कृषि कर्ममा उदाहरणीय दाजुभाइ

0
8

झापा कन्काई–५ का दुई कृषकले व्यवसायीक कृषि कर्ममा अनुकरणीय तथा उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । खाद्यान्न मै परनिर्भर हुँदै गएको हाम्रो सामाजिक जीवनमा कन्काईका भीमप्रसाद र तीर्थ अधिकारी दुई दाजुभाइले झापाकै शिवसताक्षी–१० मा व्यावसायिक आलुखेती गरेर उदाहरणीय र कर्मशील किसानको नमूना पेश गरेका हुन् । छ विगाह क्षेत्रफलमा लगाएको आलुबाट एउटै सिजनमा आठ लाख रुपैयाँ कमाउन सकिने उनीहरुले अपेक्षा गरेका छन् । गत वर्ष दुई विगाह क्षेत्रफलमा लगाएको आलुबाट राम्रो आम्दानी भएपछि उत्साहित भएका उनीहरुले यो वर्ष लिजमा लिएको चौध विगाह मध्ये छ विगाहमा आलु खेती गरेका थिए ।

हाम्रो कानूनी व्यवस्थाका कारणले भारत लगायतका देशबाट कृषि वस्तु सजिलै ल्याउन सकिँदैन । राज्यका तर्फबाट आवश्यक सामग्री तथा उन्नत बीऊबिजन, मलखाद समयमा नपाइने र किसानले आफ्नै तर्फबाट पनि ल्याउन नपाउने अवस्थाले किसान कृषिकर्मबाटै विस्थापित भइरहेका छन् । अझ जसोतसो उत्पादित कृषिवस्तुको किसानले न उचित मूल्य पाउँछन् न त बिक्रीको समुचित प्रबन्ध नै छ । आलु खेतीमा दश लाख रुपैयाँ लगानी गरेका दाजुभाइले भारत किसनगञ्ज दिघलबैंकका रबिबुल हकसँग व्यवसायीक साझेदारी गरेका छन् । गुणस्तरीय बीऊ ल्याउन अति झन्झट व्यहोरेका उनीहरुले बीऊ ल्याउनै ‘बल’ प्रयोग गर्नुपरेको दुःखेसो गरे । जसोतसो बीऊ ल्याएर खेती गरेका अधिकारी दाजुभाइले दुई महिनाकै अवधिमा दोब्बर आम्दानी गर्ने लक्ष्य बनाएका छन् ।

नेपाल भौगोलिक तथा जैविक विविधतायुक्त देश हो । त्यसमा पनि कृषि कर्म यहाँको मुख्य पेशा हो । कृषि प्रधान भनिएको देशमा अहिले खाद्यवस्तुमात्रै अर्बौं रुपैयाँको आयात हुने गरेको छ । वैदेशिक रोजगारीमा पचास लाखभन्दा बढी युवाशक्ति पलायन भएका छन् । यस्तो बेला कृषिमा आधुनिकता, प्रविधि, बजार तथा सेवा प्रवाहमा आकर्षण नदिने हो भने हाम्रो विशिष्टता इतिहास बन्ने पक्का छ । यसका लागि राज्यले कृषि क्रान्तिमा लाग्नु पर्दछ । कृषिमा व्यवसायीकरण, आधुनिकीकरण खाद्यान्नमा आत्मनिर्भरताको लक्ष्य बनाउनुपर्छ । यसका लागि कृषिलाई पेशा बनाउने नीति आवश्यक छ । बीऊबिजन ल्याउनै नपाइने विद्यमान कानूनी अड्चन हटाउनुपर्छ । कृषि उत्पादन, कृषि व्यवसाय र कृषिका लागि आवश्यक पूर्वाधार विकास गरेर आमजनतालाई कृषिमा जोड्न सके कृषि कर्म सम्मानित पनि हुनेछ र आयातमुखी अर्थतन्त्र विस्थापन गर्न सकिन्छ । सबै सेवासुविधाको अभावका बीच पनि कन्काई सुरुङ्गाको दाजुभाइ अन्य कृषकको समेत उदाहरण र अनुकरणीय चरित्र बन्न सके समृद्धिको बाटो तय गर्न गाह्रो हुने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here