परिणाममुखी, सक्षम र विश्वासिलो युवा नेतृत्वको खाँचो

१८ मंसिर २०८०, सोमबार मा प्रकाशित

युवाको मनमा आँट, पाखुरामा तागत, हृदयमा भविष्यप्रतिको आशा हुनुपर्छ । उनीहरू मुलुकका नौनी हुन् । युवा भनेका उदाउँदा सूर्य हुन् । युवासँग स्मृतिभन्दा पनि, अनुभवभन्दा पनि जोशजाँगर, हिम्मत र सुमधुर आशा हुन्छ । युवाका अघि विगतको तुलनामा आगत हुन्छ । पुरातनभन्दा पनि अद्यातन, रुढीवादीभन्दा पनि अत्याधुनिक सोच युवाका मूल शक्ति हो । युवा भनेको शारीरिक उमेर मात्र होइन, यो मानसिकता, सोच, दृष्टिकोण, कार्यसम्पादन, कार्यकुशलता र क्रियाशीलता पनि हो । सँगसँगै र नेपालभन्दा पनि पछि आधुनिकीकरणमा प्रवेश गरेका चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुर लगायतका मुलुकभन्दा नेपाल पछि पर्नुका अनेकन कारणमध्ये समाज बदल्ने साधन राजनीति सकारात्मक रूपमा बदलिन नसकेकै कारणले हो । संसारका सबै परिवर्तनमा युवा वर्गको ठूलो योगदान छ ।

मुलुकमा आर्थिक परिवर्तनका मुख्य संवाहक हुन सक्ने युवाहरु आज विदेशिन बाध्य छन् । हुन त मुलुकले केही रेमिट्यान्स पाएको होला, परिवारले सामान्य आधारभूूत आवश्यकता परिपूर्ति गर्नसम्म पाएका होलान्, तर वैदेशिक रोजगारको उपलब्धीको तुलनामा त्यसको पीडा कति कहालीलाग्दो छ । धेरै नेपाली युवाका साझा समस्या भनेको बढ्दो वेरोजगारी, वेराजगारी सँगसँगै बढेको दुव्र्यसनीको लहर, बिग्रँदो स्वास्थ्य र असुरक्षित खाद्य समस्या, सामाजिक सञ्जाल वा साइबर अपराधमा संंलग्नता, राजनीतिक अस्थिरता कायम रहनु, मुलुकको राजनीति सुधारिन्छ भन्ने विश्वास नहुनु, नेतृत्व तहमा युवा संलग्नता कम, धेरै कम युवाले मात्र राजनीतिक या सामाजिक अभियन्ताको भूमिका पाउनु, युवा परिचालनमा योजनाविहीनता, युवामाथि कम विश्वास, मनोरञ्जन तथा खेलकुदमा राज्यको कम लगानी, व्यवहारिक शिक्षा र श्रमको सम्मान गर्ने संस्कारको विकासै नहुनु आदि हुन् । तर, युवा सबै युवा सोचका हुँदैनन् ।

राजनीतिशास्त्र धर्मशास्त्र होइन । राजनीतिशास्त्रमा थपे, संशोधन गरे समृद्ध हुन्छ, तर धर्मशास्त्र हुबहु हुन्छ, त्यसैले त्यो जड हुन्छ । धर्मशास्त्रमा सृजनशीलताको गुञ्जायस हुँदैन, तर राजनीतिमा सृजनशीलताका लागि प्रशस्त ठाउँ हुन्छ । पुस्तौंपुस्तासम्म पनि अभ्यासमा रहेको अठारौं शताब्दीमा प्रतिपादित समाजवादी तथा पुँजीवादी चिन्तन अहिले पार्टीहरूको मुख्य राजनीतिक दर्शन बनेका छन् । समाजको रूपान्तरणसँगै बदलिएका जनआकांक्षाको सम्बोधन हुन सकेको छैन । अब परिवर्तन आत्मसात गर्न सक्ने युवाशक्ति राजनीतिको मुख्य बागडोर सम्हाल्ने ठाउँमा आउनुपर्छ भनेर सैद्धान्तिक रूपमा सबैले मानेको विषय हो । शिक्षित नयाँ पुस्ता राजनीतिमा नआउनुको दण्ड यो हुन्छ कि अयोग्य र अशिक्षित व्यक्तिले मुलुकमाथि शासन गर्छन् । आजको समय जटिल समय हो, तर राजनीतिमा आएका युवामा पनि मुलुकको परिवर्तनका लागि ठोस र सकारात्मक चिन्तन विकास हुन सकेको छैन । उनीहरू पनि नेताका दौराका फेरा समातेर सत्ताको कुर्सीमा पुग्न गुटबन्दीमा आशक्त भएर लागेका छन् ।

वास्तवमा यतिबेला व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकका बारेमा सोच्ने नेतृत्व चाहिएको छ । माओत्सेतुङले भनेका छन्– युवा हो यो संसार तिमीहरूको हो, हाम्रो पनि हो, फेरि तिमीहरू कै हो । युवा राजनीतिसँग जोडिएमा मात्र देश विकास हुन्छ । देश बदल्न सक्ने क्षमता युवासँगै छ भन्ने सच्चाइलाई युवा र राज्यले बुझेका दिनमा मात्र मुलुकले कोल्टे फेर्न शुरु गर्नेछ । राजनीतिक क्षेत्रमा पनि युवा नेतृत्व स्थापित हुने हो निश्चय नै मुलुकले काँचुली फेर्ने थियो ।

भनिन्छ, चिन्ताले चितामा पु¥याउँछ, तर सकारात्मक चिन्तनले सम्भावनाका द्वार खोल्दछ । नेपाली युवा हरेक राजनीतिक उपलब्धि र परिवर्तनका संवाहक हुन् । उनीहरूले अब मुलुकको मूल नेतृत्वमा आफूलाई उभ्याउने चिन्तन गर्न आवश्यक छ । केन्द्रीकृत, एकात्मक राजतन्त्र तथा जहानियाँ राणाशासन बिरुद्धको जनजागरण अभियानको शुरुदेखि अहिलेसम्मका परिवर्तनका नाममा भएका विभिन्न क्रान्तिमा युवाको भूमिकाको पुष्टि भइसकेको छ । द्वन्द्वको अवस्थाको अन्त्य भएर शान्तिपूर्ण राजनीतिक धरातलमा मुलुक आइसकेको छ । तर, राजनीति जनता र देशकेन्द्रितभन्दा पनि सत्ताकेन्द्रित हुन थालेको छ । फेरि पनि नेपाली जनता माथि हिंसा थोपर्ने अण्डा कोरल्ने गुँड बनाउन कोशिस भइरहेको छ । पछिल्लो राजनीतिक संस्कार बदलेर वा बदल्न खबरदारी गरेर सम्पूर्ण निकाय सामाजिक, आर्थिक विकासतर्फ उन्मुख हुन नसकेमा र युगको स्पन्दनलाई सुन्न नसकेमा मुलुक कहिल्यै पनि उँभो लाग्दैन । सडक संघर्ष, जनयुद्ध र जनपरिचालनमा मात्र युवाको भूमिका खोजेर हुँदैन, नेपालको विकासमा जल, जमिन, जङ्गल, जनावर, पर्यटनको जति भूमिका छ, त्यसको अपनत्व युवालाई दिलाएर युवा सक्रियता बढाउने सुनौलो अवसर छ यतिबेला । जनसांख्यिक लाभका दृष्टिले पनि युवाहरूको सक्रियता र नेतृत्व दुबै आवश्यक रहेको बेला हो यो । राष्ट्रप्रेमी, सदाचारी, अनुशासित र कर्मठ युवाको खोजी यो मुलुकले गरिरहेको छ तर नेपालमा पढेलेखेर पनि रोजगारी नपाइने, पाइहाले पनि काम गर्दा सम्मानित नहुने, राज्यले सामाजिक सुरक्षाको प्रत्याभूति दिन सक्दैन भन्ने सोचमा रहेका युवा समूह स्वदेशी माटोमा रमाउन सकिरहेका छैनन् ।

मुलुकको अवस्था युवामैत्री छैन । राजनीतिक अस्थिरता, व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव, सम्मानित रोजगारीको अवसरको कमी नेपालका युवाका प्रमुख समस्या र प्रतिकूलताका विषय हुन् । विदेशी भूमिमा गर्ने मिहिनेत र श्रमदान नेपाली भूमिमा गर्ने हो भने यहाँ पनि सम्भावना छ । राज्यले युवाहरुको लागि ठोस नीति तथा कार्य योजना बनाउन सकेको छैन । अवसर यही देशभित्र पनि प्रशस्तै छन् भन्ने कुरा सम्बन्धित पक्षले युवालाई बुझाउन नसकेको पनि यथार्थ हो । देशमा पुरातनवादी सामन्ती सोच, अवैज्ञानिक शिक्षा प्राणालीका कारण नेपाली युवा वर्ग आफ्नो इच्छा शक्ति भए अनुसारको अवसर र सीप अनुसारको रोजगारी र त्यही अनुरूप पारिश्रमिक नपाउँदा बेरोजगार बनिरहेका छन् । राज्यले उत्पादनशील जनशक्तिलाई परिचालन गर्न सकेको छैन । आज देशको दुरावस्थाका कारण नेपाली युवा वर्गको भविष्य अन्धकारमय बनेको छ । परिवार, समाज र राष्ट्रकै राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक रूपान्तरणको मात्र नभएर शोषण, दमन, अन्याय अत्याचार लगायतबाट ग्रसित समाजलाई अँध्यारोबाट उज्यालोतर्फ लैजानका लागि महत्वपूर्ण भूमिका र योगदान गर्न सक्ने युवा वर्गको भविष्य नै दोधारमा छ ।

दिन दुगुणा रात चौगुणाको दरले विदेशिने युवाको सङ्ख्या बढिरहेको छ । वैदेशिक रोजगारमा जाँदादेखिका दुःख र रोजगारका क्रममा भएका पीडाको वर्णनले त एउटा अर्को महाभारत नै बन्न सक्छ । देशमा सङ्घीयता, गणतन्त्र र लोकतन्त्रका लागि लड्ने वा रगत बगाउने, जनतालाई सार्थक जीवन जिउन सिकाउने, लोकतन्त्र र क्रान्तिका लागि छातीमा गोली हाँसी–हाँसी थाप्ने युवावर्गको सपना आज सडकमा असरल्ल छरिएको छ । युवावर्गका लागि राज्यसँग नीति तथा ठोस कार्यक्रम नहँुदा देश झन पछाडि धकेलिएको छ ।

व्यक्तिगत कुण्ठा, लालसा, निराशा, महत्वाकांक्षा, अहम्, आग्रह, पूर्वाग्रहको घेरामा कैद भएको आजको बहस वैचारिक र दार्शनिक पृष्ठभूमिमा उभिएको लाग्दैन । पार्टीहरूभित्रका माथिल्लो नेतृत्वको नाटक मञ्चन हेर्दा यस्तो लाग्छ– अझै पनि नेपालको समग्र सम्पदा र नेपालीको क्षमताको ख्याल राख्दै नेपालीलाई सुन्दर नेपाल निर्माण गर्न प्रशिक्षित गर्ने निस्वार्थ नेतृत्व कस्तो हुन्छ होला ? सबै प्रधानमन्त्रीहरु राजनेता होइनन् । भारतका महात्मा गान्धी, सुवासचन्द्र बोस, नेपालका पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह आदि केही उदाहरणहरु हुन् जो प्रधानमन्त्री वा राष्ट्रपति नभए पनि शीर्ष स्थानमा छन् । २०४६ सालका प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनका मुख्य नेतृत्वकर्ता गणेशमान सिंह त प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरेर प्रधानमन्त्रीको पदभन्दा माथिल्लो व्यक्तित्वको ओज र गरिमा राख्न सफल भएका थिए । तर, आज किन उनकै पार्टी, उनकै सन्तान र नेपालका सबैजसो दलका नेता पदका लागि मरिहत्ते गर्दैछन् ।

लामो समयसम्म अध्यक्ष, महासचिव र प्रधानमन्त्री भइसकेका नेताहरु फेरि अध्यक्ष हुन, प्रधानमन्त्री हुन दोहो¥याएर, तेहे¥याएर मरिहत्ते गदैछन् ? नेपालको संविधान २०७२ ले दिशानिर्देश गरेको समाजवादउन्मुख अर्थतन्त्रको नेपाली खाका कसले कोर्ने हो ? मुलुकको रूपान्तरणका लागि आवश्यक कार्यक्रम, कार्यभार र कार्ययोजना कसले बनाउने हो ? यसका बारेमा युवाहरू चिन्तनमनन गरिरहेका छन् ? राष्ट्रियता, जनतन्त्र र जनजीविकाको लागि सदैव युवाको त्याग र बलिदानलाई उच्च मूल्याङ्कन गर्न आवश्यक छ । नेपालका राजनीतिक आन्दोलन र परिवर्तनका मोर्चाहरूमा युवाको त्याग र बलिदानका आश्चर्यजनक कीर्तिमानहरू जोडिएका छन् । निरङ्कुश पञ्चायत व्यवस्थाबिरुद्धको लडाइँ होस्, दश वर्षे सशस्त्र सङ्घर्ष वा पछिल्लो मधेस आन्दोलन, सबै आन्दोलनमा युवाले आफ्नो व्यक्तिगत जीवन त्यागी राष्ट्रिय स्वार्थको निम्ति हजारौंको सङ्ख्यामा शहिद, घाइते तथा बेपत्ता भएको इतिहास ज्वलन्त छ । समाज विकास निरन्तर गतिमा छ । क्षण–क्षणमा समाज रूपान्तरण भएको छ । समाज रूपान्तरणसँगै समाजका अवयव पनि बद्लिएका छन् । समाज बदल्ने साधन राजनीति पनि क्षणक्षणमा बदलिएको छ ।

यसरी राजनीतिक दर्शनले समयको गति पक्रन सकेकै कारण छिमेकी देश चीन र भारत आज विश्व आर्थिक बजारमा आफूलाई गतिलो रूपमा स्थापित गर्न सकेका छन् । उनीहरु विश्वशक्तिको रूपमा आफूलाई उभ्याउन खोजिरहेका छन् । तर, नेपालमा के भइरहेको छ ? अबको विकल्प भनेको ऊर्जाशील, गतिशील, श्रमशील नयाँ नेतृत्व हो । धेरै युरोपेली मुलुकमा ५० वर्षमुनिका युवा मुख्य नेतृत्वमा पुगेका छन् । युवासँग समाज, मानवजाति र मुलुकको ठूलो अपेक्षा हुन्छ । सोच, चिन्तन, कार्यशैली, कार्यतत्परता र कार्यसम्पादनमै यो कुराले प्रत्यक्ष सकारात्मक प्रभाव पार्दछ । युवा पुस्ताले नेतृत्व गर्न पाउने हो भने मुलुकमा सोच, चिन्तन र कार्यशैलीमा व्यापक फेरबदल आउने निश्चित छ । रुखमा झुण्डिएका लहरा जस्तो गरी पार्टीभित्रका नेताका गुटउपगुटमा तुर्लुङ्ग झुण्डिएर समग्र मुलुकको रूपान्तरणमा सबल, परिणाममुखी, सक्षम र विश्वासिलो नेतृत्व बन्न युवा नेतृत्वलाई सहज हुँदैन ।

तसर्थ राजनीतिमा आउने युवाले दूरदर्शी बनी फराकिलो छाती बनाएर आफ्ना सम्पूर्ण सोच, दृष्टिकोण र विचार बदल्न आवश्यक छ । अबको राष्ट्रिय मुद्दा भनेको आर्थिक क्रान्ति नै हो । मुलुकमा आर्थिक क्रान्तिका लागि नवीन सोच र विचारको आलोकमा राजनीतिको नेतृत्वमा नयाँ पुस्ता र युवा पुस्ताको आगमन जरुरी छ । विचार निर्माणसँगसँगै आर्थिक रूपान्तरण गर्ने दायित्व पनि युवाको हो । ५० लाख युवाले विदेशमा पसिना बगाएर पनि मुलुक बन्दैन, जबसम्म मुलुक स्वालम्बन, स्वाधीन र समृद्धिको मार्गमा लाग्दैन । युवाले सोच्नुपर्ने कुरा यो मूल्यवान जीवन ध्वंश, विनाश, अधोगति, लडाइँ, झगडामा बिताउनु हुँदैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here