ज्येष्ठ नागरिकका समस्या र व्यवस्थापन

0
22

ज्येष्ठ नागरिकको पृष्ठभूमि (प्रस्तावना) :

मानिस एक तार्किक र विवेकशील प्राणी हो । उसले आप्mनो परिवेशमा रहेका विभिन्न वस्तुका साथै समाजमा घटेका घटना, तथ्य आदिका आधारमा जानकारी लिएर आप्mनो धारणा बनाउने गर्दछ । यसैक्रममा मानिसले बनाउने धारणा र गर्ने क्रियाकलाप उसको उमेर, अवस्था र विकास अनुसार हुन्छ । मानवको जन्मपश्चात उसको शारीरिक संरचनामा देखापर्ने परिवर्तनलाई सामान्य अर्थमा मानव वृद्धि भनिन्छ । यो निश्चित अवधिसम्म मात्र हुन्छ । यसप्रकार व्यक्तिमा हुने शारीरिक बृद्धिका साथमा मानसिक, संवेगात्मक, नैतिक, सामाजिक र भाषागत आदि जस्ता क्षेत्रमा प्रकट हुने गुणात्मक पक्षलाई मानव विकास भनिन्छ । मानिसको जन्मदेखि मृत्युपर्यन्तसम्ममा विभिन्न अवस्थामा विकास भएको हुन्छ ।

विकासको यो क्रम गर्भावस्थामा नै जाइगोट वा विजावस्थाबाट शुरुवात हुन्छ । यसपछि भ्रूण अवस्था हुँदै मानव आकृतिमा परिवर्तन हुन्छ । गर्भधारण भएको नौ महिना वा दुई सय ८० दिनपश्चात शिशुको जन्म हुन्छ । नवजात रुपमा जन्म भएको मानव शय्या अवस्था, पूर्व बाल्यावस्था, उत्तरबाल्यावस्था, युवा अवस्था, किशोरावस्था, हँुदै क्रमशः मानव जीवनको अन्तिम अवस्थाका रुपमा परिचित वृद्ध अवस्था प्रवेश गर्दछ । यी अवस्थाको मुख्य चुरो भनेको मानिस जन्मेदेखि बालक, युवा, वयस्क हुँदै बुढ्यौलीमा प्रवेश गर्दछ । बुढ्यौली उमेर भनेको बुढो हुनु वा वृद्धायुमा प्रवेश गर्नु हो । वृद्धावस्था भनेको मानव जीवनको उत्तरार्ध र अशक्त र अन्तिम अवस्था हो । जुन समयमा मानवमा भएका शक्तिहरु क्रमशः क्षिण हुने, रोग, शोक, पीडा आदि जस्ता कष्टकर अवस्था झेल्दै अन्ततः एकदिन यो मायारुपी संसार त्यागेर सर्वाेच्चलोक तर्फ जाने हो । यसबाट के पुष्टी हुन्छ भने वृद्धावस्था जीवनको अन्तिम अवस्था हो । यो प्राकृतिक नियम भएकाले यो क्रमलाई रोक्न सकिँदैन ।

नेपालमा कुनै पनि सेवा वा समूहमा सेवापश्चात दिइने अनिवार्य अवकाशको भिन्न–भिन्न उमेर समूहलाई आधार मानेर ब्याख्या गरेको पाइन्छ । उदाहरणका लागि निजामति सेवामा रहेका कर्मचारीहरुको अवकाश प्राप्त उमेर ५८ वर्ष, शिक्षण सेवारहेका शिक्षकहरुको अवकाश प्राप्त उमेर ६० वर्ष, विश्वविद्यालयमा कार्यरत प्राध्यापकको अवकाश प्राप्त उमेर ६३ वर्ष र न्यायसेवामा कार्यरत न्यायाधीशको उमेर ६५ वर्ष तोकिएको पाइन्छ । यसप्रकारको विविधताबाट बुढ्यौली प्रवेशको उमेरलाई निश्चित यही नै हो भन्न सक्ने अवस्था पनि रहेन । अझ नेपालमा प्रत्येक ७५ वर्ष उमेर पुगेका व्यक्तिलाई दिइने सामाजिक सुरक्षाबापतको भत्ता वा पेन्सनले वृद्धा अवस्था प्रवेशको उमेर अझ पछि धकेलिएको पाइन्छ । सामान्यतयाः ६० वर्षदेखि मृत्यु नहोउन्जेलसम्मको अवधिलाई वृद्ध अवस्था भनिन्छ । यो शारीरिक र मानसिक दुबै पक्षबाट शिथिल हुने उमेर हो । यस अवस्थालाई पनि पूर्व वृद्धावस्था (६०–७० वर्ष) र वयोवृद्ध अवस्था (७० वर्षमाथि मृत्यु पर्यन्त) गरी दुई भागमा बाँडिएको पाइन्छ । यिनै कुराको आधारमा नेपालमा ६० वर्ष माथिका नागरिकलाई ज्येष्ठ नागरिकका रुपमा परिभाषित गरेको पाइन्छ ।

जुन कुरा नेपालमा ज्येष्ठ नागरिक ऐन २०६३ र ज्येष्ठ नागरिक सम्बन्धी नियमावली २०६५, अनुसार ६० वर्ष वा सो भन्दा माथिको उमेर वृद्ध वा ज्येष्ठ नागरिकको उमेर समूहमा राखेर परिभाषित गरेको पाइन्छ । विश्वका केही मुलुकले ६५ वर्षभन्दा माथिकालाई ज्येष्ठ नागरिकका रुपमा राखेको पाइन्छ भने संयुक्त राष्ट्रसंघले ६० वर्ष वा सोभन्दा माथिका उमेर समूहका व्यक्तिहरुलाई ज्येष्ठ नागरिका रुपमा राखेको पाइन्छ । उपरोक्त कुराका आधारमा ज्येष्ठ नागरिक भन्नाले सबै जातजाति, वर्ग, लिङ्ग, वर्ण, भाषाभाषीका रुपमा कुनै पनि समुदायभित्र रहेका राज्यले तोकिदिएका निश्चित उमेर समूह वा सोभन्दा माथिको उमेर समूहका मानिसहरुको समूहलाई जनाउछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

नेपालको संविधान (२०७२)को भाग ३ को मौलिक हक र कर्तव्य अन्र्तगत धारा ४१ मा ज्येष्ठ नागरिकको हक सम्बन्धी व्यवस्था गरेको छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघ मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८ ले प्रत्येक मानिस पुरुष, महिला, बालबालिका, शारीरिक अपाङ्ग तथा वृद्धवृद्धा आदि सबैले सम्मानपूर्वक बाँच्न पाउनु पर्दछ भनेर उल्लेख गरेको छ । ज्येष्ठ नागरिक समाजभित्रका अनुभवका खानी हुन् । जीवित पुस्तकका रुपमा रहेका इतिहासका स्रोत पनि हुन् । जुन कुरालाई संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको भनाइले पुष्टी गर्दछ । अन्नानका अनुसार– ‘एउटा ज्येष्ठ नागरिकको देहावसानसँगै एउटा पुस्तकालयको अन्त्य हुन्छ ।’ यसको अर्थ ज्येष्ठ नागरिक भनेको ज्ञानका भण्डार हुन् । अनुभवका खानी हुन् । उनीहरुको मृत्युसँगै उनीहरुमा भएका ज्ञान, सिप र अनुभवको भण्डार पनि अन्त्य हुन्छ । यसर्थ ज्येष्ठ नागरिकले देखेँ भोगेका अनुभव ऐतिहासिक विषयवस्तुका स्रोतको विवरणका रुपमा उपयोग गर्न सकिन्छ ।

राष्ट्र निर्माता पृृथ्वीनारायण शाहले आफ्नो दिव्य उपदेशमा उल्लेख गरे अनुसार– ‘बुढा मरै भाषा सरै भनी भन्छन्, तिमीहरु सबै छेउ सुनाइगया, भन्या तम्रा सन्तानलाई सुनाउलान् र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउलान् र राजे थामी षानन् ।’ यसको अर्थमा बुढा मरै भन्नाले बुढापाका मर्दै जाने हुनाले आफूले जानेका कुरा पछिल्लो पुस्तालाई सुनाउँदै गएमा अफुमा भएका ज्ञान, अनुभव र सीपको उपययोग गरी देश जोगाउने दायित्व भावी पुस्ताले उपयोग गर्दै जानेछन् । त्यसैगरी भाषा सरै भन्नाले ज्येष्ठ नागरिकमा भएका ज्ञान, सिप र अनुभवलाई एक पुस्ताबाट अर्को पुस्तामा सार्दै जाने हो । ताकी बुढापाकाको मृत्यु सँगसँगै उनीहरुमा भएका ज्ञान सीप र अनुभवलाई बचाएर सङ्कलन गर्न सकिन्छ भन्ने हो । ताकी समाप्त भएर नजाउन् । ज्येष्ठ नागरिक समाजका गहना हुन् । हाम्रो पूर्वीय दर्शनको मान्यतानुरुप आमा–बाबुलाई भगवानका रुपमा लिदै मातृ देवः भव, पितृ देवः भव भनी उल्लेख गरिएको पाइन्छ । यसर्थ मातापिताको सम्मान गर्नु प्रत्येक सन्तान र परिवारको प्रमुख दायित्व हो । परिवार भन्ना साथै हाम्रो समाजमा एकल परिवार र संयुक्त परिवार भन्ने बुझिन्छ । जुनसुकै प्रकृतिको परिवार भए पनि त्यहाँ आमाबाबु हुन्छन् । परिवारको संरचना अनुसार बालबालिकादेखि हजुरआमा हजुरबुबा समेत एकै साथ हुन्छन् ।

ज्येष्ठ नागरिकका समस्याहरु :

मानव विकासको क्रममा जब मानिस बुढ्यौली हुँदै जान्छ तब ऊ भित्र जैविक, सामाजिक–सांस्कृतिक तथा मनोवैज्ञाकि समस्याहरु देखा पर्दै जान्छन् । फलस्वरुप उनीहरुमा शारीरिकरुपमा विशेषगरी अशक्त अवस्था सिर्जना हुने, श्रवणशक्ति कमजोर हुने, दृष्टिशक्ति पनि कमजोर हुने, हाडजोर्नीहरु कमजोर हुने आदि गर्दछन् । यसका साथै विभिन्न प्रकारका रोगबाट ग्रसित हुने, स्मरण शक्ति पनि कमजोर हुँदै जाने आदि जस्ता पक्षबाट पीडित भएका हुन्छन् । यस अवस्थामा उनीहरुलाई पूर्णरुपमा सहाराको आवश्यक पर्दछ । यदि परिवारबाट टाढा हुन पुगे भने उनीहरुले आफूलाई सामाजिक रुपमा एक्लो भएको महशुस गर्दछन् । उनीहरुमा क्रमशः हीनताबोध हुन थाल्छ । जसले गर्दा उनीहरु रिसाउने, झर्कने आदि जस्ता व्यवहार देखाउन थाल्छन् । उनीहरु आप्mनो विगतलाई आधार मानेर आफ्ना व्यवहार देखाउने प्रवृत्तिमा प्रवेश गरेका हुन्छन् ।

समसामयिक समाजको भन्दा पनि पुरातन समाजलाई नै मान्यता दिन्छन् । कतिपयले त आफ्ना समकालीन दौतरीहरु गुमाइसकेको हुनाले आफ्नो पनि बाटो त त्यही भन्ने भावनाले ग्रसित भएका हुन्छन् । यसबेला वृद्धवृद्धाहरु परम्परागत विचारधारा राख्ने हुनाले नयाँ तथा आधुनिक विचारधारामा अभ्यस्त भइसकेका आप्mनै सन्तानमाथि पनि विश्वास तथा भरोसा टुटेको अनुभव गर्दछन् । यसले गर्दा परिवारभित्र पुरानो र नयाँ मान्यताका बीचमा टकराव शुरु भई मनोमालिन्य बढ्दै जान सक्छ ।

माथि उल्लेखित समस्याका अतिरिक्त कतिपय परिवारमा ज्येष्ठ नागरिकलाई स्याहार–सुसार गर्ने मानिसहरुको अभाव पनि हुन्छ । शारीरिक र मानसिक क्षमतामा कमजोर भइरहेको समयमा परिवारको तर्फबाट पनि पूर्णरुपमा सहयोग पाउने अवस्था नभएको खण्डमा उनीहरुले आफूलाई बाँच्नुको कुनै अर्थ नभएको महशुस गर्न थाल्छन् । फलस्वरुप उनीहरुले पनि बाध्य भएर आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउने सोच बनाउन थाल्छन् । यसप्रकारको परिवेशबाट पनि बुढ्यौली उमेरका ज्येष्ठ नागरिक र उनीहरुको परिवारमा खटपट हुन थाल्छ । जसले छरछिमेकका साथै समाजमा समेत नराम्रो प्रभाव पार्दछ ।

आजभोलि सामाजिक संरचनामा आएको परिवर्तनका र मानवीय प्रवृत्तिका कारणले ज्येष्ठ नागरिकहरु घर–घरमा अपहेलित, दुव्र्यवहार र एक्लोपनमा जीवन बिताउन बाध्य भइरहेको अवस्था छ । यस प्रकारको प्रवृत्तिले गर्दा बाबुआमाका नाममा रहेको सम्पत्ति कुनै पनि जुक्ति अपनाएर आफ्नो नाममा ल्याउने । त्यसपछि झुक्याएर वृद्धाश्रम पु¥याउने । फेरिका दिनमा फर्केर नहेर्ने । त्यसैगरी घरमा रेखदेख गर्नेेको अभावको बहानामा वृद्धाश्रममा पु¥याइ दिने । यस्ता प्रवत्तिको बिरुद्धमा राज्यको तर्फबाट खासै चासो राखिएको पाइँदैन । कानूनी उपचारको बाटो पनि देखिँदैन । तर, पीडित कै रुपमा वेसहाराको जीवन बिताउन बाध्य भएको पाइन्छ । यसप्रकारका समस्यामा रहेका ज्येष्ठ नागरिकलाई सन्तोषजनक रुपमा जिउने बाटोका लागि के गर्न सकिन्छ, यसतर्फ पनि सम्बन्धित पक्षले सोच्नुपर्ने देखिन्छ ।

ज्येष्ठ नागरिकका व्यवस्थापनका उपायहरु :

ज्येष्ठ नागरिकका समस्याहरुका आधारमा निम्न पक्षमा केन्द्रित रहेर उनीहरुको व्यवस्थापन गर्न सकिन्छ ः अतः यसप्रकारका समस्यामूलक परिवेशबाट ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न परिवार, समाज र राष्ट्रको के भूमिका रहन सक्छ भन्ने विषयमा चर्चा गरौं । ज्येष्ठ नागरिकको रुपमा उठ्ने सवालमालाई केन्द्रित गरी निम्न प्रश्नमा व्यवस्थापनको पक्षमा भूमिका खेल्नेपरिवारका सदस्यहरु, समाज र राष्ट्रले ध्यानदिनु पर्दछ ः

सर्वप्रथम ज्येष्ठ नागरिक को हुन् ? भन्ने कुरा पहिचान गर्नुपर्दछ । यसपछि ज्येष्ठ नागरिकको बुढ्यौली कुन वर्गको हो ? भन्ने कुरा पत्ता लगाउनु (शारीरिक बुढ्यौली, उमेरगत बुढ्यौली, मानसिक बुढ्यौली, सामाजिक बुढ्यौली) पर्दछ । त्यसैगरी ज्येष्ठ नागरिकका सोचाइ के–कस्ता हुन सक्छन् भनेर सोचाइका क्षेत्र पहिल्याउन सक्नु पर्दछ । ज्येष्ठ नागरिकका चाहना के–के हुन सक्छन् ? भनेर उनीहरुले चाहेका पक्षहरुको पहिचान गर्नुपर्दछ । साथै ज्योष्ठ नागरिकले के गर्न सक्छन् ? उनीहरुले गर्नसक्ने कार्यहरुको बारेमा उनीहरुमा भएको क्षमता पहिचान गर्नुपर्दछ । अन्त्यमा ज्येष्ठ नागरिकको भनाइ के हुन सक्छन् ? जसले गर्दा माथि उठाइएका सवालमा सम्बोधन गर्न वा प्रतिक्रिया के–कस्ता आउँछन् भनेर आंकलन गर्नुपर्दछ । फलस्वरुप उनीहरुमा परेको प्रभावका बारेमा जानकारी लिन सकियोस् । यसपछि मात्र उनीहरुको व्यवस्थापनमा सहज हुन्छ । अन्यथा समस्या ज्यूँ का त्यूूँ रहन सक्छ ।

सर्वप्रथम ज्येष्ठ नागरिकका हक, अधिकारको संरक्षण गर्ने प्रमुख दायित्व सरकारले लिनु पर्दछ । यसका लागि राज्यसँग राज्यको स्पष्ट नीति हुुनु पर्दछ । साथै समाज र घरपरिवारको दायित्व पनि उत्तिकै मात्रामा रहेको हुुनु पर्दछ । हाम्रो समाजले परिकल्पना गरे अनुरुप ज्येष्ठ नागरिकको आदर, सम्मान र सुरक्षाको वातावरण उनीहरुका सन्तानले बनाउनु पर्दछ । ज्येष्ठ नागरिकप्रति हुन सक्ने हिंसाका साथै दुव्र्यवहारबाट बचाउनका समाज र राज्य पूर्ण रुपमा जिम्मेवार हुुनुपर्दछ । परिवार वा अन्य कुनै पनि पक्षबाट विस्थापित हुन लागेका ज्येष्ठ नागरिलाई पुर्नस्थापनाका कार्यक्रम राज्य तथा समाको तर्फबाट सञ्चालन गर्नुपर्दछ । त्यसैगरी हिंसा वा दुव्र्यवहारमा परेका ज्येष्ठ नागरिकलाई कानूनी उपचारका साथ मनोवैज्ञानिक परामर्श गर्ने व्यवस्था पनि समाजका साथै राज्यले मिलाउन पर्दछ । सन्तोषनजनक रुपमा भौतिक जीवनयापनमा सहयोग पु¥याउने क्रियाकलाप परिवार, समाज र राष्ट्रले खेल्नु पर्दछ ।

ज्येष्ठ नागरिक पनि हाम्रै समाजका सम्पत्ति तथा अङ्ग हुन भन्ने ताकी भार होइनन् भन्ने मान्यताको स्थापित गरेर उनीहरुको बिग्रदो शारीरिक अवस्था र स्वस्थ्यप्रतिको अवस्थालाई परिवार, समाज र राष्ट्रले पूर्णरुपमा ध्यान दिनु पर्दछ । अवकाश प्राप्त जीवनलाई हाँक्ने क्रममा उनीहरुको घट्दो आम्दानीको अवस्थाका बारेमा पनि परिवारले विचार गर्नुपर्दछ । साथै उनीहरुमा कार्य गर्ने क्षमतामा आएको कमिलाई पनि ध्यानमा राख्नु पर्दछ । पुस्त्यौनी खाडलका कारणले ज्येष्ठ नागरिकलाई आप्mनै छोराबुहारी तथा नाति–नातिनाका बीचमा समयोजन हुन कठिनाई पर्ने भएकाले यस तर्फ पनि परिवार चनाखो होसियारी पूर्वक कार्य गुर्नुपर्दछ । राज्यले विशेषगरी आफ्ना बाबुआमा वा ज्येष्ठ नागरिकको सम्पत्ति झुक्याएर हातमा पारी बेसहारा बनाएको छ भने त्यस्ता व्यक्ति वा समूहलाई कानूनको कठघरामा उभ्याउने कार्य गर्नुपर्दछ । यसका लागि सोही अनुरुपको कानूनको तर्जुमा राज्यले गर्नुपर्दछ ।

अन्त्यमा, आज प्रविधि र सञ्चारका कारणले मानव जीवनका भौतिक, सामाजिक र मानवीय पक्षमा आमुल परिवर्तन आएको छ । फलस्वरुप मानवका चाहना र इच्छाशक्तिहरु पनि असिमित बन्न पुगेका छन् । ती सुविधाहरु भौतिक वा अध्यात्मिक दुवै पक्षबाट प्रभावित भएका हुन सक्छन् । मानिसलाई पर्याप्त मात्रामा भौतिक सुविधाहरु भएर मात्र पनि हुँदैन । ऊ भित्र सन्तुष्टी पनि हुनु पर्दछ । कतिपय अवस्थामा उनीहरुका आफन्तबाट दिनुपर्ने सेवा, सुविधा र समय अभावका कारणले गर्दा पनि उ असन्तुष्ट हुन सक्छ । यस अवस्थामा मानिसले पाउनु पर्ने सुबिधा र राख्नुपर्ने सन्तुष्टी कसरी दिन सकिन्छ ? शुल्क तिर्ने गरी र शुल्क तिर्न नसक्नेका लागि निःशुल्क रुपमा प्रवेश पाउने गरी बृद्धा आश्रमको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अतः कुनै पनि माध्यमबाट समाजमा रहेका ज्येष्ठ नागरिकको सम्मान र आदर गर्नु भनेको हाम्रो समाज, समुदाय, संस्कृति र धर्मको इतिहासलाई जीवन्त बनाउनु हो । जसका आधारबाट नै अघिल्लो पुस्तका ज्ञान, सीप र अनुभवलाई पछिल्लो पुस्तामा स्थानान्तरण गर्न सकिन्छ । त्यसैले हाम्रो समाजमा रहेका ज्येष्ठ नागरिकको सम्मान, आदर र व्यवस्थापन गर्नु हामी सबैको समान दायित्व हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here