराउने, कम निद्रा या व्यक्तिमा आएको अचानक परिवर्तन नै मनोरोग र अस्वस्थ भावनाका लक्षणहरु हुन् ।

मानिसको मष्तिस्क सबैभन्दा संवेदनशील अंग हो । जसबाट हाम्रो शरीरका सम्पूर्ण कार्यहरु सञ्चालन हुन्छन् । अन्तर्राष्ट्रि स्वास्थ्य कोर्प्सले २०१२ मा गरेको मूल्यांकनमा १०.०% (१५.१% महिला र ५.७% पुरुष) आत्माहत्याको व्यापकता भेटिएको छ । उसो त विश्वव्यापी तथ्याङ्कमा हेर्ने हो भने पुरुषको संख्या २.३ ले महिलाको भन्दा बढि भएता पनि नेपालमा विभिन्न सामाजिक समस्याको रापले महिला वर्गमा आत्महत्याको संख्या उच्चमा देखिन्छ । सामान्यरुपमा भावनामा विचलित र मष्तिस्कमा छरपष्ट भएका सवालहरु जसलाई सामाजिक, पारिवारिक अनुकुलता र साइक्याट्रिस, साइकोलोजिस्ट जस्ता मानसिक स्वास्थ्यमा आबद्ध भएका व्यक्तिहरुको परामर्श, सल्लाह र सुझावद्वारा न्यूनीकरण गर्न सकिन्छ ।
तुलानात्मक परिवेशलाई क्रमशः गर्दै लाने, विद्यालयहरुमा समय–समयमा मानसिक समस्याबारे छलफल गर्ने, कार्यक्रम गर्ने, समानतामूलक समाज निर्माण गर्ने, केटाकेटी र युवा वर्गहरुमा सान्दार्भिक सुझाव, सल्लाह र हौसला प्रदान गर्ने जस्ता क्रियाकलापबाट मानसिक रोगलाई निर्मुल गर्न सकिन्छ । मन र मष्तिस्कलाई स्वास्थ्य राख्न व्यायाम, कसरत, ध्यान, रुची लागेको कार्यमा संलग्न हुने हो भने मानसिक तनावबाट पन्छिन् सकिन्छ । मन, मष्तिस्कमा उथलपुथल भएका आशंका, भावना, व्यथा इत्यादि समस्यालाई बिना संकोच दोस्रो व्यक्तिसँग साट्न सक्ने वातावरण बनाउन सम्बन्धलाई कसिलो र फरासिलो पार्ने हो भने कम्तिमा आफ्ना नजिकका सम्बन्धित व्यक्तिलाई आत्महत्य गर्ने स्थितिबाट जोगाउन सकिन्छ । यसै पनि मानसिक स्वास्थ्यमा मानवीय संशाधनको अभाव खड्किन्छ । नेपालमा लगभग दुई सय जना साइक्याट्रिस छन् ।

२०२० को तथ्यांक अनुसार तीन जना बाल साइक्याट्रिस, ३० जना क्लिनिकल साइकोलिजिस्ट, ५० जना साइक्याट्रिस नर्सहरु छन् भने पाँच सय वटा साइक्याट्रिस बेड र स्वास्थ्य बजेटको अनुपातमा मानसिक स्वास्थ्यमा ०.२ % बजेट छुट्याइएको पाइन्छ । जुन नेपालको जनसंख्या अनुसार एकदमै न्यून हो । सामाजिक सञ्जालमा मृत्युपछि सहानुभूति प्रकट गर्ने र केही समयका लागि मानसिक स्वास्थ्यमा धयानाकर्षण गरे झैँ गर्ने त परम्परा जस्तै बनिसकेको छ । अझ डिप्रेसन जस्तो जटिल सम्स्यालाई आजकल कुनै फेन्सी शब्द जसरी जताततै प्रयोग गरिन्छ । बाचुञ्जेल उसलाई उसका क्रुटीहरुको मजाक बनाउँदै खिल्ली उडाइन्छ र त्यसकै भारले ऊ मरेपछि ‘सुन्दर आत्मा, सुन्दर व्यक्ति’ भन्दै प्रतिक्रिया दिन हामी कति पनि लाज मान्दैनौं । आत्महत्या गर्नु बिल्कुलै गलत निर्णय पक्कै हो । तर, आत्माहत्या गर्नेहरुले यो निर्णय लिनुको विवशता, निर्णय हामी किन बुझ्न चाहँदैनौं ?

मानसिक रोग कुनै पनि पागलपन, अपराध, घिनलाग्दो, लाजमर्दो रोग भने हुँदै होइन । कुनै पनि व्यक्ति म डराउँछु, अब आतिन्छ, म निराश हुन्छु, म निदाउदिन भनेर डराउने, आत्तिने, दुःखी हुने या ननिदाउने हुँदैन । यी सबै मानिसको विभिन्न वायोलोजिकल–साइकोलोजिकल–सामाजिक तत्वहरुको ढाँचा हुन् । शरीरमा वायोलोजिकल तत्वमा असर हँुदा जुनै पनि उमेर, जाति, वर्ग या लिङ्गका मानिसहरुलाई मानसिक रोगको विकास हुन्छ । कसैलाई एन्जाइटी, डिप्रेसन, मनोरोग छ भने ‘कति सोचेको, यसलाई चाहिँ के को टेन्सन, भजन सुन, मेडिटेसन गर, टेन्सेन नलिउ’ भन्नु भनेको ज्वरो आको व्यक्तिलाई तातो पानी खा भने जस्तै हो । आजकल हामी ‘होल बडी चेकअप’ गर्न जान्छौं तर मन र मष्तिस्क पनि हाम्रै शरीरको अंश हुन, यसको लागि पनि परामर्श लिनु पर्छ भनेर चाहिँ किन बिर्सन्छौं ?

यो त आफ्नै शरीरको अङ्गमा गरिने सौतेनी व्यवहार जस्तो भएन र ? हामीसँग दिमाख छ, मुटु छ र यो अस्वस्थ हुन सक्छ, रोग लाग्न सक्छ भनेरै साइकोलोजिष्ट÷साइक्याट्रिस, औषधिहरु हाम्रै लागि बनेका हुन् । यसको उपयोग गर्ने र गर्न लगाउने गरौं । किनकि मर्ने कारणहरु एक–दुई वटा होलान्, तर बाँच्ने हजार कारणहरु निस्किन्छन् । समयमै आफू र आफ्नामा आएका मानसिक समस्याको समाधान गरौं र आत्महत्या जस्तो लम्किँदै गरेको समस्यालाई न्यूनीकरण गरौं । लास माथि राखिने फूल र भित्तामा सजाइने समवेदना पत्रले कुनै पनि अर्थ राख्दैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here