झापा लिग: अर्जुनधारा नगरपालिका सेमिफाइनलमा प्रवेश

२० मंसिर २०८०, बुधबार मा प्रकाशित

भद्रपुर।

बिर्तामोड नगरपालिकाविरुद्ध शानदार खेल खेल्दै अर्जुनधारा नगरपालिका ओम साई पाथिभरा हस्पिटल प्रथम अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा अर्जुनधाराले बिर्तामोडमाथि निक्कै नै दबाब राख्दै फराकिलो जित दर्ता गरेको हो । खेलको अधिकांश समय अर्जुनधाराले गोल नियन्त्रणमा राखेको थियो ।

अर्जुनधाराले बिर्तामोडलाई ५–० गोल अन्तरले हराएको हो । खेलको १९ औँ र २८ औँ मिनेटमा निखिल तामाङले गोल गरे । त्यस्तै, ४२ औँ मिनेटमा सुवासचन्द्र लिम्बू, ४७ औँ मिनेटमा राजेश दाहाल र ७४ औँ मिनेटमा प्रतिक कन्दङवाले गरेका थिए ।

खेलको प्लेयर अफ दि म्याच भएका अर्जुनधाराका निखिल तामाङ भए । उनलाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधाराका नगरप्रमुख बलदेवसिंह गोम्देन, झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी लगायतले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

त्यस्तै, आजको अन्तिम क्वार्टर फाइनल खेलमा मेचीनगर नगरपालिका विजयी भएको छ । जितसँगै मेचीनगर पनि सेमिफाइनल प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले अर्जुनधाराको सामना गर्नेछ ।

मेचीनगरले गौरादह नगरपालिकालाई २–१ गोल अन्तरले हराएको हो । खेल अवधिभर दुवै पालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो । रोमाञ्चक खेलको ३८ औँ मिनेटमा मेचीनगरका अजय राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ६५ औँ मिनेटमा गौरादहका पासाङ लामाले गोल गर्दै खेल बराबरीमा फर्काएका थिए । तर, खेलको ७३ औँ मिनेटमा मेचीनगरका लागि अजय राजवंशीले अर्को गोल थपेपछि मेचीनगरको सेमिफाइनल यात्रा टुंगो लागेको थियो ।

खेलको प्लेयर अफ दि म्याच मेचीनगरका अजय राजवंशी भए । उनलाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठ, नेपाल भारत मैत्री संघका अध्यक्ष प्रदिपमणि रेग्मीले नगद दुई हजार र ट्रफी प्रदान गरे ।

फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगिताको दुवै सेमिफाइनल खेल मंसिर २२ गते र फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २ हजार रुपैयाँ पाउने छन् । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट प्रशिक्षक, उच्च गोलकर्ता र उदीयमान खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here