लक्ष्मी माविको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक

0
12

अर्जुनधारा ।

झापाको अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयले गत आर्थिक वर्ष ०७९/०८०मा विभिन्न उपलब्धी हासिल गर्न सफल भएको छ ।

विद्यालय व्यवस्थापन समितिको आयोजनामा शनिबार आयोजित गत आर्थिक वर्षको सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा प्रधानाध्यापक निर्मला पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा उक्त उपलब्धीहरु उल्लेख गरिएको छ ।

विद्यालयले प्राप्त गरेको उपलब्धीहरुमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रबाट शैक्षिक व्यवस्थापन तथा नतिजामा आधारित पाँच लाख रुपैयाँ बराबरको अनुदान, अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखाबाट कार्यसम्पादनमा आधारित ५० हजार रुपैयाँ बराबरको अनुदान, राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा–१२को परीक्षामा निरन्तर अर्जुनधारा नगरपालिकामा उच्चतम नतिजा हासिल गरेको विद्यालय र विद्यार्थी संख्यामा निरन्तर रुपमा वृद्धि भएको रहेका छन् ।

त्यसैगरी विद्यालयलाई गत आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार योजना अन्र्तगत दुई तले चार कोठाको भवन निर्माण गर्न ४५ लाख रुपैयाँ, विज्ञान प्रयोगशालाका लागि सशर्त संघीय अनुदान अन्र्तगत छ लाख ५० हजार रुपैयाँ र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि ६ नं. वडा कार्यालयबाट चार लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकहरुको पहिलो रोजाईको रुपमा स्थापना गर्ने उद्देश्य लिइएको उक्त विद्यालयको भावी कार्ययोजनाहरुमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि प्रविधिमैत्री शिक्षण सिकाइमा जोड दिने, विद्यालयको दक्षिणतर्फ बहुतले भवन निर्माणको लागि प्रस्तावना तयार गर्ने, फिल्टरसहितको स्वच्छ खानेपानीको व्यवस्था गर्ने, विद्यार्थीहरुका लागि आवश्यक थप सवारी साधनको लागि पहल गर्ने आदि रहेका छन् ।

त्यस्तै विद्यालयले गत आर्थिक वर्षमा तीन करोड आठ लाख ७० हजार चार सय १६ रुपैयाँ ४७ पैसा बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । शैक्षिक सत्र २०७९ अनुसार हाल विद्यालयमा एक हजार ७० जना विद्यार्थी अध्धयनरत् रहेका छन् ।

समितिका अध्यक्ष वीरबहादुर राईको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि शाखा प्रमुख तोयानाथ रेग्मी, वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, समितिका पूर्व अध्यक्ष चन्द्र काफ्लेलगायतले मन्तव्य राखेका थिए ।

प्रस्तुत प्रतिवेदन माथि सहभागीहरु देवराज काफ्ले, बालकृष्ण सापकोटा, रेशबहादुर बस्नेतलगायतले जिज्ञासासहित सुझाव पेश गरेका थिए । शिक्षक सुशिल ढुङ्गेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का शिक्षक बालकृष्ण चौलागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here