गुफाडाँडाः सूर्योदय हेर्ने नयाँ गन्तव्य

0
7

बिनोद पाण्डे,
बिर्तामोड ।

इलाम उत्कृष्ट पर्यटकीय गन्तव्यहरू भएको जिल्लामा पर्दछ । इलाममा खासगरी सूर्योदय हेर्नका लागि दर्जनौं डाडाँहरु रहेका छन् ।

इलाममा मुख्य गरी राम्रोसँग सूर्योदय हेर्नको लागि सन्दकपुर, श्रीअन्तु डाँडा प्रमुख स्थलहरू हुन् भने यस्तै सूर्योदय अवलोकन गर्नको लागि विभिन्न स्थानमा अन्य डाडाँहरु पनि रहेका छन् । तिनको उचित प्रचार हुन नसक्दा पर्यटकहरू जानकार छैनन् ।

उत्तर दक्षिण मेची राजमार्ग छोडेर सूर्योदय हेर्न सकिने डाँडाहरु पुग्न कतै घण्टौँ लाग्छ भने कतै ४ देखि ५ किलो मिटर दूरी पार गरेर पुग्नुपर्ने हुन्छ । इलाम नगरपालिका वडा नम्बर ३ चैते भन्ने ठाउँमा रहेको गुफाडाँडा भने १ किलो मिटर दूरीभित्रमा पुग्न सकिन्छ । अत्यन्तै रमणीय सूर्योदय हेर्न सकिने गुफाडाँडाको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ ।

अम्रिसो, इस्कुस, अलैँचीलगायतका वालीनालीहरु अवलोकन गर्दै करिव १० मिनेटको उकालो चढ्दा गुफाडाँडा सहजै पुग्न सकिन्छ । राजमार्गबाट नजिकै २९ सय मिटरको उचाइ गुफाडाँडा क्षेत्रमा अलौकिक विशेषताहरू छन् । त्यहाँ सूर्योदय मात्र होइन सूर्यास्त झन् राम्रोसँग देखिन्छ । सूर्यास्तको बेला छरिएको पहेँलपुर सूर्यको प्रकाशले राँके बजार, पौवा भन्ज्याङ माथिको डाँडा, पाटेनागी लगायतका क्षेत्रहरू चम्किने गरेको छ । गुफाडाँडाबाट तराईका शहरहरू दमक, उर्लाबारी, इलामको रवि, तेह्रथुम लगायतका बजारहरू प्रष्टसँग देख्न सकिन्छ ।

चैते गाउँ सुनुवार (मुखिया) जातिको बाहुल्य रहेको गाउँ हो । लगभग एकीकृत रुपमा १ सय ५० भन्दा धेरै मुखिया जातिको घरहरू रहेका छन् । सनातनी, प्रकृति पूजक जाति मुखिया आफ्नै भाषा संस्कृति भएको जाति हो । चैतेमा सुनुवार जातिको अध्ययन गर्न जाति, संस्कृति अध्ययनकर्ताहरू पुग्ने गरेका छन् ।

चैते गाउँ कृषिमा आधारित गाउँ हो । मौसम तथा बेमौसमी तरकारी फलफूल उत्पादनको ठूलो हिस्सा ओगट्दै आएको चैते गाउँले कृषि तथा पशुपालन व्यवसायमा क्रान्तिको बिगुल फुकिरहेको छ । कृषि वन वातावरणको अध्ययनको लागि पनि उपयुक्त स्थानमा पर्छ चैते गाउँ ।

चैते गाउँ, गुफाडाँडा कहाँबाट पुग्न सकिन्छ ?

झापा र ताप्लेजुङ जिल्लालाई जोड्ने सुदूरपूर्वको मुख्य पहाडी मार्ग हो– मेची राजमार्ग । झापाको चारआलीबाट करिव १५० किलोमिटरको दूरीमा पुग्न सकिन्छ गुफाडाँडा । मोटरसाइकलको यात्रा गर्दा चारआलीबाट करिव ३ घण्टा र चारपाङ्ग्रे सानो सवारीबाट भने करिव ३ घण्टा ३० मिनेटमा गुफाडाँडा पुग्न सकिन्छ ।

चारआलीबाट उत्तरमा पर्ने बुधबारे, कुटीडाँडा, कन्याम, फिक्कल, इलाम बजार, बिव्ल्याँटे, नेपालटार, रक्सेबजार कटेपछि बाघखोर बजार आउँछ । बाघखोर बजारदेखि करिव १ किलो मिटर अगाडि पुगेपछि दायाँतर्फ जाने कच्ची बाटो भेटिन्छ । त्यही बाटोबाट १ किलो मिटरको दूरीमा चैते गाउँ पुगिन्छ । चैतेमा पुगेपछि फुफाडाँडा आँखाकै अगाडि ठडिएको भेटिन्छ ।

चैते गाउँ गुफाडाँडा पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । कच्ची नै भएपनि बाटोको स्तरोन्नति गरिएको छ । विद्युत्, टेलिफोन, इन्टरनेट र खानेपानीको राम्रो प्रबन्ध भएको चैतेमा डीपी मुखियाले अनौपचारिक रुपमा होमस्टे सेवा सञ्चालन गरेका छन् । चैतेमा आउने आगन्तुकहरूलाई सेवासत्कार गर्न चैतेका दर्जनौँ घर परिवारका सदस्यहरू आतुर रहेको वडाध्यक्ष हेमन मुखियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here