शहीदहरू प्रति श्रद्धाञ्जली

0
9

देश र जनताको स्वतन्त्रताका निम्ति आफूलाई बलिदान दिएका महान विभूतिहरूलाई स्मरण तथा सम्मान गर्ने दिन हो आज । राणा शासनको निरङ्कुशताका बिरूद्ध आफू, आफ्नो परिवारलाई बिर्सिएर हाँसी–हाँसी मृत्युवरण गरेका शुक्रराज शास्त्री, गङ्गालाल, दशरथ चन्द र धर्मभक्तलाई नेपालको इतिहासमा शहीदका रूपमा स्मरण गर्दै उनीहरूका गौरव गाथाको गायन गर्ने हाम्रो परम्परा नै हो । तत्कालीन नेपाली समाजमा चेतनाको दीप प्रज्ज्वलन गर्ने काम फलाम चपाउनु सरह थियो, अझ जनतालाई राजनीतिक रूपले राणा शासनबिरूद्ध जाग्रत गर्न अग्रसर हुनु मृत्युसँग साक्षात्कार गर्नु सरह हुन्थ्यो । यस्तोमा शुक्रराज लगायतका युवा ज्यानको परबाह नगरी प्रजातन्त्रका लागि अल्पायुमै मृत्युवरण गर्न तयार भए । त्यही बलिदान अन्ततः दशकौंदेखि पारिवारिक शासनमा जकडिएको एकतन्त्री शासन अन्त्य गर्ने कडी बन्यो । त्यसकै परिणाम हो कि आज पनि हामी स्वतन्त्र देशको अधिकारसम्पन्न नागरिक रहन पाएका छौं ।

राणा शासनको अन्त्य भएसँगै मनाउन थालिएको शहीद दिवस एक हप्तासम्म विशेष कार्यक्रम गरी मनाइन्थ्यो । माघ १० देखि १६ गतेसम्म मनाइने यो दिवसको ओज, गरिमा र महŒव यतिबेला घट्दै गएको हो कि हुन थालेको छ । ०४६ को आन्दोलनपछि थपिँदै गएको शहीदको सूचीले हाम्रो मनमस्तिष्कमा स्थिर रहेका महान शहीदहरूको तस्वीर धूमिल बनाउँदै लगेको अनुभव हुन थालेको छ । हुन पनि पछिल्लो समय सामान्य घटनामा मारिएका, दुर्घटनामा परेका, व्यक्तिगत वा जातिगत घटना अथवा जुलुसमा भाग्दा र पारिवारिक वा आपराधिक गतिविधिमा संलग्न व्यक्ति मारिँदा पनि शहीद बनाइने क्रम बढेको छ । जसका कारण चार शहीदको अतुलनीय योगदान छायामा परेको अनुभूति हुन थालेको छ । लखन थापा पहिलो व्यक्ति हुन् जसले राणा प्रधानमन्त्री जङ्गबहादुरबिरूद्ध नै आन्दोलन गरेका थिए । जसलाई गोरखाको मनकामना मन्दिर अगाडि रूखमा झुण्ड्याएर मारेका थिए । नेपाल प्रजा परिषद नामक राजनीतिक पार्टी खोलेर प्रजातान्त्रिक आन्दोलनको सूत्रपात गर्ने टङ्कप्रसाद आचार्य अर्का जिउँदा शहीद हुन् ।

मुलुकको स्वतन्त्रता र रक्षाका निम्ति जीवन अर्पण गर्ने वास्तविक शहीद हुन् । शहीदको महŒव नेतालेभन्दा निरपेक्ष जनताले धेरै बुझेका छन् । त्यसैले नेताहरूले शहीदको बखान गर्नुभन्दा उनीहरूको योगदानलाई चिरस्मरणीय बनाउन प्रयास गर्नुपर्छ । शहीदहरूले कल्पना गरेको नेपाल यो बेथिति र भूगोल अवस्थाको नेपाल पक्कै होइन । उनीहरू चाहन्थे समुन्नत, समृद्ध र सबल नेपाल होस्, शान्त र अमनचयनपूर्ण नेपाल बनोस् । सत्तामा हुँदा र नहुँदाको नेपाल र शहीदप्रतिको उनीहरूको धारणा व्यक्तिगत वा दलीय स्वार्थभन्दा माथि हुनुपर्छ । शहीदहरूले देखाएको बाटोमा अघि बढ्नु उनीहरूप्रति श्रद्धा हो । लोकतन्त्रपछि शहीदका प्रति नेताहरूमा बढेको उदासीनता शहीदप्रतिको अवमूल्यन हो । अनेक आन्दोलनमा लागेर मारिएका र मृत्युलाई हाँक दिएर राष्ट्रको स्वतन्त्रता, स्वाधीनता र जनताको नैसर्गिक अधिकार प्राप्तिका लागि समर्पित भई अमरत्व प्राप्त गर्ने महान हस्ती र नायकहरू सदा बाँचिरहन्छन् । आज त्यही दिनको सम्झनामा हाम्रा प्रातः स्मरणीय शहीदहरू प्रति सश्रद्धा श्रद्धाञ्जली अर्पण गर्दछौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here