प्रादेशिक अस्पतालको ‘बच्चा वार्ड’ मा अनिश्चितकालीन ताला, महिनौंदेखि डाक्टर नहुँदा बिरामी मारमा

0
9

पार्थ मण्डल,
झापा ।

झापा हल्दिबारी गाउँपालिका–२स्थित पाराखोपी निवासी सममाया कर्मकार ९ वर्षीया छोरी अनु कर्मकारको उपचारका लागि महिनाको दुईपटक प्रादेशिक अस्पताल भद्रपुर धाउँछिन् ।

स्थानीय कुमार कार्कीको चिया बगानमा मजदुरी गरी जसोतसो परिवार पाल्दै आएकी सममायाकी छोरी अनुलाई थालेसीमिया अथवा ‘अपुष्ट रक्तकोष’ रगत सम्बन्धी रोग लागेको छ । ५ वर्षको उमेरदेखि अनुलाई थालेसीमिया रोग लागेको हो । उनलाई निरन्तर रगत र अन्य औषधि दिइरहनुपर्छ ।

सोही उपचारको सिलसिलामा छोरीलाई लिएर सममाया मंसीर १३ गते बुधबार बिहान ९ बजे प्रादेशिक अस्पताल पुगेकी थिइन् । उनी छोरीसहित अस्पतालको बच्चा वार्ड पुगिन् । तर, विडम्बना अस्पतालमा साढे ५ महिनादेखि एक जना पनि बालरोग विशेषज्ञ चिकित्सक छैन । बच्चा वार्ड हेर्न बालरोग विशेषज्ञ नहुँदा अनुलाई वार्डमा रहेकी नर्सहरूले रगत चढाई दिइन्, औषधिहरू पनि लेखिदिइन् ।

१२ बेडको बच्चा वार्डमा अनुबाहेक एउटा पनि बच्चा थिएन । सबै बेड खाली थियो । किनभने अस्पताल प्रशासनले मंसीर १४ बिहीबार गतेका दिन बच्चा वार्डको ढोकामा एउटा सूचना टाँसेको थियो । सूचनामा लेखिएको छ– अस्पतालमा हाल बालरोग विशेषज्ञ नभएको र व्यवस्था नभएसम्म बच्चा वार्ड बन्द गरिएको छ । बच्चा वार्ड नै अनिश्चितकालका लागि बन्द रहेको जानकारी सममाया त्यहाँ पुगेपछि थाहा पाइन् ।

‘धन्न नर्सले यहाँ राखेर छोरीलाई रगत चढाइ दिइन्’– सममायाले भनिन्– ‘बच्चा वार्डमा डाक्टर नभएको धेरै समय भयो, छोरीलाई मेडिकल अफिसर र नर्सहरूले जाँचेर औषधि दिन्थे ।’ छोरीलाई बालरोग विशेषज्ञले नजाँचेको धेरै भयो । सरकारी अस्पतालमै डाक्टर नभएपछि म जस्तो गरीब कहाँ जान सक्छ निजी अस्पताल– उनले भनिन्– ‘अब त बच्चा वार्डमा पनि ताला लागिसक्यो, छोरीलाई अब कहाँ लैजानु उपचारका लागि भनेर चिन्ताले सताइरहेको छ ।’ नर्सहरूले यहाँ डाक्टर छैन, अब तपाई धरान घोपा जानु भनिरहेका छन् । ‘धरान जानलाई पैसा छैन, ३०० रुपैयाँ दैनिक ज्याला पाउँछु, यसले खानु कि उपचार गराउनु’– उनले भनिन् । सरकारले पनि गरीब जनतालाई हेर्दोरहेनछ । ‘यत्रो ठूलो सरकारी अस्पतालमा किन डाक्टर पठाउँदैन सरकार ?’– उनले प्रश्न गरिन् ।

कोशी प्रदेश सरकारको मातहत रहेको मेची अञ्चलकै सबैभन्दा ठू्लो एक मात्र सरकारी प्रादेशिक अस्पतालमा असार १ गते बालरोग विशेषज्ञ छैन । अस्पतालको बालरोग विशेषज्ञ दरबन्दी अनुसार ११औं तहमा प्रमुख कन्सल्टेन्ट पेड्रियाटिसियन एक जना, ९ र १०औं तहका कन्सल्टेन्ट पेड्रियाटिसियन दुई जना गरी तीन जनाको स्थायी दरबन्दी रहेको छ । दरबन्दीमा रहेका ११औं तहका बालरोग विशेषज्ञ डा. टंकप्रसाद बाह्रकोटी १२औं तहको अतिरिक्त सचिवमा बढुवा भएसँगै उनी स्वास्थ्य मन्त्रालय सरुवा भएर गइसकेका छन् ।

९ औं कन्सल्टेन्ट पेड्रियाटिसियनमा दुई वर्ष छात्रवृत्ति करारमा नियुक्ति भएका डा. रवीन रेग्मीको पनि अवधि सकिएपछि यहाँबाट नगर अस्पताल बिर्तामोड गइसकेको छ ।

बालरोग विशेषज्ञ नहुँदा मेडिकल अफिसरहरू पारिजा सरकार र विपिन आचार्यले ओपीडीमा बच्चा जाँचिरहेका छन् । बालरोग विशेषज्ञ नहुँदा ओपिडीमा जाँचका लागि आउने बच्चाको संख्या एकदमै घट्दो क्रममा छ । साढे ५ महिनादेखि बालरोग विशेषज्ञ बिना अस्पताल सञ्चालन गरिरहेको अस्पताल प्रशासनले अन्ततः बच्चा वार्डमा ताला नै लगाउनुपर्ने अवस्था आइप¥यो ।

प्रादेशिक अस्पतालमा बालरोग विशेषज्ञका लागि धेरैपटक प्रदेश सरकार समक्ष पहल गरिसकेको बताउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले भने– ‘बालरोग विशेषज्ञ बिना बच्चा वार्ड सञ्चालन गर्न सकिएन, त्यसैले बाध्य भएर बुधबारदेखि सेवा नै बन्द गर्नुप¥यो ।’ अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक नहुँदा सेवा प्रदानमा निक्कै समस्या भइरहेको छ । बच्चा वार्ड बन्द हुँदा गरिबका छोराछोरीलाई समस्या त पर्ने नै भयो । ‘अब यो कुरा कसले बुझ्ने हो, सरकार बुझ्दैन, जनताले दोष जति अस्पताल प्रशासनलाई दिन्छन्’– उनले भने ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयसँग एक जना बालरोग र एक जना फिजिसियन करारमा नियुक्ति गर्न अनुमति माग गर्ने बताउँदै उनले भने– ‘त्यसको लागि पहल गरिरहेका छौँ, त्यसपछि मात्र केही भए पनि सहज हुन्छ ।’ अस्पतालले करिब ४ वर्षअघि नवजात शिशु उपचार कक्ष (एनआइसीयु) का लागि आवश्यक उपकरण खरिद गरेको थियो । एनआइसीयुका लागि कोठाको व्यवस्थापन पनि अस्पताल प्रशासनले गरिसकेको थियो । तर, कोभिड–१९को संक्रमण महामारीको रुपमा फैलिएकोले त्यसबेला अस्पतालले त्यो कोठामा पीसीआर ल्याब सञ्चालन ग¥यो ।

एनआइसीयुका लागि लाखौँ मूल्यमा खरिद गरिएको उपकरणहरू अस्पतालको एउटा कोठामा प्रयोगविहीन अवस्थामा राखिएको छ । अस्पतालमा बालरोग विशेषज्ञ नभएकोले एनआइसीयु कसरी सञ्चालन ल्याउनु– अस्पतालका निमित्त मेसु डा. खड्काले भने– ‘पहिला बालरोग विशेषज्ञ आउनु प¥यो, त्यसपछि एनआइसीयु सञ्चालनका लागि थप मेडिकल अफिसर चाहिन्छ, अनि मात्र त्यो सम्भव हुन्छ ।’ ‘यसको लागि प्रदेश र संघीय दुवै सरकारले चासोका साथ पहल गर्नुपर्ने हुन्छ’– उनले थपे ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिसहित भद्रपुरका जनप्रतिनिधि, सरोकारवाला पक्षहरूले अस्पतालको वर्तमान अवस्थामा बारे खासै चासो नदेखाउँदा अस्पतालको सेवा दिनप्रतिदिन खस्कँदै गएको जनगुनासो बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here