राष्ट्रनिर्माताप्रति श्रद्धा

0
6

 

आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्म दिन हो आज । दक्षिण एसियामै अत्यन्त बहादुर र दूरदर्शी राजनीतिक नेतृत्वका रुपमा लिइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज देशभर विविध कार्यक्रम गरेर हर्षपूर्वक उनको स्मरण र उनीप्रति सम्मान प्रकट गर्दै मनाइन्छ । उनी समयले बनाएको राजा मात्र होइनन् सिंगो नेपाल र नेपाली जातिको गौरव र एकताका प्रतिक हुन् । आजका ठूला र शक्तिशाली भनिने राष्ट्रहरु समेत अस्तित्वविहीन भएको अवस्थामा स–साना टुक्रामा विभाजित वर्तमान नेपालको भू–भागलाई एक सूत्रमा बाँधेर अखण्ड, सार्वभौम, स्वतन्त्र र सबल राष्ट्र बनाउने श्रेय उनैलाई छ । उनकै त्याग, सेवा, समर्पण, दूरदृष्टि र बहादुरीले बाइसे, चौबीसे जस्ता टुक्रामा विभाजित भू–भागको सीमा विस्तार भई भारतको पञ्जावदेखि सिक्किमसम्म पुगेको थियो ।

पृथ्वीनारायण शाह राजकुलमा जन्मिएका कारणले मात्र सम्मानित, ऐतिहासिक र प्रशंसायोग्य भएका होइनन् । उनको योगदानलाई अवमूल्यन गरी विस्तारवादी, एकल धर्मको वर्चस्व भएको, अत्याचारी शासकको रुपमा चित्रित गर्न खोज्नेहरु धृतराष्ट्रहरु हुन्, जो सद्दे आँखालाई जबरजस्ती टालेर अँध्यारो देख्ने अभिनय गर्छन् । पृथ्वीनारायण शाह त्यस समयका महानायक थिए, जसले विशाल र शक्तिशाली नेपाल बनाए । हामीलाई स्वाधीन, स्वतन्त्र र सम्मानित नागरिकको परिचय दिलाए । पुर्खाको पौरख र उपलब्धीलाई सम्मान नगर्ने तर उपभोग गरेर मनोरञ्जन लिने चरित्र कृतघ्नता मात्रै हो । मानव जाति त्यसमाथि हामीलाई वैदिक संस्कृतिले पूर्वजप्रति आदर प्रकट गर्न सिकाएको छ, मौलिक–संस्कृति, परम्परा र इतिहासप्रति गर्व गर्न सिकाएको छ ।

इतिहासले हामीलाई पुर्खाहरु प्रति आदर गर्न र उनीहरुको योगदान प्रति गौरव गर्न प्रेरित गरेको छ । त्यही भएर पुस २७ गते नेपालीले पृथ्वीनारायण शाहका योगदान र त्यसको महŒवका बारेमा छलफल, बहस गर्दै स्मरणसहित श्रद्धा प्रकट गर्दछौं । परिवर्तन र क्रान्तिका नाममा यदाकदा उनीप्रति अनास्था, घृणा र लाञ्छना लगाएर अक्षम्य अपराध गरिँदैछ । नेपालको एकीकरण गरेर मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा साधनको उपभोग गरी आत्मनिर्भर, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको सबल राष्ट्रनिर्माण गर्दै राष्ट्रिय एकताको आधार तयार गर्ने राजा पृथ्वीनारायण शाहको योगदान अद्वितीय छ । उनका विचार, व्यवहार र बलिदानका भावभूमिबाट सदा बन्दनीय राष्ट्रनिर्माताप्रति अशेष श्रद्धा प्रकट गर्नु नेपालको माया गर्ने नेपालीको पहिलो कर्तव्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here