कञ्चन स्कूलले आयुषलाई निःशुल्क पढाइदिने

0
12

बिर्तामोड ।

बिर्तामोड–७ मा रहेको कञ्चन अंग्रेजी माध्यमिक विद्यालयले एक जना मृगौला पीडितका सन्तानलाई निःशुल्क पढाइ दिने भएको छ ।

विद्यालयले बिर्तामोड–६ का मृगौला पीडित ४३ वर्षीय बुद्धिराज देवानका छोरा ११ वर्षीय आयुष देवानलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने निर्णय गरेको हो । आयुष सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत् रहेका छन् ।

बुद्धिराजलाई विद्यालयमा बोलाई उनका छोरा आयुषलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने कुरा जानकारी गराइएको विद्यालयका संस्थापक तथा सहप्रधानाध्यापक बद्री बाँस्कोटाले बताए । उनले अभिभावकको स्वास्थ्य समस्याका कारण आफ्ना विद्यार्थीको पठनपाठन अवरुद्ध नहोस् भनेर विद्यालयले सो सहयोग गरेको जानकारी दिए ।

ताप्लेजुङबाट बसाइँ सरेर आएका बुद्धिराज बिर्तामोड–६ मा भाडाको घरमा बस्छन् । उनी वैदेशिक रोजगारीका लागि दुबई गएका थिए । त्यही उनको दुईवटै मृगौला खराब भएको पत्ता लागेको थियो । विरामी भएर नेपाल फर्केका बुद्धिराजले विगत एक महिनादेखि भद्रपुरको ओमसाई हस्पिटलमा डाइलोसिस गराउँदै आएका छन् । उनकी श्रीमती माया देवान वैदेशिक रोजगारीका लागि इराकमा रहेकी छन् ।

आर्थिक अवस्था कमजोर भएका बुद्धिराजले आफ्ना छोरालाई विद्यालयले निःशुल्क पढाइदिने निर्णय गरेर सहयोग गरेकोमा धन्यवाद दिएका छन् । ग्रामीण क्षेत्रका विद्यार्थीहरु अध्ययन गर्ने कञ्चन अंग्रेजी माविले असहाय र दीर्घरोगी भएका अन्य अभिभावकका सन्तानलाई पनि निःशुल्क पठनपाठन गराउँदै आएको छ ।

असहाय र दीर्घरोगी भएका अन्य ६जना अभिभावकका छोराछोरीलाई आफ्नो विद्यालयले निःशुल्क पढाउँदै आएको विद्यालयका अर्का संस्थापक डिल्लीराज चम्लागाँईले बताए । उनका अनुसार त्यसरी निःशुल्क अध्ययन गरेका दुई जना विद्यार्थीहरुले एसईई उत्तीर्ण गरेका छन् भने एकजनाले यस वर्ष एसईई परीक्षा दिँदैछन् ।

२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको त्यस विद्यालयमा पाँच सय ४० जना विद्यार्थी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here