माटोमा अत्याधिक रासायनिक मलको प्रयोग हुँदा अम्लीयपन बढ्यो

0
9

अमित खम्बू,
अर्जुनधारा ।

झापाको अर्जुनधारामा हालै गरिएको माटो परीक्षण शिविरमा कृषकहरुले परीक्षणका लागि ल्याएका अधिकांश माटोमा अम्लीयपन बढी र प्राङगारीक पदार्थ कम रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

“माटो र पानी, जीवनको थालनी” भन्ने मुख्य नारासहित १०औं विश्व माटो दिवसको अवसरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा उक्त शिविरमा गरिएको १०९ वटा माटोको नमूना परीक्षणमध्ये १०३ वटामा अम्लीयपन, ३ वटामा क्षारीयपन र ३ वटामा तटस्थ रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

त्यसैगरी प्राङगारीक पदार्थको मात्रा ६२ वटामा कम, ३५ वटामा मध्यम र १२ वटामा उच्च रहेको छ । सुनसरीस्थित माटो तथा मल परीक्षण प्रयोगशाला र नगरपालिका अन्र्तगतको कृषि विकास शाखाको संयुक्त आयोजनामा दिवसलाई लक्षित गरि कृषकहरुको माटोको अवस्था बारे जानकारी लिने उद्देश्यले मंसीर १७ र १८ गते उक्त शिविरको आयोजना गरिएको थियो ।

गोठे मलको कम प्रयोग, रासायनिक मलको अत्याधिक प्रयोग, कृषि चुनको प्रयोग नहुनु आदि कारणले माटोमा अम्लीयपन बढेको प्रयोगशालाका अधिकृत सन्तोष कट्टेलले जानकारी दिए । माटोमा पीएचको मात्रा ६.५ देखि ७.५ सम्म र प्राङगारिक पदार्थको मात्रा २.५ भन्दा माथि हुनुपर्ने अधिकृत कट्टेल बताउँछन् ।

त्यस्तै परीक्षण गरिएको माटोमा नाइट्रोजन र फसफोरस मात्रा पनि कम भएको पाइएको छ । जसअनुसार नाइट्रोजनको मात्रा ६२ वटामा कम, ३६ वटामा मध्यम र ११ वटामा उच्च तथा फसफोरसको मात्रा ८२ वटामा कम, १० वटामा मध्यम र १७ वटामा उच्च रहेको छ ।

यता पोटासको मात्रा भने ३१ वटामा कम, ५८ वटामा मध्यम र २० वटामा उच्च पाइएको छ । माटोमा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा कम हुँदा माटोको गुणस्तरमा ह्रास आउने तथा सबै प्रकारको बाली उत्पादनमा असर पुग्ने शाखाकी प्रमुख एञ्जिला बेडारीले बताइन् ।

उनका अनुसार त्यसको लागि कृषकहरुले रासायनिक भन्दा पनि अत्याधिक रुपमा प्राङगारीक मलको प्रयोग गर्नुपर्ने सुझाइन् । शिविरबाट आएका समस्याहरु समाधान गर्न शाखाले तत्काल कार्यक्रम निर्माण गरि पहल गर्ने प्रमुख बेडारीले प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

प्रयोगशालाका निमित्त प्रमुख दिग्मबर यादवको अध्यक्षता र प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ७० जना बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तामाङसँगै खाद्य सुरक्षा तथा अनुगमन महाशाखाकी प्रमुख डा.दीपा दिवाली, नगर सभा सदस्य सरु बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, कृषकहरु अमरदीप भेटवाल, लालबहादुर दाहाललगायतले बोलेका थिए ।

सोही कार्यक्रममा कृषकहरुलाई माटो परीक्षणको हेल्थ कार्ड पनि वितरण गरिएको थियो । प्रयोगशालाका अधिकृत कट्टेलले दिवसको औचित्यसँगै स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन उर्मिला अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here