शब्दचित्र : मदन ढकाल

२३ मंसिर २०८०, शनिबार मा प्रकाशित

२०७३ सालको मंसीर २३ गते बिहीबार राति ११ः४० बजे । हाम्रा आदरणीय अग्रज अभिभावक मदन ढकाल कहिल्यै नफर्किने यात्रामा जानुभएको दिन । भौतिकरुपमा उहाँसँग वियोग भए पनि नेपाली पत्रकारिता र समाजमा उहाँ सदैव जिवित हुनुहुन्छ । सबैका प्रिय ‘मदन सर’लाई मदन ढकाल, गाजले बाजे, कुलावंशी साहित्यालंकार, एम.उपमन्यू नामले समेत चिनिन्छ । उहाँको खास नाम मदनकुमार ढकाल भए पनि मदन सरले नै उहाँ सबैको मनमा बस्नुभएको थियो । कुनै पनि रचनात्मक कार्य गर्नका लागि उहाँ सबैलाई हौसल्ला दिनुहुन्थ्यो । अघि बढ्न प्रेरणा दिनुहुन्थ्यो । उहाँको व्यक्तित्व, प्रतिष्ठालाई धेरैले आदर्श मान्ने गर्छन् । कामसँगै पढाईमा अग्रसर हुन उहाँले मलाई सदैव झक्झकाइरहनुभयो । उहाँकै प्रेरणाले धेरै पत्रकार भए, विद्यालय र कलेजमा उहाँबाट शिक्षा आर्जन गरेकाहरु आज समाजका विभिन्न तह र राज्यको उपल्लो निकायमा समेत पुगेका छन् । उहाँ आदर्श गुरु, अभिभावक हुनुहन्थ्यो । मधुमेह, उच्च रक्तचाप, मृगौला जस्ता रोगसँग लामो र कठोर संघर्ष गर्दागर्दै फोक्सोको निमनिया समेत भएपछि ६४ वर्षको उमेरमै उहाँले भौतिक शरीर त्याग गर्नुभयो । भौतिकरुपमा स्व. माता तुलसादेवी र पिता परशुराम ढकालका पहिलो सन्तानका रुपमा २००९ साल जेठ १९ गते तत्कालीन अनारमनी– १, राइटर गाउँ, खोपबाडीमा उहाँको जन्म भएको थियो ।

नागरिकतामा भने उहाँको जन्म मिति २००६ साल उल्लेख छ । उहाँपछि दोस्रो, तेस्रो सन्तानकोरुपमा क्रमशः मोहन ढकाल, लक्ष्मण ढकाल, भरत ढकाल, दुर्गा ढकाल, अरुण ढकाल र सुरेश ढकालको जन्म भयो । जसमध्ये भरतको यसअघि नै निर्माणाधीन घरको माथिल्लो तलामा पानी लगाउने क्रममा अकल्पनीयरुपमा झरेर निधन भयो । २०३२ सालमा सावित्रा खनालका साथ विवाह बन्धनमा बाधिनुभएका मदन सरका चार छोरी र एक छोरा हुनुहुन्छ । पाँच सन्तानमा क्रमशः सीमा, उमा, सुष्मिता, सिर्जन र मनिषा हुनुहुन्छ । शनिश्चरेको स्थायी बसोबास छोडेर ढकाल परिवार २०२८ सालमा तत्कालीन अनारमनी गाउँ हालको बिर्तामोड झरेको हो । नेपाली भाषामा स्नातकोत्तर (एमए) गर्नुभएका ढकालले भारतको उत्तरबंग विश्वविद्यालयबाट नेपाली, समाजशास्त्र र शिक्षा विषयमा स्नातकको अध्ययन गर्नुभएको थियो । त्यहाँ परीक्षामा सर्वोच्च स्थान प्राप्त गर्दै उहाँ साहित्य अकादमी दिल्लीबाट मान्यता प्राप्त नेपाली साहित्य प्रचार समिति शिलगढी मार्फत् साहित्यालंकार, लेखनाथ पुरस्कार पाउन सफल हुनुभयो ।

एमएको अध्ययन उहाँले त्रिभुवन विश्वविद्यालयबाट पूरा गर्नुभएको हो । २०२५ सालमा एसएलसी उत्तीर्ण गरेपछि उहाँलाई औंलो उन्मुलनमा जागिर मिल्यो । जागिरकै दौडानमा तालिमका लागि काठमाडौं जानुपर्ने भएपछि परिवारका सदस्यहरु ब्यागसहित उहाँको विदाइमा जुटे । त्यहीबेला तालिममा जानु नपर्ने पत्र प्राप्त भएपछि ब्याग त्यही छोडर उहाँ केही वर्ष बेपत्ता हुनुभयो । सुनसरीको बराह क्षेत्र चकरघट्टीमा शिक्षणमा संलग्न हुनुभएको पछि थाह भो । सोही बेला उहाँ त्यहीं गुरिल्ला तालिम लिन पुग्नुभएछ । प्रहरीले उहाँलाई खोजी गरिरहेको थियो । त्यहीबेला भागेर राति घर आइपुग्नु भयो । पिता परशुरामले राति नै भारतको शिलगढी पु¥याउनुभयो । शिलगढीमा उहाँले कलेजमा अध्ययन गर्नुभयो । त्यहाँबाट फर्केर पछि शनिश्चरे माविमा पाँच–छ वर्ष र भद्रपुर माविमा दुई वर्ष जति शिक्षण सेवा गर्नुभयो । दश कक्षा पढ्दापढ्दै शनिश्चरे माविमा उहाँले नौ कक्षाका विद्यार्थीलाई पढाउनु हुन्थ्यो । सरस्वतीले उहाँमा बास गरेकी थिइन् । पढाइमा उहाँ तेज हुनुहुन्थ्यो । तत्कालीन जिल्ला शिक्षा अधिकारीले उहाँलाई जागिर स्थायी गरिदिन्छु भन्दा पनि शिक्षकको जागिर छोडेर उहाँले सबै समय पत्रकारिता र साहित्यलाई सुम्पनुभयो । कलेज पढ्दाताकै उहाँ साहित्य र पत्रकारितामा प्रवेश गरी सक्नुभएको थियो । पछि तत्कालीन गोमेन्द्र उच्च मावि बिर्तामोड (हाल गोमेन्द्र बहुमुखी महाविद्यालय)मा कक्षा ११ र १२ मा केही वर्ष पत्रकारिता विषय अध्यापन गराउनुभयो ।

२०२८ सालदेखि शैक्षिक क्षेत्रमा प्राविदेखि क्याम्पस स्तरसम्मको अध्यापन गरेर शिक्षा सेवामा उहाँले योगदान पु¥याउनुभयो । २०२४ सालदेखि नै मदन सर साहित्यिक पत्रिकाको सम्पादनमा लागि सक्नुभएको थियो । २०२८ सालदेखि विवेचना अर्ध साप्ताहिक पत्रिकाको दार्जिलिङ प्रतिनिधि भई पत्रकारितामा संलग्न रहनुभयो । जतिबेला उहाँ उच्च शिक्षा अध्ययनको सिलसिलामा भारतमै बस्नुभएको थियो । मदन सर विभिन्न सामाजिक, शैक्षिक, साहित्यिक र पत्रकारिता सम्बन्धी संघ–संस्थाहरुमा स्थानीयदेखि केन्द्रीय स्तरसम्मको जिम्मेवारी कुशलरुपमा सम्हाल्न पुग्नुभयो । उहाँलाई प्रेस काउन्सिल नेपालले विषयविज्ञ प्रशिक्षकको रुपमा विभिन्न क्षेत्रमा प्रशिक्षणका लागि समेत जिम्मेवारी दिएको थियो । जेसीजको समेत उहाँ कुशल प्रशिक्षक हुनुहुन्थ्यो । ‘भत्किएको पर्खाल’ उहाँको पहिलो प्रकाशित कविता हो । जुन कविता २०२४ सालमा शनिश्चरे हाई स्कूलको मुखपत्र उषा पत्रिकामा प्रकाशित भएको थियो । साहित्यिक कृति, सिर्जना र पत्रकारितामा उहाँले लामो अनुभव सँगाल्नुभएको छ । काठमाडौंको गरिमा, शिलगढीको बाडुली, आजभोलि दैनिक, सिलाङको सुमनमा उहाँका थुपै्र रचना प्रकाशित भएका छन् । विवेचना, विश्वदीप, जूही, सिरबिन्दु, ध्वनी, साहित्यिकसँगै काठमाडांैको समिक्षा, स्वतन्त्रता, जन स्वतन्त्रता, नयाँ सडक, नेपाली, राष्ट्र पुकार, देशान्तर, सुरुची, नयाँ किरण, करेन्टमा समेत उहाँका रचना छापिए । हिमालय टाइम्स, नेपाल समाचारपत्र, स्पेस टाइम्स, तरुणसँगै झापाका आलोक, युगज्ञान, विवेचना, सूर्याेदय, जनध्वनी, पूर्वाञ्चल जस्ता चर्चित पत्रिकामा कविता, कथा, समिक्षा, निबन्ध, व्यंग्य, समसायिक राजनीति तथा सामाजिक विषयका मन छुने लेख, रचना प्रकाशित भएका छन् ।

कृति प्रकाशन गर्ने उहाँको सपना अधुरै रह्यो । कविता संग्रह, कथा संग्रह र सिके प्रसाईं (भरतबाबु)को स्मृति यात्रा नामक तीन वटा कृति उहाँका प्रकाशोन्मुख थिए । उहाँले अर्को काम पनि अधुरै छोड्नु भयो । त्यो हो, स्व.गणेशबहादुर प्रसाई र नरेन्द्रनाथ बाँस्तोलाको स्मृति ग्रन्थ प्रकाशनका निम्ति काम भइरहेको र उहाँ त्यसको सम्पादकमा रहनुभएको थियो । त्यसमध्ये प्रसाई स्मृति ग्रन्थ प्रकाशित भए पनि उहाँले सेवा गर्न सक्नुभएन । सम्पादन तथा अनुवादमा समेत उहाँको लामो अनुभव छ । २०२४ सालदेखि तत्कालीन शनिश्चरे माविको वार्षिक मुखपत्र ‘उषा’ दोस्रो अर्चनाको सम्पादन सहयोगी भई अतिरिक्त कार्यकारी सम्पादकसम्मको जिम्मेवारी तीन अंकसम्म निर्वाह गर्नुभयो । भारत शिलगढीको देवकोटा संघले प्रकाशित गरेको साहित्यिक त्रैमासिक बाडुलीको सम्पादकीय सहकर्मीको जिम्मेवारी, दोस्रो–सातौं हिक्कासम्म उहाँले सम्हाल्नुभयो । विवेचना साहित्यिक मासिकको सम्पादन सहयोगी समेत रहनुभयो । विश्वदीप साहित्यिक मासिकको प्रथमदेखि सोह्रौ अंकसम्म मदन सरले प्रधान सम्पादकको जिम्मेवारी निर्वाह गर्नुभयो । डा. पारशमणि प्रधान र शिवकुमार राई सम्पादक रहेको भारतीय नेपाली दैनिक हिमालचुली पूर्णाङ्गको उहाँले सम्पादन सहयोगीको रुपमा सेवा गर्नुभयो भने भारतकै अर्को चर्चित नेपाली दैनिक आजभोलिमा कार्यकारी सम्पादकको रुपमा सेवा गर्नुभएको थियो । दिवंगत हुँदाको बखतसम्म उहाँ प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पूर्वाञ्चल दैनिकको प्रधान सम्पादक हुनुहुन्थ्यो । संस्थापक सम्पादक गोविन्दचन्द क्षेत्रीले अस्वस्थताका कारण करिब २६ महिना विदा बस्नुभयो । त्यसबीचमा पूर्वाञ्चल दैनिकको सम्पादकको जिम्मेवारी मदन सरले सम्हाल्नुभयो । पछि गोविन्द सर काममा फर्कनुभयो, मदन सरले सम्पादकको जिम्मेवारी उहाँलाई सुम्पेर विदा हुनुभयो । समयको अन्तरालसँगै सम्पादक गोविन्द सरसहित डेस्कमा काम गर्ने सबै पत्रकारले सामुहिक राजीनामा दिएपछि आन्तरिक समस्याका कारण प्रकाशन गृह केही समय बन्द भयो । करिब तीन महिना प्रकाशन अवरुद्ध बन्यो ।

प्रकाशक भरतलाल गिरीको पहलमा गोपाल गिरी, लक्ष्मण ढकाल, एकराज गिरी र इन्द्रसिंह राजवंशी भएर पुनः पूर्वाञ्चललाई सुचारु भयो । गोपाल सरलाई भद्रपुरबाट धाउन गाह्रो भएपछि पूर्वाञ्चलमा सम्पादकको जिम्मेवारी सम्हाल्न पुनः मदन सरको आगमन भयो । त्यसअघि मदन सर विवेचना दैनिकमा समेत आबद्ध रहनुभयो । पूर्वाञ्चलमा सम्पादक र प्रधान सम्पादक हुँदै मदन सरले अनवरत् करिब डेढ दशक सेवा पु¥याउनुभयो । सम्पादनकै प्रसंगमा उहाँले योगी नरहरिनाथ ः जीवन अनि कर्म (अनुसन्धात्मक कृति)को सम्पादक, मेची अञ्चलका कविताहरुको संकलन मेची किनारका कविताहरुको सम्पादक, मेची अञ्चल खेलकुद विकास समितिको खेलकुद स्मारिका र चिया सम्बन्धी अनुसन्धात्मक कृति ः चिया खेतीको सम्पादक तथा प्रधान सम्पादकको जिम्मेवारी समेत उहाँले पूरा गर्नुभयो । उहाँको पत्रकारिता र साहित्यमा रहेको तिक्ष्ण क्षमताकै कारण योगी नरहरिनाथले उहाँलाई ‘सम्पादक शिरोमणि’को उपाधि समेत दिनुभएको थियो । मदन सर योगी नरहरिनाथ अन्तर्राष्ट्रिय परिषद्को महासचिव पनि हुनुहुन्थ्यो । दर्जनौं संघ–संस्थामा रहेर उहाँले सेवा पु¥याउनुभएको छ । युवाको व्यक्तित्व र नेतृत्व विकास गर्ने जेसीज जस्तो अन्तर्राष्ट्रिय संस्थामा लामो समय रहेर विभिन्न पदमा सेवा पु¥याउनुभयो । वीरता जेसीजको संस्थापक महासचिव, शाखा अध्यक्ष हुँदै नेपाल जेसीजको विभिन्न पदमा जिम्मेवारी लिनुका साथै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षसम्म बन्नुभएको थियो । उहाँ मानव सेवामा समर्पित संस्था रेडक्रसमा समेत आबद्ध हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघको केन्द्रीय सभासद् र झापा शाखाको सदस्य समेत रहनुभएका मदन सर महासंघको पूर्व केन्द्रीय सदस्य (दुई कार्यकाल), नेपाल श्रमजीवी पत्रकार संघको केन्द्रीय समितिमा आबद्ध, नेपाली साहित्य विकास समिति मेची, देवकोटा संघ शिलगढी, आदर्श नव युवाक्लव शनिश्चरेमा समेत आबद्ध हुनुहुन्थ्यो । उहाँ सिके चिन्तन प्रतिष्ठान झापा बिर्तामोडको कार्यसमिति सदस्य, युनिभर्सल पिस फेडेरेसनबाट शान्ति दूतको रुपमा समेत विभूषित हुनुहुन्थ्यो । शान्ति दूतहरुको मेची अञ्चल समितिको संयोजकको जिम्मेवारी समेत उहाँले सम्हाल्दै आउनुभएको थियो । सिके प्रसाईं (भरतबाबु)सँग निकट रहेर उहाँले समाज परिवर्तनका लागि योगदान गर्नुका साथै सिके प्रसाईका विचारलाई लेख, रचना मार्फत् आम सर्वसाधारणमा पु¥याउने कार्यमा मदन सरको महत्वपूर्ण भूमिका थियो ।

पत्रकारिता, साहित्य, शिक्षा र सामाजिक क्षेत्रमा उहाँले पु¥याएको योगदान सबैका लागि अनुकरणीय छ । उहाँको योगदानको कदर गरेर दर्जनौं संघ– संस्थाले सम्मान, पुरस्कार र अभिनन्दन गरेका छन् । पत्रकार महासंघबाट मोतिराम पत्रकारिता पुरस्कार, श्यामकृष्ण स्मृति पुरस्कार मेची, श्यामकृष्ण पत्रकारिता पुरस्कार झापा, पिताम्बर–खिलेश्वरी पत्रकारिता पुरस्कार विराटनगर मदन सरलाई प्रदान गरिएको थियो । त्यस्तै विरगञ्जका पत्रकार गोपालचन्द्र गौतम स्मृति प्रतिष्ठानले गोतामे पत्रकारिता पुरस्कार, हिमशिखर टेलिभिजनले स्थापना गरेको पत्रकारिता पुरस्कार समेत उहाँलाई प्रदान गरिएको थियो । त्यस्तै देवीप्रसाद उप्रेती निजानन्द पत्रकारिता पुरस्कार, अमेरिकाको टेक्सासमा बस्ने बिर्तामोडका पाठक परिवारद्वारा स्थापित हेम–सरिता पत्रकारिता पुरस्कार, फोनिज झापाले स्थापना गरेको डिकमान विरही स्मृति पत्रकारिता पुरस्कार समेत मदन सरले प्राप्त गर्नुभएको थियो । त्यस्तै भारतीय नेपाली पत्रकारितामा विशिष्ठ योगदान पु¥याएवापत शिलगढी–बागडोग्रा जुनियर च्याम्बरले मदन सरलाई ‘न्यू म्यान प्राइड अफ शिलगढी’ (शिलगढीको गौरव एवार्ड) प्रदान गरेको थियो । शनिश्चरे माध्यमिक विद्यालय स्थापनाको स्वर्ण जयन्ती र हिरक जयन्ती, देवकोटा स्मृति भवनको स्वर्ण जयन्तीको अवसरमा उहाँलाई सम्मान र अभिनन्दन गरिएको थियो ।

धरमपुरको नवरंग प्रतिष्ठानले समेत उहाँलाई अभिनन्दन गरेको थियो । अन्य थुपै्र संघ–संस्थाले विभिन्न समयमा पुरस्कार, अभिनन्दन र सम्मान प्रदान गरेका छन् मदन सरलाई । पत्रकारिता र साहित्यिक यात्राकै क्रममा उहाँले विश्वका विभिन्न मुलुकको भ्रमण समेत गर्नुभएको थियो । पत्रकार र साहित्यकारको रुपमा उहाँको प्रतिभाशाली व्यक्तित्वकै कारण मदन सर भारत, बंगलादेश, भुटान, पाकिस्तान, टर्की, पोल्याण्ड, चेकोस्लाभिया (संयुक्त हुँदा), जर्मनी, चीन, थाइल्याण्ड, मलेसियाको भ्रमण गर्नुभयो । सामाजिक संघ–संस्थामा रहेर गरेको योगदानका कारण पनि उहाँ विदेश भ्रमणमा पुग्न सफल हुनुभएको थियो । शब्दचित्रमा मदन सरको जीवन र योगदानको चर्चा गर्ने हो भने ठूलो आकारको पुस्तक नै बन्छ । तर, संक्षेपमा उहाँको जीवनलाई आमपाठकमाझ प्रस्तुत गर्ने प्रयत्न मात्र गरिएको हो । उहाँको पूर्वाञ्चल प्रतिको योगदान र विभिन्न क्षेत्रमा गर्नुभएको योगदान सबैका लागि प्रेरक, अनुकरणीय छ । उहाँको जीवनबाट प्रेरणा लिएर हामी अग्रसर हुन सक्यौं भने समाजमा सकारात्मक परिवर्तनका साथै उहाँप्रतिको श्रद्धा सार्थक हुन्छ । अन्त्यमा मदन सरको आत्माको चिरशान्तिको कामनासहित भावपूर्ण श्रद्धाञ्जलि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here