बुद्धशान्तिका सातै वडामा ज्येष्ठ नागरिक चौतारी

0
17

बुद्धशान्ति ।

सहारा नेपाल साकोसको सहयोगमा झापाको बुद्धशान्ति गाउँपालिकाका ७ बटै बडामा ज्येष्ठ नागरिक चौतारी भवन निर्माण सम्पन्न भएको छ ।

सोमबार बुद्धशान्ति गाउँपालिका बडा नं.– ५ मा निर्माण गरिएको जेष्ठ नागरिक चौतारीको उद्घाटनको अवसरमा आयोजिक समारोहमा बताइए अनुसार बुद्धशान्तिका सबै बडामा चौतारी भवन सञ्चालनमा आएका छन् । सो भवनको गाउँपालिका अध्यक्ष मनोज प्रसाईले उद्घाटन गर्दै बुद्धशान्ति गाउँ पालिका जेष्ठ नागरिकमैत्री पालिकाको बाटोमा अगाडि बढेको बताए ।

झापाको चारपानेमा केन्द्रीय कार्यालय रहेको र सदस्य संख्याका आधारमा देशकै सबैभन्दा ठूलो सहकारी संस्था सहारा नेपाल साकोसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत हालसम्ममा यस प्रकारका २५ बटा ज्येष्ठ नागरिक चौतारी निर्माण पूरा भएको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।

समाजमा ज्येष्ठ नागरिकप्रति गरिने व्यवहारमा परिवर्तन गरेर उनीहरुको सहज जीवन यापनका लागि सजिलो बनाउन यस्ता चौतारी भवन उपयोगी सावित भएको सहारा नेपाल साकोसका सञ्चालक समिति सदस्य भोला धितालले बताए । उनका अनुसार ती भवन निर्माणका लागि संस्थाले ७ लाख रुपैयाँ र भौतिक सामाग्री उपलब्ध गराउने गरेको छ । त्यस्ता भवन बनाउन गाउँपालिका वा नगरपालिकाले १० लाख रुपैयाँ छुट्याउने र जग्गाको व्यवस्था स्थानीय रुपमै गर्नुपर्ने नियम छ ।

पूर्वको झापा, मोरङ, सुनसरी, इलाम, उदयपुर र पाँचथर जिल्ला कार्यक्षेत्र रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकहरुको खुशीका लागि यो काम अगाडि बढाएको सो संस्थाका ज्येष्ठ नागरिक उपसमिति संयोजक राप्रसाद रोक्काले बताए । उनका अनुसार संस्थाले यस्ता चौतारी भवनलाई बहुउपयोगी बनाउने र लर्निंग सेन्टरको रुपमा विकसित गर्ने ज्येष्ठ नागरिकहरुलाई समय कटाउने ठाउँ मात्र नभई आय आर्जनका लागि पनि उपयोग गर्ने तयारी भइरहेको छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीको भनाइमा त्यस्ता ज्येष्ठ नागरिक भवनहरुलाई आ–आफ्ना उत्पादनहरुको बिक्री गरेर आम्दानी गर्ने थलोको रुपमा विकसित गर्ने, त्यसका लागि स्थानीय तह र समुदायसँग छलफल भइरहेको छ । अहिलेसम्म त्यस्ता चौतारी भवनमा ज्येष्ठ नागरिकहरु समय कटाउन र आराम गर्न आउने गरेका छन् भने इन्टरनेटको माध्यमबाट देश बिदेशमा रहेका आफन्तहरुसँग कुराकानी गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here