चिसोका कारण पूर्वी तराईका विद्यालय बन्द गरिँदै

0
11

सर्लाही,

पछिल्ला केही दिनदेखि सर्लाहीसहित मधेश प्रदेशका जिल्लामा बढेको चिसोका कारण सर्लाहीका सामुदायिक विद्यालयमा अनिश्चितकालका लागि बिदा दिइएको छ । घाम लाग्न छाडेर कठ्याङ्ग्रीदो चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका सामुदायिक विद्यालय बन्द गरिएको स्थानीय तहले बताएका छन् ।

विगत केही दिनदेखि सुरु भएको शीतलहरले स–साना विद्यार्थी प्रभावित हुन थालेका भन्दै जिल्लाका स्थानीय तहले सूचना जारी गरेर विद्यालय बिदा गरेका हुन् । हाल दिइएको बिदा जाडो र वर्षे बिदाबाट कट्टा हुने गरी व्यवस्था गरिने स्थानीय तहका शिक्षा शाखाले बताएका छन् ।

एक सातादेखि चिसो हावासँगै शीतलहर चल्दा बालबालिका, वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिका साथै गरिब, विपन्न र खुल्ला आकाशमा काम गर्ने वर्ग बढी प्रभावित भएका ईश्वरपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख एवं उपसचिव हरिप्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार पुस २२ गतेदेखि माघ १ गतेसम्म जाडो बिदा दिइएकामा मौसम थप प्रतिकूल बनेपछि माघ ४ गतेसम्म बिदा थप गरेको हो ।

जिल्लाका अन्य पालिकाले माघ ७ गते सम्मका लागि जाडो बिदा दिएका दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार केही दिनदेखि चिसो थप बढेकाले पठनपाठन सञ्चालन गर्दा समस्या हुने भएपछि बालबालिकाको स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरलाई मध्यनजर गरी बिदा थप गरिएको हो ।

चिसोले जनजीवन प्रभावित भएपछि यहाँका अधिकांश पालिकाले विद्यालय बन्द गराएका छन् । एक सातादेखि घाम नलाग्दा तराई क्षेत्रको जनजीवन प्रभावित बनेको छ । निरन्तर बाक्लो हुस्सु लागेर चिसो स्याँठ र तुसारो चलिरहँदा जनजीवन कष्टकर बनेको छ ।

चिसोका कारण दम तथा रुघाखोकीको समस्याका बिरामी बढेका नगर अस्पतालका प्रमुख एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामविश्वास रायले बताउनुभयो । उहाँका अनुसार चिसोका कारण अपाङ्गता भएका मानिस, दम, हाडजोर्नी तथा नशाका बिरामी बढी पीडित हुने गरेका छन् ।

लगातार बढेको चिसोका कारण जिल्लाका बजारमा चहलपहल पनि घटेको स्थानीय व्यापारीले बताएका छन् । शीतलहर तथा तुषारोका कारण आलु, गोलभेँडा, प्याजको बेर्नालगायत तरकारी बाली प्रभावित बनेको किसानले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here