भारतीय कूटनीति: माल्दिभ्स संग ढीला, बंगलादेश संग कडा

0
5

नयाँदिल्ली,

माल्दिभ्सका तीन जना मन्त्रीले भारत र प्रधानमन्त्री नरेन्द्र मोदीमाथि गरेको नकारात्मक  टिप्पणीपछि दुई देशबीच तनाव बढेको छ । भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ ट्रेन्डिङमा आएको छ । राजनीतिज्ञ मात्र होइन, खेलाडी र बलिवुड सेलेब्रिटीसम्म उक्त ट्रेन्डिङको हिस्सा बनेका छन् ।

यसै हप्ताको प्रारम्भमा मोदीले लक्षद्वीपको यात्रा गरेका थिए । उनले पर्यटन प्रवर्द्धनका लागि त्यहाँका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । मोदीको उक्त पोस्टपछि गुगलमा लक्षद्वीप खोज्नेहरूको संख्या ह्वात्तै बढेको थियो । कतिपयले भारतीय पर्यटकलाई माल्दिभ्स नगई लक्षद्वीप रोज्नुपर्ने सुझाव पनि दिएका थिए । त्यसैमा माल्दिभ्सका तीनजना मन्त्रीहरुको आपत्तिजनक टिप्पणी आएको थियो । उनीहरूले मोदीलाई लक्षित गरेर ‘आतंककारी र इजरायलको कठपुतली’ जस्ता शब्द लेखेका थिए । यद्यपि केही बेरमै त्यो टिप्पणीलाई डिलिट गरिएको थियो । उनीहरूले भारतमा पर्यटन क्षेत्र अव्यवस्थित र आतिथ्यता पनि राम्रो नरहेको भन्दै माल्दिभ्ससँग तुलनै हुन नसक्नेबताएका थिए ।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जु भारतविरोधी र चीन समर्थक रहेको भारतमा हल्ला फैलाइन्छ । उनको क्याबिनेटका मन्त्रीको आपत्तिजनक टिप्पणीपछि नागरिक तहबाटै भारतमा माल्दिभ्सप्रति कडा प्रतिक्रिया आएको हो । सरकारले पनि कडा शब्दमा आफ्नो असन्तुष्टि जनाएको छ । दिल्लीमा रहेका माल्दिभ्स सरकारका राजदूत इब्राहिम साहिबलाई विदेश मन्त्रालयले बोलाएर स्पष्टीकरण सोधेको छ । त्यस्तै, माल्दिभ्समा रहेको भारतका राजदूतले त्यहाँको विदेश मन्त्रालयसमक्ष विरोध जनाएका छन् । भारतबाट आएको कडा प्रतिक्रियालाई हेर्दै माल्दिभ्सका राष्ट्रपतिले भारतप्रति आपत्तिजनक टिप्पणी गर्ने तीन जना मन्त्रीलाई निलम्बनसमेत गरेको छ । माल्दिभ्स सरकारले मन्त्रीहरूको विचार सरकारको नरहेको स्पष्टीकरणसमेत दिएको छ ।

दुई महिना अगाडि गत नोभेम्बरबाट नयाँ राष्ट्रपति मोहम्मद मोइज्जुको हातमा माल्दिभ्सको सत्ता आएदेखि भारतसँगको सम्बन्ध बिग्रिँदै गएको देखिन्छ । ‘इन्डिया आउट’ र भारतविरोधी नारा लगाएर मोइज्जु चुनावी मैदानमा उत्रिएका थिए । उनको जितसँगै माल्दिभ्समा भारतविरोधी सरकार बनेको नयाँ दिल्लीका मिडियाहरूले लेखेका थिए । सत्ता सम्हालेलगत्तै मोइज्जुले माल्दिभ्समा रहेका भारतीय सैनिकहरूलाई फिर्ता पठाउने बताएका थिए । भारतसँग विगतमा भएका केही सम्झौताहरूबाट पनि उनी पछि हटेका छन् । सत्ता सम्हालेपछि पहिलो विदेश यात्रा भारतबाट गर्ने परम्परालाई पनि मोइज्जुले तोडेका छन् । उनले यही साता चीनको यात्रा गरेका छन् । त्यसपूर्व टर्की र यूएईको यात्रा गरेका थिए ।

जवाहरलाल विश्वविद्यालयमा दक्षिण एसिया अध्ययन केन्द्रका प्राध्यापक सञ्जय के भारद्वाज माल्दिभ्ससँग भारतको सम्बन्ध विगतमा पनि चिसिए पनि यो स्तरको खराब कहिल्यै नदेखिएको बताउँछन् । भारतसँगको राम्रो सम्बन्धलाई माल्दिभ्सको नेतृत्वले अहिले भुलेको अनुभव भएको उनी भन्छन् । ‘माल्दिभ्सको जीडीपीमा पर्यटन क्षेत्रको ठूलो योगदान छ, त्यहाँ पुग्ने पर्यटकहरूमा भारतीयको संख्या पहिलो नम्बरमा छ,’ उनले भने ‘पर्यटन क्षेत्रमा मात्रै होइन–सुरक्षा, औषधि, पानी र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुका लागि पनि माल्दिभ्सको धेरै हदसम्म निर्भरता भारतमाथि छ ।’ उनले यस्तो स्थितिमा सम्बन्धलाई बिग्रिन नदिन वा बिग्रेको विषयलाई सुधार्ने जिम्मेवारी माल्दिभ्सकै नेतृत्वमाथि रहेको उनी टिप्पणी गर्छन् ।

पछिल्लो पाँच वर्षमा भारतीय पर्यटकको रोजाइ माल्दिभ्स बढेको छ । सन् २०२३ मा करिब २ लाख भारतीय पर्यटक त्यहाँ पुगेका थिए । दोस्रोमा रुसी र तेस्रोमा चिनियाँ पर्यटकको संख्या थियो ।

बंगलादेशसँग सम्बन्ध कस्सिँदै

माल्दिभ्ससँग सम्बन्ध चिसिएको बेला दुई दिनअगाडि बांग्लादेशमा आएको चुनावी परिणामले भने भारत हौसिएको देखिन्छ । ७ जनवरीमा भएको चुनावको नतिजा पूर्वानुमान गरिएजस्तै प्रधानमन्त्री शेख हसिनाको पक्षमा आएको छ । हसिनाको पार्टीले स्पष्ट जनादेश पाएको छ । विवाद र विपक्षी दलको बहिष्कारबीच भएको चुनावमा ४० प्रतिशत मात्रै मतदान भएको छ । भारतले हसिनाको जितमा तत्कालै बधाई दिएको छ । भारतीय मिडियाले माल्दिभ्समा चीननिकट सरकार भए पनि बंगलादेशमा हसिनाको जितलाई भारतको पक्षमा व्याख्या गरेका छन् । बंगलादेशीय संसद्(जातीय संसद्) ३ सय ५० सदस्यीय छ । ५० सिट महिलाका लागि आरक्षित गरिएको छ । त्यसका लागि चुनाव हुँदैन । बाँकी ३ सय सिटमा भएको मतदानमा २ सय २२ सिट शेख हसिनाको पार्टी अवामी लिगले जितेको छ । ६२ सिट निर्दलीय उम्मेदवारले जितेका छन् । त्यसमा पनि धेरै हसिनाकै समर्थक रहेको बताइन्छ ।

फाइल तस्बिर : रोयटर्स

हसिना पाँचौँ पटक र लगातार चौथो पटक प्रधानमन्त्री बनेकी छन् । सन् २००९ यता लगातार उनी प्रधानमन्त्री छन् । त्यस अगाडि उनी पहिलो पटक सन् १९९६ मा प्रधानमन्त्री बनेकी थिइन ।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगालदेश नेसनलिस्ट पार्टी (बीएनपी) सहित केही दलले चुनाव बहिष्कार गरेको थियो । विपक्षी दलले हसिनाको नेतृत्वमा निष्पक्ष चुनाव हुन नसक्ने भन्दै चुनावका लागि ‘केयर टेकर’ सरकार बनाइनुपर्ने माग गरेका थिए । तर, हसिना सरकारले त्यसलाई स्वीकार नगरेपछि विपक्षी पार्टीहरूले चुनावमा भाग लिएनन् ।

मतदातालाई पनि चुनाव बहिष्कार गर्न आह्वान गरेका थिए । चुनावका दिन देशभर हड्ताल र बन्दको आह्वान गरिएको थियो । विपक्षी दललाई विश्वासमा नलिएर उसलाई बाहिर राखेर हिंसाका बीचमा, मतदाताको कम सहभागिता भएको मतदानलाई पनि लोकतान्त्रिक देश भारतले सजिलै स्वीकार गरको मात्र छैन, बंगलादेशको पक्षमा सशक्त ढंगले उभिएको छ । भारतकै साथ पाएर हसिनाले पश्चिमा मुलुकको कतिपय चेतावनीहरूलाई बेवास्ता समेत गर्दै आएकी छन् ।

गत वर्ष सेप्टेम्बरमा भारतले आयोजना गरेको जी–२० को मञ्चमा प्रधानमन्त्री मोदीले हसिनालाई दिएको ‘स्पेस’ ले पनि दुई देशबीचको निकटतालाई दर्शाएको थियो । गत नोभेम्बरमा विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्रीय निर्देशक पदका लागि नेपाल र बंगलादेशका उम्मेदवारबीचको प्रतिस्पर्धामा भारतले बांगलदेशी उम्मेदवारलाई रोजेको थियो । भारतको साथ पाएर बांगलादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले उक्त निर्वाचन जितेकी थिइन ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना । तस्बिर : रोयटर्स

भारतका छिमेकीहरूमध्ये सबैभन्दा धेरै लामो सीमा बंगलादेशसँग जोडिएको छ । केही वर्षअघि दुवै देशले सीमा विवाद सल्टाएका पनि छन् । हसिनाले सत्ता सम्हालेदेखि १५ वर्षयता दुई देशबीच अत्यन्तै ‘विश्वासिलो र सुमधुर’ सम्बन्ध छ । भारतले बंगलादेशमा लगानी पनि बढाउँदै लगेको छ ।

जेएनयूका प्राध्यापक भारद्वाज बांगलदेशको चुनावी प्रक्रियालाई भारतले मात्रै होइन, सबै देशले स्विकारेको दाबी गर्छन् । ‘अमेरिकाले पनि एक तरिकाले साइलेन्टली चुनावी प्रक्रियालाई स्विकारेकै छ, चीन र रुसले पनि मानेका छन्,’ उनी भन्छन्, ‘भारत बंगलादेशमा प्रगतिशील जमातको साथमा छ । बीएनपी जस्तो पार्टीले चुनाव बहिष्कार गरे पनि, त्यो उनीहरूको बाध्यता थियो ।’ उनले बंगलादेशमा भारतका धेरै परियोजना सञ्चालित रहेको र त्यसले त्यहाँ आर्थिक समृद्धि ल्याउन सघाएको बताउँछन् । दिल्लीलाई साथमा लिएर अवामी लिगले त्यहाँ जनताको विश्वास जित्न सफल भएको उनले टिप्पणी गरेका छन् ।

प्राध्यापक भारद्वाज पछिल्लो समय पाकिस्तानबाहेक दक्षिण एसियाका सबै देशसँग भारतले सम्बन्ध विस्तार गर्दै आएको दाबी गर्छन् । ‘क्राइसिसमा गरेको मद्दतले श्रीलंकासँग र अहिले नेपालसँग भारतको सम्बन्ध पनि राम्रो छ,’ उनले भने ‘तर, बंगलादेशमा हसिनाको पुनरागमनले दुई देशको सम्बन्ध थप बलियो हुने छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here