अर्जुनधारामा नगरस्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु

0
11

अर्जुनधारा। 

“खेलाडीहरु राष्ट्रको सान, स्थानीय खेलाडीहरु उत्पादन गर्ने हाम्रो अभियान” भन्ने मुख्य नारासहित नगरस्तरिय १४औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० झापाको अर्जुनधारामा बुधबारदेखि शुरु भएको छ ।

प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा अर्जुनधारा–८स्थित शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिताको प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्र्तगत एथलेटिक्स अन्र्तगत विभिन्न विधा, मार्सल आर्टस् अन्र्तगत उसु, कराते र तेक्वान्दो, कबड्डी र भलिबल खेल सञ्चालन हुने बताइएको छ । उक्त प्रतियोगितामा सामुदायिकतर्फ नौ वटा माध्यमिक विद्यालय र संस्थागततर्फ १४ वटा माध्यमिक विद्यालय गरि जम्मा २३ वटा विद्यालयको सहभागिता रहेको छ ।

अर्जुनधारा नगरपालिकाका कार्यवाहक प्रमुख नरेन्द्रकुमार श्रेष्ठ “सिद्धार्थ”को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुने खेलाडीद्वय राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य रेनुका जवेगु र गत वर्ष सम्पन्न १३औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्र्तगत राष्ट्रियस्तरको प्रतियोगिताका स्वर्ण पदक विजेता राजिप ढुंगाना रहेका छन् ।

उनीहरु दुवैलाई जनही नगद पुरस्कार १० हजारसहित सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै सोही प्रतियोगिताको झापा जिल्लास्तरिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल ३६ जना खेलाडीलाई प्रशंसा पत्रसहित ट्रफी प्रदान गरिएको थियो ।

आयोजक समितिका सदस्य पूण्यप्रसाद सुवेदीले स्वागत गरेको उक्त कार्यक्रममा नगर प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी “भेषराज”, निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, शनिश्चरे माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराम दाहाल, कालिस्थान माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका शिक्षक जीवन धितालले गीत र स्वस्तिका शिशु सदन राष्ट्रिय सेवा दलले नृत्य प्रस्तुत गरेका थिए । सूर्योदय अङग्रेजी आवासिय विद्यालयकी छात्रा आकृती विष्टले स्वागत गीत तथा शनिश्चरे माध्यमिक विद्यालयका छात्राहरुले स्वागत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन आयोजक समितिका सदस्य सचिव विनोदकुमार गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here