पैयौंबोटेका विद्यार्थीलाई न्यानो कपडा

0
8

युद्धबहादुर बोहोरा,
पाँचथर।

न्यानो कपडा (स्कूल स्वीटर तथा पोशाक) पाएपछि फाल्गुनन्द गाउँपालिका–४ पैयौंबोटे आधारभूत विद्यालय चिलिङदीनका विद्यार्थीहरु प्रसन्न भएका छन् । तीन परिवारले स्थापना गरेको अक्षयकोष मार्फत विद्यालयमा एक कार्यक्रमका बीच जाडोको समयलाई मध्यनजर गर्दै विद्यार्थीलाई स्वीटर र पोशाक वितरण गरिएको हो ।

स्थानीय सन्छरानी चेम्जोङ (नेम्बाङ)को छोरा स्व.नयन नेम्वाङको स्मृतिमा परिवारले २० हजार रुपैयाँ, शुक्रध्वज नेम्वाङको छोरी रक्षा नेम्वाङको स्मृतिमा २० हजार रुपैयाँ र स्व.पञ्चनाथ नेम्वाङको स्मृतिमा ३० हजार एक सय २५ रुपैयाँसहित जम्मा ७० हजार एक सय २५ रुपैयाँको विगत केही वर्षदेखि अक्षयकोष स्थापना भएको विद्यालयका शिक्षक गोविन्द भट्टराईले जानकारी दिए । उक्त रकमको ब्याजबाट र बाँकी अपुग रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष साथै विद्यालयको कोषबाट खर्च गरिएको उनले बताए ।

विद्यार्थीलाई नियमित विद्यालय आउन र हौसला प्रदान गर्ने उद्देश्यसहित शैक्षिक उन्नतीमा सहयता पु¥याउने उद्देश्यले गरीब, विपन्न तथा जेहेन्दार विद्याथीलाई कपडा वितरण गरिएको विद्यालयका प्रधानध्यापक दिलबिक्रम चेम्जोङको भनाइ छ । २०४१ सालमा स्थापना भएको यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई सकेसम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको र आगामी दिनमा पनि निरन्तर उन्नती गर्न आम सरोकारवालासँग उनले आग्रहसहित अपेक्षा गरेका छन् ।

आधारभूत तह बालविकासदेखि (१–८) सम्म ६० जना विद्यार्थी रहेको यस विद्यालयमा १० जना शिक्षकमा पाँच जना प्रावि दरबन्दी मध्येमा हाल एक जनाले राजीनामा गरेको जनाइएको छ । गाउँपालिका र वडाको बजेटबाट पाँच जना निजी स्रोतमा शिक्षक राखिएको भएता पनि निमावि दरबन्दी भने शून्य रहेको प्रधानाध्यापक चेम्जोङले जानकारी दिए ।

खेल मैदानसहित सात रोपनी आधा जमीन रहेको यस विद्यालयमा आसीटीको व्यवस्था, घेराबारा, खानेपानी, भौतिक संरचनाको व्यवस्थापन भने सन्तोषजनक रहेको अभिभावकहरु बताउँछन् । यस आर्थिक वर्षमा पालिकाले विद्यालय रंगरोगन गर्न तीन लाख रुपैयाँ उपलब्ध गराइएको साथै वडाकार्यालय मार्फत शिक्षक सहायता अनुदान वापत ७० हजार रुपैयाँ छुट्याएको जनाइएको छ ।

पोशाक वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तकुमार नेम्बाङ (राइफल) को अध्यक्षतामा ४ नम्बर वडाका अध्यक्ष दलबहादुर नेम्बाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा अक्षयकोष दाताहरुलाई प्रमुख अतिथि, विव्यस अध्यक्ष, प्रअ, संस्थापक अध्यक्ष सिंहराज नेम्वाङ, शिक्षक अभिभावक संघ अध्यक्ष तेजबहादुर नेम्बाङले सम्मान गरेका थिए । त्यसैगरी समाजसेवी कविन्द्र लावती, बुद्वबीर नेम्वाङ, जयमंगल नेम्वाङ, काजीमान नेम्वाङ, पुरन नेम्वाङ, भीमकुमार नेम्वाङ, दिलेन्द्र नेम्वाङ लगायतले बोलेका थिए ।

उक्त अवसरमा नृत्य प्रदर्शन गरी कार्यक्रममा मनोरन्जन दिलाउने विद्यार्थीहरुलाई विद्यालयले पुरस्कृत समेत गरेको थियो । जनप्रतिनिधि, शिक्षक, अभिभावक, विव्यस तथा विद्यार्थीको उपस्थिति रहेको कार्यक्रम शिक्षिका किराँती नेम्वाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक सन्तोष चेम्जोङले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here